|

काठमाडौं : पाँच दलले समाजवादी मोर्चा बनाउने तयारी भएको छ। सरकारमा रहेका चार र सरकार बाहिर रहेका एक दल मिलेर समाजवादी मोर्चा बनाउने तयारी भएको हो। 

सत्तारूढ दल नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस), नेपाल समाजवादी पार्टी (नेसपा) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच समाजवादी मोर्चा घोषणा हुने भएको हो।

०८४ सालको निर्वाचन लक्षित गर्दै उनीहरूले मोर्चाबन्दी सुरू गरेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चा बनाएर जाने साझेदारी गरेका हुन्। यसलाई अन्तिम रूप दिन कार्यदलले काम गरिरहेको नेताहरूले बताएका छन्। 

माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल केही दिनभित्र समाजवादी मोर्चा घोषणा हुने बताउँछन्। 

‘आन्तरिक छलफल चलिरहेको छ। केही दिनभित्र समाजवादी मोर्चाको घोषणा हुन्छ। केही दलले निर्णय दिनुभएको छैन। अहिले सहमतिमा आएका दलहरूबीच एकता घोषणा गरेर जाने समझदारी बनेको छ,’ उनले थाहाखबरसँग भने। 

त्यो भए समाजवादी मोर्चाको उद्देश्य के हो? भन्ने हाम्रो प्रश्नमा उपमहासचिव पोखरेलले थपे, ‘समाजवादी मोर्चा विचार र सिद्धान्तसँग सम्बन्धित रहेको छ। यो कार्यगत एकताभन्दा माथिल्लो तह हो। सदनभित्र र बाहिर रहेका दलहरूबीच सरकारलाई सफल बनाउने अभियान हो।’

दलहरूबीच सरकार र मोर्चाको नेतृत्व कसरी हुने भन्ने विषयमा पनि अन्तिम सहमति जुट्न बाँकी छ। उपमहासचिव पोखरेल कार्यदलले तयार पारेको आचारसंहिता भित्र रहेर सरकार र मोर्चाको नेतृत्व हुने रेडिमेड जवाफ दिन्छन्। यता मोर्चामा रहेका अन्य दलका शीर्ष नेताहरूले आलोपालो नेतृत्व हुनुपर्ने बताउन थालेका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले सत्ताको नेतृत्व गरिरहेका छन्। 

‘न्यूनतम आचारसंहिताभित्र रहेर साझा रूपमा नेतृत्व हुन्छ। समेट्न सक्नेजतिलाई समेटेर लैजान्छौं। विचारात्मक कुरा भएकाले सरकारमा रहेका र सदन बाहिर रहेका दलबीच कसरी टुंगो लाग्छ? सहमति हुन बाँकी छ,’ उनले भने। 

जसपा अध्यक्ष यादव काठमाडौं बाहिर रहेकाले शीर्ष तहमा सहमति हुन बाँकी रहेको उनले बताए। अध्यक्ष यादवले पनि तत्कालै समाजवादी मोर्चा घोषणा हुने सम्भावना नरहेको बताए। 

‘काम विशेषले बारा आएको छु। काठमाडौं पुगेर गहन छलफलपछि मात्रै समाजवादी मोर्चाको विषयले अन्तिम रूप लिन्छ,’अध्यक्ष यादवले भने। 

नेकपा एसका उपाध्यक्ष प्रमेश हमाल सरकार बलियो बनाउन समाजवादी मोर्चा आवश्यक रहेको बताउँछन्। उनले जनताका समस्या समाधान र देशलाई विषम परिस्थितिबाट माथि निकाल्नका लागि यस मोर्चाको महत्वपूर्ण भूमिका रहने बताए। 

‘हामीले मोर्चाको नेतृत्वको विषयमा अन्तिम वर्कआउट गर्न बाँकी छ। तर, शीर्ष नेताहरूबीच आलोपालो बैठकको अध्यक्षता हुन्छ,’ उनले भने, ‘सरकार सफल बनाउन र टिकाउन, जनताका समस्या सम्बोधन गर्ने विषयमा हाम्रो महत्वपूर्ण भूमिका रहन्छ।’ 

यो मोर्चाको आयु कति ? चुनावसम्म वा त्यसभन्दा पछिसम्म हुन्छ? भन्ने प्रश्नको स्पष्ट जवाफ उनीसँग छैन। 

एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडा समाजवादी मोर्चाले संसदमा र बाहिर पनि समाजवादी विचारधाराको प्रचार गर्ने र समाजवादका पक्षमा जनमत निर्माण गर्ने दाबी गर्छन्। 

उनले देशको विकास, सुशासन र राजनीतिक स्थिरताको पक्षमा वकालत गर्ने र आम जनतालाई दिने सेवा सुविधाको प्रवाहलाई सुव्यवस्थित गर्न दबाबकारी भूमिकासमेत खेल्न सक्ने गरी मोर्चा गठन गर्न लागिएको उनले बताए ।

‘यो मोर्चा अहिले सम्पूर्ण रूपमा टुंगो भइसकेको छैन । तथापि प्रदेश र जिल्लामा यो मोर्चाको संयन्त्र बन्न सक्छ, बनाउन सकिने छ भन्ने यसको प्रारम्भिक प्रस्तावमा हामी अगाडि बढिरहेका छौं,’ खतिवडाले भने ।

कांग्रेस–एमालेसँग बार्गेनिङ !

समाजवादी मोर्चाको तयारीमा रहेका दलहरूसँग प्रतिनिधिसभामा ५४ सिट छ। जसमध्ये माओवादी केन्द्रसँग ३२ (बाबुराम भट्टराई नेतृत्वको नेसपाको एक सिट), जसपासँग १२ र नेकपा एससँग १० जना सांसद रहेका छन्। विप्लव नेतृत्वको नेकपाले संसदमा प्रतिनिधित्व गर्दैन। ३२ सिट रहेको माओवादी केन्द्र दबाब सहेर सरकारको नेतृत्वमा छ। 

प्रतिनिधिसभामा नेपाली कांग्रेस ८९, नेकपा एमाले ७९, राष्ट्रिय स्वतन्त्र पार्टी २१, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, जनमत पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ४, लोकतान्त्रिक समाजवादी पार्टी ४, आम जनता पार्टी दुई, राष्ट्रिय जनमोर्चा एक र नेपाल मजदुर किशान पार्टीको एक सिट रहेको छ।  

संसदमा तेस्रो स्थानमा रहेको माओवादी केन्द्रलाई कुनै पनि बेला सरकार ढल्ने चिन्ता छ। विचारधारा नमिल्ने दलहरूबीचको मोर्चाबन्दी दिगो नहुने विश्लेषणहरू हुन थालेका छन्। राजनीतिक विश्लेषक डा. डम्बर खतिवडा कम्युनिष्ट र गैरकम्युनिष्ट दलबीचको एकता सत्ता बार्गेनिङका लागि मात्रै भएको टिप्पणी गर्छन्। 

‘वामदेव गौतम, माधव नेपालहरू एमालेमा फर्किने तयारीमा हुनुहुन्छ। बाबुरामले कम्युनिष्ट विचार छोडेको घोषणा यसअघि नै गरिसकेका छन्। माओवादी केन्द्र कम्युनिष्ट पार्टी भन्छ। उपेन्द्र यादव कम्युनिष्ट नै होइनन्। त्यसैले यसको आयु खासै लामो छैन,’ उनले थाहाखबरसँग भने। 

विश्लेषक डा. खतिवडाले संसद्मा नेपाली कांग्रेस र नेकपा एमालेलाई तर्साउनका लागि समाजवादी मोर्चाको विकल्प निकालिएको बताए। उनले साना दलहरूले आफ्नो अस्तित्व संकटमा पर्ने डरका कारण मोर्चाबन्दी गरेको बताए। 

‘उनीहरूले कम सिट भएका दल मिलेर नेपाली कांग्रेस र नेकपा एमालेलाई दबाब दिनका लागि मोर्चाबन्दी गरेका हुन्। यो सत्ता बार्गेनिङ मात्रै हो। यसको राजनीतिक र वैचारिक उद्देश्य केही पछि छैन,’उनले भने, ‘किनकी एउटै पार्टी बन्ने अवस्था म देख्दिनँ। यसको उद्देश्य सरकार बलियो बनाउने र अस्तित्व संकटमा पुगेका दलहरूको खेलोमेलो मात्रै हो।’ 

