|

काठमाडौं : सोमबार चार दलबीच समाजवादी मोर्चा घोषणा भयो। राष्ट्रियसभा गृहमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी  (नेकपा एस) र नेपाल कम्युनिष्ट पार्टी मिलेर समाजवादी मोर्चा बनेको हो।

संविधान प्रदत्त समाजवाद स्थापना गर्ने लक्ष्यका साथ फरक विचार र सिद्धान्त भएका दलहरूबीचको मोर्चालाई सोही मोर्चामा रहेका दलका नेताहरूले समेत रूचाएका छैनन्। 

नेपाली मौलिकतासहितको समाजवाद स्थापना गर्ने र नेपालको संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने, विभेदरहित समाज स्थापना गर्ने लक्ष्यसहित मोर्चा गठन गरिएको बताइएको छ। ​यद्यपि समाजवादी मोर्चा कसकाविरूद्ध भन्ने मूल प्रश्नले जरा गाडेको छ। समाजवादी मोर्चा बनाउन सक्रिय रहेका नेताहरूलाई बाहिरै राखेर मोर्चाको घोषणा गरियो। 

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)र वामदेव गौतमलाई बाहिर राखिएपछि विभिन्न टीकाटिप्पणी हुन थालेका छन्। समाजवादी मोर्चा सत्ताभित्र रहेका दल वा बाहिर रहेका दलविरूद्ध हो ? भन्ने प्रश्न उब्जिएको छ। मोर्चामा आबद्ध नेताहरूले ‘मोर्चा कसैका विरूद्ध पनि होइन’ भन्ने अभिव्यक्ति दिइरहेका छन्। त्यसो भए यो मोर्चा किन त? भन्ने प्रश्न मुख्य विषय बनेको छ। विपक्षी दल नेकपा एमालेले ‘मोर्चा’का नाममा उपद्रो मच्चाइएको बताएको छ। 

एमाले उपमहासचिव विष्णु रिमाल मोर्चा गठनसँगै ‘किचकिच’को पनि विजारोपण भइसकेको विश्लेषण गर्छन्। अब मोर्चाको भविष्य के होला त? भन्ने जिज्ञासामा उनी भन्छन्, ‘त्यो भविष्यले बताउला।’

एकीकृत समाजवादी पार्टीभित्र पनि सोही समस्याले गिजोलेको देखिन्छ। विशेषगरी अध्यक्ष माधव नेपाल र उनी निकट व्यक्तिहरूको स्वार्थका कारण समाजवादी मोर्चा घोषणा गरिएकोमा नेकपा एसका नेताहरू असन्तुष्ट छन्। सम्मानित नेता झलनाथ खनाल नै समाजवादी मोर्चाको पक्षमा छैनन्। उनले समाजवादी मोर्चा घोषणा कार्यक्रममा ‘सत्ता टिकाउने मोर्चा मात्रै नबनोस्’ भन्दै यसको भविष्यबारे आशंका व्यक्त गरे। 

मोर्चाको भविष्यबारे शंका गर्दै उनले भने, ‘म चारै दलका नेताहरूलाई आग्रह गर्न चाहन्छु कि, यो मोर्चा खालि सत्तालाई टिकाउने मोर्चा मात्रै नबनोस्। यो मोर्चा साँचो अर्थमा आमुल परिवर्तनको मोर्चा बनोस्। यो मोर्चा सम्पूर्ण वामपन्थीहरूलाई एकतावद्ध गर्ने मोर्चा बनोस्।’ 

बजेटमाथि असन्तुष्टी

एकीकृत समाजवादीका सांसदहरूले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाइरहेका छन्। सांसदहरू राजेन्द्र पाण्डे, भानुभक्त जोशी, प्रेम बहादुर आले, किशान श्रेष्ठ, अम्मरबहादुर थापालगायतले बजेट नै पारित हुन नदिने चेतावनी दिइरहेका छन्। 

संसदीय दलका उपनेतासमेत रहेका उपाध्यक्ष पाण्डेले अहिलेको अवस्थामा बजेट पास नहुने बताउँदै पार्टीले कारबाही गरे पनि आफू भोग्न तयार रहेको बताउने गरेका छन्। 

‘पार्टीको कारबाही भोग्न तयार छु। तर, बजेटको पक्षमा भोट हाल्दिनँ। माधव नेपालको मात्रै पार्टी होइन होला नि!,’ पाण्डेले थाहाखबरसँग भने। 

सांसद पाण्डेले आइतबार भएको एक कार्यक्रममा भनेका छन्, ‘यही अवस्थामा यो बजेट पास हुँदैन। मैले आफ्नो पार्टीको अध्यक्ष माधवकुमार नेपाललाई पनि सँगै लगेर भनेको छु, भोट हाले तपाईं एक्लै हाल्नुस्, हामी हाल्दैनौँ ।’

माधव नेपालबाट अपमान, एमालेमा फर्किने तयारी!

