|

सुर्खेत : निर्माण सम्पन्न भइसक्दा पनि डोल्पास्थित मसिनेचौर विमानस्थल सञ्चालनमा आउन सकेको छैन। 

विमानस्थल प्राविधिक र पूर्वाधार निर्माणका हिसाबले विमानस्थल सञ्चालन गर्न पूर्णरूपमा योग्य छ। तर, हालसम्म परीक्षण उडानसमेत भएको छैन। 

त्रिपुरासुन्दरी नगरपालिका पर्ने यो विमानस्थलको निर्माण २०६६ सालमा भएको थियो। २०६८ मा निर्माण सम्पन्न भई २०७२ मा कालोपत्रे सम्पन्न भएको थियो। तर अहिलेसम्म परीक्षण उडानसमेत गरिएको छैन।

डोल्पामा हवाई यातायातको लागि जुफाल विमानस्थलपछिको विकल्पको रूपमा रहेको मसिनेचौर विमानस्थल निर्माण गरिएको हो। निर्माण सम्पन्न भएको वर्षौसम्म विमानस्थल सञ्चालनमा नआउँदा स्थानीय नागरिक निराश बनेका छन्। 

जिल्लामै जुफाल विमानस्थल भएपनि सेवा लिन सहज नभएको सर्वसाधारण बताउँछन्। भनेको समयमा टिकट नपाउने र एक दिनको पैलदयात्रा गरेर मात्र जुफाल विमानस्थल पुग्नुपर्ने बाध्यता रहेको लिकुका हरिबहादुर खत्रीले बताए। सम्बन्धित निकायको ध्यान नजाँदा विमानस्थलको परीक्षण उडानसमेत हुन नसकेको स्थानीय बताउँछन्। परीक्षण गरेर नियमित उडान गर्न स्थानीयको माग छ। घरआँगनमै विमानस्थल बनेपनि कष्टपूर्ण यात्रा गर्नुपरिरहेको उनीहरूको भनाइ छ।

मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउन पटक–पटक पहल गर्दासमेत सम्बन्धित निकायले चासो नदिएको स्थानीय नागरिकको गुनासो छ। त्रिपुरासुन्दरी नगरपालिका– १ की काली चलाउनेले विमानस्थल सञ्चालन गर्न माग गरे पनि सुनुवाइ नभएको बताए। ‘करोडौँ लगानी गरेर निर्माण गरिएको विमानस्थल प्रयोगविहीन बनेको छ। नागरिकले सास्ती खेप्नुपरेको छ।’ 

विमानस्थल बनेको वर्षौ भइसक्दा पनि परीक्षण उडानसमेत नगर्नु सम्बन्धित निकायको गैरजिम्मेवारीपन भएको उनले बताए। सडक मार्गको सहज पहुँच नभएकाले विमानस्थल अपरिहार्य भएको चलाउनेको भनाइ छ।

पटक–पटक विमानस्थल सञ्चालन गर्ने भनिए पनि उक्त योजना अलपत्र पर्ने गरेको छ। यद्यपि, सञ्चालनका लागि पहल भइरहेको डोल्पाका जनप्रतिनिधि बताउँछन्। विमानस्थलको परीक्षण तथा नियमित उडानका लागि पहल भइरहेको डोल्पाबाट निर्वाचित प्रदेश सभा सदस्य बीरबहादुर शाहीले बताए। 

पर्यटनमन्त्री सुदन किरातीसँग विमानस्थलको परीक्षण उडान र नियमित उडानका विषयमा वार्ता सकारात्मक भएको उनी बताउँछन्। ‘अब जुफाल विमानस्थलको स्तरोनन्ति गर्न लागिएको छ। मसिनेचौर विमानस्थल छिट्टै सञ्चालनमा ल्याउन पहल भइरहेको छ’, उनले भने।  

जुफाल विमानस्थल भने नियमित सञ्चालन भइरहेको छ। २०३२ सालदेखि निर्माण थालिएको विमानस्थल २०७० मा कालोपत्रे गरिएको थियो। त्यसयता विमानस्थल नियमित सञ्चालन भइरहेको छ।

५७० मिटर धावनमार्ग रहेको विमानस्थलमा चार वटा जहाजले उडान गर्दै आइरहेको विमानस्थल प्रमुख महेन्द्रबहादुर सिंहले बताए।  यद्यपि, यो विमानस्थल पनि स्तरोन्नति गर्नुपर्ने अवस्थामा पुगेको छ। विमानस्थलको केही भूभाग जमिनमा दबेको छ। दबेको भागलाई मर्मत गर्नुपर्ने देखिएको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताए। मसिनेचौर विमानस्थल सञ्चालन गरेर जुफाल विमानस्थलको स्तरोन्नति गनुपर्ने पहल हामीले गरेका छौँ।’

जुफाल विमानस्थलबाट डोल्पा–नेपालगञ्ज उडान हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.