|

पर्वत : रोजगार तथा अध्ययनको सिलसिलामा पोखरामा बस्ने रोल्पा तथा रुकुमका मगर समुदायले शुक्रवार पोखरामा पहिलोपटक भूमे पूजा गरेका छन्। प्राकृतिक विपद्‌बाट कुनै क्षति नहोस् भन्ने कामनासहित रोल्पा र रुकुममा १८ मगरात समुदायले यो पर्व मनाउँदै आएका छन्।

पोखरामा पहिलो पटक भूमे पर्व मनाउँदै भूमिको पूजाअर्चना गरिएको हो। पूजाको आयोजना रुकुमेली एकता समाज कास्कीले गरेको हो।

पोखरामा भएको भूमे पूजामा पहिलोपटक सहभागी भएकी उन्नति बुढामगर आफ्ना साथीहरूसँग सहभागी हुन पाउँदा दङ्ग थिइन्।

‘पहिले पहिले युट्युबमा हेर्दा खुब रमाइलो लाग्थ्यो, कहिले मनाउन पाइएला भन्ने लाग्थ्यो’, उनले भनिन्, ‘युट्युबमा हेरेको र अहिले नाच्दा अलि फरक हुने रहेछ। नाच्न आउँदैन सिक्दै छौं, अब अर्को पटकदेखि रमाइलै होला!’

उन्नतिसँगै नमुना र प्रतिमा बुढाले पनि पोखरामै पहिलोपटक १८ मगरात क्षेत्रमा प्रचलित भूमे मेला मनाउने मौका पाए। मध्याह्नको चर्को घामको पनि पर्वाह नगरी उनीहरू भूमिलाई पुज्दै नाचे। रुकुमकी बेनीमाया पुन मगर २१ वर्षपछि भूमेमा नाच्दा पाउँदै निकै खुसी देखिइन्। कामको सिलसिलामा २ दशकअघि पोखरा आएकी उनी त्यसपछि प्रत्यक्ष भूमे नाच नाच्ने मौका पाएकी थिइनन्।

‘गाउँमा नाचिराखेका हामी यति वर्षपछि पोखरामा नाच्न पाउँदा एकदमै खुसी लागेको छ। यहाँ नाच्न नपाए पनि हाम्रो दिमागमा चाहिँ थियो’, पुनले भनिन्, ‘आज २१ वर्षपछि फेरि पनि जानी नजानी नाच्न पाउँदा गाउँमै पुगेजस्तो लागेको छ।’

पुनले पोखरामा पनि भूमे नाच्न सुरु भएसँगै संस्कृति पुस्तान्तरण हुने विश्वास व्यक्त गरिन्। ‘कति नाच्न जानेका मान्छेहरू मरेर गइसके, अहिलेको पुस्तालाई कसले सिकाउने? गाउँको जस्तो नहोला। शहरबजारमै भए पनि सुरु गरेपछि उनीहरूले पनि हाम्रो संस्कृति बुझ्न पाउँछन्’, उनले भनिन्।

प्राकृतिक विपद्‌बाट कुनै क्षति नहोस् भन्ने कामनासहित रोल्पा, रुकुम क्षेत्रका मगर समुदायको पर्व भनिए पनि त्यहाँ बसोवास गर्ने सबै समुदायले मनाउने गर्छन्। असार १ गते मुख्य रूपमा मनाइने भए पनि जेठ पूर्णिमादेखि नै स्थानीय भाषामा ‘नोकोबांगे’ नाचसहित भूमि पूजा गरिन्छ । जेठ पूर्णिमाको अवसरमा लेक चढेर पूजाका लागि बुकी फूल ल्याउने गरिन्छ। त्यस क्रममा विभिन्न २२ थरी चालमा नाच नाच्ने गरिन्छ।

‘नोकोबांगे फुकाइसकेपछि असारको १ गते बलि दिएर भूमिको पूजा गर्छौँ। बलि दिएर पूजा गर्ने भएकाले हाम्रोतिर बल पूजा पनि भन्छन्’, रुकुमेली एकता समाजका अध्यक्ष लयनकुमार सुनार ‘दीपेश’ भन्छन्, ‘यो बेला गाउँमा परदेशिएका सबै गाउँले जम्मा हुँदा ठूलो मेला लाग्छ। वर्षौँपछि भेट हुने मौका मिल्छ।’

रोल्पा पोखरा सम्पर्क समाजका अध्यक्ष पूर्णबहादुर पुन मगरले जीवन भूमिबाटै सुरु हुने भएकाले भूमि नै देवता भएको सुनाए। ‘हामी प्रकृति पूजक भनेर चिनिन्छौँ। हाम्रो संस्कृति नै यही हो। यही धर्तीमा जन्मिएर यही धर्तीकै पूजा गर्न पाउँदा खुसी लागेको छ।’

आयोजक रुकुमेली एकता समाजले पोखरामा भूमे पूजालाई वर्षेनि निरन्तरता दिने बताएको छ। यसै वर्षदेखि पोखरामा सुरु भएको भूमेमा पोखरा आसपासका जिल्ला तनहुँ, स्याङ्जामा बसोवास गर्ने रोल्पाली तथा रुकुमेली पनि सहभागी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.