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि अन्याय हुँदा भन्ने एउटा शब्द हो– अपमान भयो। उनको ‘अपमान’ शब्द एमाले हुँदै एकीकृत समाजवादी पार्टीसम्म आइपुग्दा लागू हुन्छ। 

नेकपा एमालेमा ‘अपमान सहेर नबस्ने’ घोषणा गरेर नयाँ पार्टी खोलेका उनले बेला–बेला गठबन्धनभित्र आफ्नो ‘अपमान’ भएको बताउने गरेका छन्। तर, उनै ‘अपमान’ सहन नसक्ने नेपालले पार्टीभित्र आफ्नै नेताहरूमाथि ‘अपमान’ गर्ने गरेका छन्। 

नेपालले पार्टीलाई सानो झुण्डमा रूपान्तरण गरेको भन्दै उपाध्यक्ष पाण्डे,सचिव रामकुमारी झाँक्री, सांसदहरू भानुभक्त जोशी, प्रेम बहादुर आले, किशान श्रेष्ठ, अम्मरबहादुर थापासहितका नेताहरूले असन्तुष्टि जनाइरहेका छन्। उनीहरूले अध्यक्ष नेपालले पार्टीलाई माओवादी केन्द्रसँग मिलान गर्ने नीति लिएको भन्दै एमालेमा फर्किने चर्चा छ। 

‘माधव नेपाल पार्टी चलाउने मुडमा हुनुहुन्न। उहाँले नेपाली कांग्रेस र माओवादीसँग मिलेर पार्टीलाई ठूलो पनि नबनाउने बरू सानो आकारको बनाउने रणनीति लिनुभएको छ। एमालेलाई ओली कम्पनी भनेर यता आयौं। तर, यता पनि माधव प्राइभेट कम्पनी बनाइयो। यो असन्तुष्ट पक्ष चाँडै एमालेमा फर्किन्छ। ढिला चाँडो मात्रै हो,’ नेकपा एसका एक सचिवालय सदस्यले थाहाखबरसँग भने। 

केपी शर्मा ओलीविरूद्ध गरिएको विद्रोहका क्रममा एमालेका धेरै नेता नेकपा एसमा आउने सम्भावना रहने पनि माधव नेपाल निकट केही नेताको स्वार्थका कारण रोकिएको असन्तुष्ट पक्षको आरोप छ।

एकीकृत समाजवादी पार्टीमा आउन चाहने नेताहरूलाई डा.वेदुराम भुसाल, प्रकाश ज्वाला लगायतका केही नेताहरूको स्वार्थका कारण रोकिएको ती असन्तुष्ट नेताले आरोप लगाए। 

‘त्यसबेला नै एमालेमा अवसर नपाएका नेताहरू धेरै आउँथे। तर, वेदुराम भुसाल, विजय पौडेल, प्रकाश ज्वाला लगायतका नेताहरूका कारण बन्देज लाग्यो। उनीहरू पार्टीमा आफूभन्दा सिनियर नेतालाई इन्ट्री नहुने रणनीतिमा लागेपछि हामी पनि खुम्चिन बाध्य भयो,’ नाम उल्लेख नगर्ने सर्तमा नेकपा एसका अर्का नेताले भने। 

उपाध्यक्ष पाण्डेलाई एमालेमा फर्किने तयारी गर्नुभएको हो? भन्ने प्रश्नमा उनले घुमाउरो पारामा जवाफ दिँदै भने, ‘मुकुन्द न्यौपानेहरू फर्किनुभयो। त्यही देखेर आँकलन गर्नुभएको होला। हामी तत्काल फर्किने मनस्थितिमा छैनौं।’ 

यद्यपि नेकपा एसमा असन्तुष्ट नेताहरू अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटनको विषयमा आत्मआलोचना गर्दै माफी मागेपछि फर्किने मूडमा छन्। 

‘जुन मुद्दामा हाम्रो विमति थियो। प्रतिगमनका विषयमा केपी ओलीले माफी मागेपछि मात्रै एमालेमा फर्किने/नफर्किने विषयमा सोच्न सकिन्छ,’ उपाध्यक्ष पाण्डेले थाहाखबरसँग भने। 

पछिल्लो समय नेकपा एसकी सचिव रामकुमारी झाँक्री निष्क्रिय बनेकी छन्। पार्टी स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेकी झाँक्री अध्यक्ष नेपालसँगको तिक्तताका कारण निष्क्रिय बसेकी हुन्।

