|

काठमाडौं : संघीय संसद्ले नयाँ अभ्यास थालनी गरेको छ। प्रदेश सरकारका बहालवाला मन्त्रीको निधनमा संघीयसंसद्को तल्लो सदन प्रतिनिधिसभाले शोक प्रस्ताव पारितको अभ्यास थालेको छ। 

मंगलबार सवारी दुर्घटनामा दिवंगत भएका भएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरिएको हो। शोक प्रस्ताव पारितपछि बैठक स्थगित गरिएको थियो। 

बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ,कार्यव्यवस्था परामर्श समितिको समझदारी अनुसार शोक प्रस्ताव पारित गरिएको हो। प्रदेश सरकारका मन्त्रीलाई प्रतिनिधि सभा सदस्यसरह मान्यता दिएर शोक प्रस्ताव पारित गर्ने सहमति कार्यव्यवस्थामा भएको थियो। सोही अनुसार शोक प्रस्ताव पारित गरेर दोस्रो बैठकमा मात्र नियमित कार्यसूचीमा बैठक प्रवेश गरेको हो। 

संघीय संसद्का बहालवाला सदस्यको निधनमा शोक प्रस्तावपछि नियमित कार्यसूचीमा प्रवेश नगर्ने अभ्यास छ। यस्तै संविधान सभाको अवधिमा पनि बहालवाला सदस्यको निधनमा शोक प्रस्तावपछि कार्यसूचीमा प्रवेश गर्ने अभ्यास थिएन। पूर्वसांसद र सभासद्हरूको निधनमा भने संघीय संसद्का दुवै सदनको बैठकको अन्तिममा शोक प्रस्ताव पारित गरेर बैठक स्थगन गर्ने अभ्यास छ। 

प्रतिनिधि सभाले भारतको लोकसभाका सभामुख जिएमसी बालयोगीको निधनमा पनि यसअघि शोक प्रस्ताव पारित गरेको थियो। २०५८ चैत २० गतेको बैठकबाट सभाले शोक प्रस्ताव पारित गरेको थियो।  

राष्ट्र प्रमुखको निधनमा पनि प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गरेका नजिर छन्। २०५८ को दरबार हत्याकाण्डपछि जेठ २२ मा बसेको प्रतिनिधि सभाले समवेदना प्रस्ताव पारित गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.