‘अब न्याय माग्न कहाँ जाउँ ?’

|

काठमाडौं : मिति २०७७ साल असोज २० गते। समय : बिहान १० बजे। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) समाजशास्त्र विभागका उप–प्राध्यापक प्रेम चलाउने नेपाल बैंक लिमिटेडको एटिएमबाट पैसा झिकेर आवासतिर फर्किंदै थिए। त्यहीबेला एउटा समूहले  उनीमाथि आक्रमण गर्‍याे।

उनी ती दिन सम्झिन मन नहुँदा नहुँदै सम्झन्छन्, ’मलाई पछाडिबाट एक्कासी हिर्काइएको थियो, मैले उनीहरूलाई कहिल्यै देखेको थिइनँ, न त उनीहरूसँग मेरो कुनै दुस्मनी नै थियो तर उनीहरूले मलाई अनवरत फलामका रड, भाटाले कुटिरहे, उनीहरूको कुटाइबाट म शिथिल भइसकेको थिएँ, अफिस हिँडिरहेकी महिलाले बचाऊ बचाऊ भन्दै चिच्याएपछि अन्य मान्छेहरू आएर मलाई बचाए।’

त्यसपछि आक्रमणकारी फरार भए। घाइते चलाउने अस्पताल भर्ना भए। प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्‍याे। चलाउनेलाई हमला गर्न परिचालित पाँच जनालाई काठमाडौं जिल्ला अदालतले साधारण धरौटीमा छोड्यो।

आक्रमणका आरोपी नेविसंघका कार्यकर्ताहरू हरि आचार्य, योगेन्द्र रावललगायतविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भयो। उक्त मुद्दा सरकारले फिर्ता लिएपछि सह-प्राध्यापक चलाउने यतिखेर न्यायको खोजीमा भौंतारिरहेका छन्। 

उनी आफूमाथि आक्रमण गर्नेहरू माथि लगाइएको मुद्दा फिर्ता लिएको निर्णयविरूद्ध जिल्ला अदालत, काठमाडौं अगाडि हिजो (मंगलबार) धर्ना दिन पुगेका थिए। तर प्रहरीले​ जिल्ला अदालत पुगेर धर्ना दिन खोज्दा उप-प्राध्यापक प्रेम चलाउने पक्राउ गर्‍याे। प्रहरीले उनलाई छाडेपछि न्याय माग्दै फेरि त्रिवि उपकुलपति कार्यालयअगाडि अनशन थालेका छन्। 'न्याय'को पर्खाइमा एक प्राध्यापक छन्।

जेठ २९ गते पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई विद्यार्थीहरूले कालोमोसो दले। दाहाललाई कालोमोसो दलेको आरोपमा नेपाल विद्यार्थी संघ मोरङका अध्यक्ष सरोज पोखरेल पक्राउ परेका छन्।

विश्वविद्यालयले कालोमोसो दलेको घटनामा संलग्न अध्यक्ष पोखरेलसहित ३ जनाविरूद्ध इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी दिएको छ।

विद्यार्थी संगठनहरूले प्राध्यापक तथा शिक्षकहरूलाई आक्रमण गर्ने, कार्यकक्षमा ताला लगाउने, कालोमोसो दलेर दुर्व्यवहार गर्ने यी दुई प्रतिनिधि घटना मात्रै हुन्। पछिल्लो समय विद्यार्थी संगठनका कार्यकर्ताहरूको अराजकताका कारण प्राध्यापक तथा शिक्षकहरूलाई आफ्नो सुरक्षा गर्ने चुनौती थपिएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले पनि कसैको निर्देशनमा उप-प्राध्यापकलाई कुटपिट गरेको निष्कर्ष निकाल्दै अनुसन्धान प्रतिवेदन तयार गरेको थियो।

यसअघि २०७६ सालमा पनि कृृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक विष्णुराज ओझालाई विद्यार्थीहरूले कालोमोसो र जुत्ताको माला लगाएर दुर्व्यवहार गरे। त्यसपछि उक्त घटनामा संलग्न ६ जना विद्यार्थीलाई निलम्बन गरेको थियो। 

चलाउनेको विलौना : अब न्याय खोज्न कहाँ जाउँ?

उप–प्राध्यापक चलाउनेले सरकारले मुद्दा फिर्ता लिएर सत्य, न्याय र मानवता मारेको बताए। उनले रूँदै भने, ‘सरकारले सत्य, न्याय, मानवता मार्‍यो, मुद्दा फिर्ता लियो, म अब न्याय माग्न कहाँ जाउँ, मलाई गुहार दिनुहोला, म गुहार माग्न आउँदै छु सडकमा,  समाजमा आएँ।’

उनले न्याय खोसेरै भए पनि लिने दृढता व्यक्त गरे। ‘गुण्डा, अपराधीहरूको देशमा मलाई बाँच्नु छैन, सत्याग्रह थाल्छु, बन्द इजलास र सरकारले न्याय दिएन, म न्याय खोसेर लिन्छु, मेरो शारीरिक मानसिक स्थिति अहिले ठीक छैन, त्रासमा छु,’ उनले भने। 

आरोपित रावल भन्छन् : हामीले आक्रमण गरेको होइन

यता, उप-प्राध्यापक चलाउनेलाई आक्रमण गरेको आरोप लागेका योगेन्द्र रावल आफूहरूले आक्रमण नगरेको दाबी गर्छन्। उनले मुद्दा फिर्ता गरेर सरकारले स्वागतयोग्य काम गरेको भन्दै सरकारको प्रशंसा भने गरे।