०७८ भदौ २ गते नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा हात डोर्याउँदै पुगेकी झाँक्रीले अहिले माधव नेपालको हात छोडेकी छन्। उनी अहिले पार्टीका काममा सक्रिय छैनन्। उनको दैनिकी सामान्य रूपमा बितिरहेको छ।

झाँक्रीलाई सचिवको पद दिइए पनि पार्टीले कुनै काममा खटाउँदैन। सचिवालय बैठकमा समेत उनले आफ्नो भनाई राख्न पाउँदिनन्। पाइहाले पनि उनको माग सम्बोधन हुँदैन। अध्यक्ष नेपालले पार्टीको काममा खटाउने गरेका छैनन्। 

‘पार्टी गठनमा उहाँ(झाँक्री) ले खेलेको भूमिका भुलेर केही नेताहरूले जिम्मेवारीविहीन बनाइदिनुभयो। पार्टीमा काम गर्ने सक्रिय महिला नेतृ हुनुहुन्थ्यो। उहाँको प्रगति देख्न नसकेपछि पार्टीबाट विदा गर्ने नीति लिइयो,’ नेकपा एसका एक नेताले भने, ‘माधव कमरेड पनि विगत बिर्सिएर वर्तमानमा सानो झुण्डमा रमाइरहनुभएको छ। यसले उहाँलाई नै हानी पुर्याउँछ।’ 

एमालेमा स्वागतको ढोका खुल्ला

नेकपा एमालेमा ७० वर्षे उमेरहदको प्रावधानलाई निलम्बन गरिएको छ। नेकपा (एकीकृत समाजवादी) पार्टीसहित अन्य पार्टीबाट आउने ७० वर्षे कटेका नेताहरूको व्यवस्थापनका लागि उमेरहदलाई निलम्बन गरिएको हो। 

नेकपा एस त्यागेर एमालेमा गएका मुकुन्द न्यौपानेसहितका नेताहरूको व्यवस्थापनका लागि विधानको उक्त व्यवस्थालाई निलम्बन गरिएको हो। यसबाट नेकपा एसमा रहेका अन्य नेताहरूलाई समेत एमालेमा जाने बाटो खुला हुने भएको छ। नेकपा एसका नेताहरूले समेत एमालेको उक्त कार्यको खुलेर स्वागत गरिरहेका छन्। 

‘हाम्रा कतिपय साथीहरूलाई एमालेमा जान ७० वर्षे उमेरहद बाधक बनिरहेको थियो। त्यो पनि हटेपछि एमालेमा जान थप सहज भएको छ,’ नेकपा एसका एक नेताले भने, ‘साथीहरूसँग सल्लाह भइरहेको छ। एमालेका साथीहरूसँग पनि छलफल गरेर संस्थागत रूपमा प्रवेश गर्छौं।’ 

एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली नेकपा एसमा रहेका नेताहरूलाई एमालेमा फर्काउने प्रयास भइरहेको बताउँछन्। उनले माधव नेपालको कार्यशैलीबाट असन्तुष्ट बनेका नेताहरूसँग आफूहरूको निरन्तर वार्ता र संवाद भइरहेको बताउँदै चाँडै नै ठूलो पंक्ति एमालेमा मिसिने बताए। 

‘माधव नेपालका कार्यशैलीबाट त्यहाँ रहनुभएका साथीहरू पनि सन्तुष्ट हुनुहुँदोरहेनछ। झन् हिजो भएको समाजवादी मोर्चाबाट उहाँ(माधव)ले पार्टीलाई कमजोर बनाउँदै लैजाने निष्कर्ष कतिपय साथीहरूको रहेछ। हामी उहाँहरूसँग निरन्तर संवादमा छौं। पार्टीमा फर्काएर निरन्तर सक्रिय बनाउने हाम्रो प्रयास भइरहेको छ’ उनले भने। 

तर, नेकपा एमालेमा फर्किन चाहने कतिपय नेताहरूले केपी शर्मा ओलीले गरेको प्रतिगमन सच्याउनुपर्ने अडान लिरहनुभएको छ नि?  भन्ने प्रश्नमा उनले भने, ‘पार्टी विभाजन गलत थियो। यसलाई कुनै हालतमा स्वीकार गर्न सकिँदैन। उहाँहरूले भनेजस्तो प्रतिगमन गलत भनेर रियलाइज हुँदैन। बरू कतिपय एजेण्डामा सहमति गरेर जान सकिन्छ। तर, माफी माग्ने अवस्था हुँदैन।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.