समाजवादी मोर्चाबाट विशेषगरी माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई फाइदा पुग्ने देखिएको छ। सरकारको नेतृत्व गरिरहेका प्रचण्डलाई साना दलहरूको मोर्चाबन्दीले सरकार टिकाउन सहज हुने देखिएको हो। 

‘समाजवादी मोर्चाबाट माधव, उपेन्द्र, विप्लव कसैले पनि फाइदा लिन पाउँदैनन्। उनीहरू झन् संकट उन्मुख हुनेछन्। यसबाट प्रचण्डले विशेष फाइदा लिन्छन्। किनकि उनले सत्ताका लागि बलियो आधार पाउनेछन्,’ खतिवडा भन्छन्। 

नेकपा एसका उपमहासचिव खतिवडा यो मोर्चाको भविष्य दिगो देख्दैनन्। उनले सहकार्य गर्दै जाँदा भोलि कहाँ पुगिन्छ त्यो त भन्न नसकिने बताउँदै पार्टी एकता गर्नको निम्ति या एकीकरण गर्नको निम्ति यो मोर्चा नबनेको बताए। 

‘सहकार्य गर्दै जाँदा भोलि कहाँ पुगिन्छ त्यो त भन्न सकिँदैन । तर आज पार्टी एकता गर्नको निम्ति या एकीकरण गर्नको निम्ति यो मोर्चा बनेको छैन,’ उपमहासचिव खतिवडाले भने, ‘यो मोर्चा समाजवादी विचारधारा बोक्नेहरू,समाजवादको पक्षमा वकालत गरौं भन्ने सबै राजनीतिक शक्तिहरूलाई एक ठाउँमा उभ्याएर लेफ्ट फ्रन्ट बनाउनको निम्ति सहयोगी बन्नेछ र सबैले त्यही प्रकारले ध्यान दिनुहुनेछ भन्ने हाम्रो विश्वास छ । हामी सबै यो काम गर्नका लागि सबैलाई आह्वान गर्ने तयारी पनि गरिरहेका छौं ।’

नेकपाका नेता अनिल शर्मा समाजवादी मोर्चा बनाएर कार्यगत एकता मात्रै हुने बताउँछन्। समाजवादी मोर्चा भएका दलहरूसँग पार्टी एकता नहुने बताउँदै उनले नेपालमा भइरहेको विदेशी हस्तक्षेपविरूद्ध साना दल एक ठाउँमा उभिएको स्पष्ट पारे। 

‘यो कार्यगत एकताभन्दा माथि जाँदैन। अहिलेको परिस्थितिमा पार्टी एकता हुँदैन। किनकी सदनमा रहेका दल र हामी बीचमा सैद्धान्तिक भिन्नता रहेको छ। हामी अहिलेको संसदीय व्यवस्थाको विरूद्धमा छौं। उहाँहरू संसदीय व्यवस्थालाई जोगाएर लैजाने पक्षमा हुनुहुन्छ,’ शर्माले भने। 

एमाले छुट्ने

समाजवादी मोर्चामा नेकपा एमाले छुट्ने भएको छ। प्रतिनिधिसभामा दोस्रो शक्तिको रूपमा रहेको एमाले समाजवादी मोर्चामा सहभागी नहुने भएको हो। सत्तारूढ दल नेकपा एसका उपाध्यक्ष प्रमेश हमाल एमालेलाई तत्काल मोर्चामा सहभागी नगराउने बताउँछन्।

उनले एमालेका कतिपय धारणाहरूमा आफूहरूको विमति रहेकाले ती विषय परिमार्जन भए मात्रै सहभागी गराउने बताउँछन्। 

‘एमाले पनि आउँछ भने समेट्छौं। उहाँहरूले कतिपय धारणाहरूलाई परिमार्जन गर्नुपर्छ। त्यसपछि समेट्छौं,’ उपाध्यक्ष हमालले भने। 

नेकपा एसका प्रवक्ता खतिवडा पनि तत्काल एमालेलाई समाजवादी मोर्चामा सामेल नगराइने बताउँछन्। 

‘एमालेसँग कुनै छलफल भएको छैन। अरू सबै समाजवादी शक्तिहरू एकैतिर केन्द्रिकृत भइरहे भने एमाले पनि एक्लै बस्न सक्ला नसक्ला पर्खेर हेर्नुपर्छ,’ उनले भने। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.