‘हामी त्यस्ता काम गर्दैनौँ, उहाँप्रति सम्मान गछौँ, हामी पढ्न आएको हो, उहासँग केही हाम्रो सरोकार र लेनादेना छैन, कसैको प्रयोगमा उहाँ हिँडेर हामीलाई आरोप लगाए,’ उनले भने। आक्रमण गरेको विषयमा पनि उनले अरूलाई फसाएको बताए।

‘पिट्न आउँदा चिन्न किन सकेन? हामी उहाँसँग पढेका हौँ, नभए चिनिहाल्थ्यो, त्यसै नेविसंघका कार्यकर्तालाई फसाउने?,’ उनले भने। उनले प्रेम चलाउने जस्तै अन्य व्यक्तिहरू चोर बाटोबाट छिरेर उप-प्राध्यापक बनेको आरोप लगाए।

‘राज्यसत्ताको आडमा उनीहरू उप-प्राध्यापक बनेका हुन्, वास्तवमा उनीहरू उप-प्राध्यापक बन्न लायक छैनन्, एउटा अनुसन्धान र विद्यावारिधि नगर्नेहरू उप-प्राध्यापक बन्न सक्छ ? प्रतिस्पर्धा गरेर उप-प्राध्यापक नियुक्ति गर्नुपर्छ,’ उनले आक्रोसित हुँदै भने। 

‘सरकारले आरोपितलाई संरक्षण गर्दा विद्यार्थीमा झनै अराजकता बढ्यो’

विद्यार्थी राजनीतिबाट उदाएका एमालेका सांसद ठाकुरप्रसाद गैरेले सरकारले बाटो बाटोमा प्राध्यापक तथा शिक्षकलाई कुट्नेहरूलाई संरक्षण दिँदा विद्यार्थी संगठनका नेता, कार्यकर्ताहरूमा अझै अराजकता बढ्दै गएको बताए।

अनेरास्ववियुका पूर्वअध्यक्षसमेत रहेका उनले भने, ‘बाटो बाटोमा कुटपिट गर्नेलाई सरकारले मुद्दा फिर्ता लिएर संरक्षण गरेको छ, यसरी गर्नुहुँदैन, यस्तै कारणले झनै अराजकता बढ्दै गएको छ।’ उनले कानुनबमोजिम मुद्दाको फैसला हुनुपर्ने बताए। 

कुटपिट गर्नु गलत तर घटनाको विकास हेर्नुपर्छ : पौडेल

विद्यार्थी राजनीतिबाट उदाएका कांग्रेसका सांसद प्रदीप पौडेल प्राध्यापक तथा शिक्षकहरूलाई कुटपिट गर्नु गलत रहेको बताउँछन्। तर घट्नाको विकास क्रमलाई पनि हेर्न जरूरी रहेको उनले बताए।

‘कुटपिट गर्नु गलत हो, विधि प्रकृयामा जानुपर्छ तर जायज माग गर्दा पनि पूरा नभए यस्तो अराजकता निम्तिन्छ, यस्ता क्रियाकलाप गरेपछिमात्रै गल्ती सच्चिने गरेको पनि देखिएकाले विद्यार्थीहरूले दुर्व्यवहार गर्ने गरेको होलान्,’ उनले भने। उनले त्रिविमा राम्रोसँग नपढाएकै कारण यस्ता दुर्व्यवहार प्राध्यापकहरूले भोग्नुपरेको तर्क गरे। 

‘मुद्दा अनुसारका घटना घट्छ’

नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सुदेश पराजुलीले यस्ता क्रियाकलाप हुनुमा मुद्दा अनुसारका घटना घट्ने गरेको बताउँछन्।

उनले नेपालको शिक्षा क्षेत्रमा शिक्षकहरू गम्भीर नभएकाले पनि विद्यार्थीहरूको आक्रोसित देखिएको बताए। ‘शैक्षिक कुराहरू उठाएर जाने र आर्थिक लोभ लालचका गतिविधि गरेकै कारण पनि दुर्व्यवहार र भौतिक आक्रमण हुने गरेको पाइन्छ,’ उनले भने। यद्यपि भौतिक आक्रमण भने गर्न नहुने उनले बताए। 

शैक्षिक संस्थामा यस्ता अमानवीय क्रियाकलापको संरक्षण गर्दैनौँ : नेविसंघ

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भने शैक्षिक संस्थामा प्राध्यापकहरूलाई दुर्व्यवहार गर्ने जस्ता अमानवीय क्रियाकलाप नगर्ने र त्यस्ता क्रियाकलापको संरक्षण पनि नगर्ने दावी गरेको छ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग प्रमुख दाहालमाथि गरिएको दुर्व्यवहारमा नेविसंघको कुनै संलग्नता नरहेको दाबी पनि गरे।

उनले जेठ ३० गते प्रेस विज्ञप्ति नै जारी गरी भनेका छन्, ‘आजको विकसित युगमा समस्या समाधानका लागि वार्ता, संवाद र छलफलका विभिन्न उपायहरू हुँदाहुँदै पनि कालो मोसो दल्ने जस्तो अमानवीय क्रियाकलापको नेविसंघ घोर निन्दा गर्दछ।’

नेविसंघको नाम लिएर कालो मोसो दलेको भन्ने समाचार सम्प्रेषण भएको सन्दर्भमा उनले पूर्वाञ्चल विश्वविद्यालयमा नेविसंघको कुनै पनि आधिकारिक समिति नरहेको जानकारी दिए।

‘उक्त कार्यमा नेविसंघको कुनै सलग्नता नरहेको जानकारी गराउँदछौं, साथै कुनै पनि शैक्षिक संस्थामा हुने यस्ता अमानवीय क्रियाकलापको संरक्षण नेविसंघले नगर्ने र संलग्न व्यक्तिहरू आफैं जिम्मेवार हुने कुरा पनि अवगत गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.