प्राधिकरण भन्छ : प्राकृतिक विपदबाट बच्न आफैँ सचेत हुनुपर्छ

|

काठमाडौं : यस वर्ष नेपालमा मनसुन भित्रिएको ६ दिन नबित्दै बाढीपहिरोकाे वितण्डा मच्चिएको छ। जसकारण धनजनको ठूलो क्षति भएको छ।

मौसम पूर्वानुमान महाशाखाले गत बुधबार कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी भूभाग, बागमती प्रदेशका अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा मनसुन भित्रिएको जनाएको थियो। 

मनसुन भित्रिएसँगै अहिले ताप्लेजुङ, पाँचथर र संखुवासभामा बाढी पहिरो जाँदा नागरिकहरूले अकालमै ज्यान गुमाएका छन्। कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्यांकअनुसार कोशी प्रदेशमा शनिबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र गएको पहिरोले मृत्यु हुनेको संख्या सात पुगेको छ। २८ जना बेपत्ता छन् भने ६ जना घाइतेको उद्धार भएको छ।

कोशी प्रदेशमा ३ लाख बढी जनसंख्या प्रभावित हुने 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सन् २०१० देखि २०२० सम्म गृह मन्त्रालयको डिआरआर पोर्टल, विपद् पोर्टल तथा साबिकको जल उत्पन्न प्रकोप विभाग र विश्व खाद्य कार्यक्रमबाट उपलब्ध तथ्याङ्कहरूको आधारमा संयुक्त राष्ट्रसङ्घीय आवासीय प्रतिनिधिको कार्यालयको सहयोगमा विसं २०८० सालको मनसुनमा प्रभावित हुनसक्ने जनसंख्याको आँकलन गरिएको छ। 

प्रारम्भिक रूपमा यस वर्ष मनसुनजन्य विपदबाट १२ लाख ५४ हजार जनसंख्या र २ लाख ८६ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरिएको छ। यस वर्षको मनसुनबाट प्रभावित हुनसक्ने जनसंख्यामध्ये प्रदेशगत रूपमा सबैभन्दा बढी कोशी प्रदेशमा ३ लाख १ हजार र सबैभन्दा कम कर्णाली प्रदेशमा लगभग ३५ हजार जनसंख्या प्रभावित हुनसक्ने अनुमान गरिएको प्राधिकरणले जनाएको छ। 

यी स्थानहरूमा बाढी पहिरोको जोखिम बढी

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले अहिले पाँचथर, संखुवासभा र ताप्लेजुङ जिल्लामा मनसुनको प्रभाव परेको जानकारी दिए। उनका अनुसार यी नै जिल्लाहरूमा अहिले बाढी पहिरोको जोखिम बढी छ।

ताप्लेजुङ र पाँचथर भएर बग्ने नदी तथा खोलाहरूमा उच्च जोखिमको सम्भावना छ। यो समाचार तयार पार्दासम्म ताप्लेजुङको काबेली नदीको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ। काबेली र तमोरको तटीय क्षेत्रमा रहेका स्थानीयले सावधानी अपनाउनुपर्ने देखिएको छ।

ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा शनिबार गएको पहिरोमा तीन जना अझै बेपत्ता छन् भने एक जनाको शव भेटिएको छ। सोही ठाउँमा सोमबार बिहान स्थानीय राजकुमार राई र सुरेश राई पहिरोमा परे। स्थानीय शिक्षक कमल कडरियलाका अनुसार सुरेशका बाबु केशरबहादुर राई सम्पर्कविहीन छन्।

गाउँपालिकाका सूचना तथा संचार प्रविधि अधिकृत सेमन्त भट्टराईका अनुसार अहिले पनि मेहेले नै पहिरोको उच्च जोखिम छ। यस्तै, इन्द्रखोलामा आएको बाढीले जल सतह बढ्ने हुँदा आङखोपमा पनि जोखिम बढेको छ। सडकहरू अवरूद्ध छन्। उनले अहिले जनप्रतिनिधि, प्रहरी र स्थानीय उद्धारमा खटिएको जानकारी दिए। ‘हामी उद्धारमा जुटेका छौँ, जहाँ जोखिम क्षेत्र छन्, त्यहाँ सतर्कता अपनाउनु भनिरहेका छौँ,’ उनले भने। 

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार अझै तीन दिन ताप्लेजुङ र पाँचथरमा बाढीको उच्च जोखिम छ। तीन दिनसम्म तमोर, अरूण र कन्काई नदीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ। तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउनुपर्ने छ।

त्यस्तै, संखुवासभा, तेह्रथुम, इलाम, झापा, दोलखा, लमजुङ र गोरखा भई बग्ने नदी तथा खोलाहरूमा जलसतह सतर्कता तह आसपास पुग्ने र बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ।

‘पहिलै यो ठाउँमा बाढी आउँछ भन्न सकिँदैन, आफैं सचेत हुनुपर्छ’

वर्षेनि बाढी पहिरोबाट ठूलाे मात्रामा धनजनको क्षति हुने गरेको छ तर यसको रोकथामको लागि राज्यबाट ठोस योजना अझै बन्न सकेको छैन। यता, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता खड्काले पहिला नै यी ठाउँहरूमा बाढी पहिरो आउने भनी भन्न नसकिने र यसका लागि स्थानीयवासीहरु नै सचेत हुनुपर्ने बताए।

‘यो प्राकृतिक प्रणाली हो, कतिखेर के हुन्छ भन्न सकिँदैन, चीन अमेरिकाले त यी ठाउँमा बाढी पहिरो आउँछ भनेर पहिला नै भन्न सकेको छैन, हामी त बरू तीन दिन पहिलै यी ठाउँहरूमा भारी वर्षाको सम्भावना छ, सचेत हुनु है भन्छौँ, सचेत हुने आधार नै ठूलो हो,’ उनले भने।

कुन ठाउँमा के हुने सम्भावना छ भन्ने थाहा पाउन प्राधिकरणको पेज, साइट र जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान बुलेटिन हेर्न उनको सुझाव छ। उनका अनुसार जहाँ भूकम्पले हल्लाएर धाँजा फाटेको छ, त्यहाँ पनि पहिरो जाने सम्भावना उच्च छ। ‘त्यस्तो ठाउँमा भारी वर्षा भए बेलैमा सचेत भइ सुरक्षित बासस्थानमा सर्नुपर्छ,’ उनले भने। 

उनले बाढी पहिरो प्रभावित क्षेत्रमा तत्कालै उद्धार कार्यमा जुटेको बताए। ‘पूर्वतयारीको लागि तालिम प्राप्त जनशक्ति तयारी छ, हामी खटाइहाल्छौँ, अहिले पनि जहाँ बाढी पहिरो गएको छ, त्यहाँ उद्धार गर्ने,राहत सामग्री वितरण गर्ने काम भइरहेको छ,’ उनले भने। उनले यसैको तयारीको लागि जिल्ला विपद् व्यवस्थापन समितिलाई २०/२० लाख पनि दिएको बताए।

बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको उच्चस्तरीय टोली सोमबार पूर्वी नेपाल पुगेको छ।उनले त्यहाँ अवलोकन गरेपश्चात आवश्यक पर्ने कुरालाई जिम्मेवारीका साथ अगाडि बढाइने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.