|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सम्बन्धन प्राप्त दुई वा दुईभन्दा बढी क्याम्पसहरू पूर्ण रूपले आपसमा समायोजन (मर्ज) गर्ने योजना कार्यान्वयन गर्ने भएको छ। त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय योजना निर्देशनालयले मर्ज हुन चाहने त्यस्ता क्याम्पसहरूले असार मसान्तभित्र निवेदन पेस गर्न सक्ने व्यवस्था गरेको छ।

जेठ ३० गते प्रकाशित सूचनाअनुसार आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराई ०८० असार मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेस गर्न सकिनेछ। समायोजनबापत कुनै शुल्क लाग्ने छैन।

त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयका निर्देशक प्राडा ध्रुवकुमार गौतमले पहिलो पटक सम्बन्धन प्राप्त क्याम्पसहरूलाई मर्ज गराउने तयारी गरेको जानकारी दिए।

मर्जका लागि यी कागजपत्र चाहिने

त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयका निर्देशक प्राडा गौतमका अनुसार मर्ज गर्नको लागि विद्यार्थीहरूको संख्या तोकिएको छैन। तर दुवै क्याम्पसको बेग्लाबेग्लै निवेदन, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय चाहिनेछ।

यस्तै, सम्बन्धनसम्बन्धी पत्रहरू, नवीकरण पत्रहरू र अक्षयकोषको रसिद चाहिनेछ। ‘कम विद्यार्थी संख्या भएकालाई मर्ज गर्ने भनेर हामीले भनेका छैनौं, यी माथिका कागजातको आधारमा क्याम्पस मर्ज हुने छन्,’ उनले भने।

असार मसान्तसम्म आवेदन नआए के हुन्छ?

त्रिविले समायोजन हुने निर्णय गराई ०८० असार मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेस गर्नू भनेको छ। तर,त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयका अनुसार हालसम्म कुनै यसका लागि आवेदन परेको छैन।

त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयका निर्देश प्राडा गौतमले यी समयसम्म कुनै आवेदन नपरे पुनः सूचना जारी गरेर समय दिइने बताए। उनले सम्बन्धन प्राप्त निजी क्याम्पसहरू मात्र मर्ज हुने जानकारी दिए। यस्ता १ हजार ६० क्याम्पसहरू छन्। त्रिविका आंगिक क्याम्पसहरू ६२ वटा छन्। 

त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयका निर्देशक प्राडा गौतमले मर्ज भएका क्याम्पसहरूले केही अनुदान नपाउने तर यसका धेरै फाइदा रहेको बताए।

‘क्याम्पस एक आपसमा मर्ज भएमा क्याम्पस ठूलो बन्छ,’ उनले भने, ‘विद्यार्थी संख्या धेरै हुन्छ, धेरै शैक्षिक कार्यक्रम चलाउन पाइन्छ, विद्यार्थीहरू पढ्न सहज हुन्छ, शैक्षिक गुणस्तरमा राम्रो हुन्छ।’ 

आयोग पनि कम विद्यार्थी भएका क्याम्पस मर्ज गर्ने तयारीमा 

पछिल्लो समय उच्च शिक्षा अध्ययनको लागि विदेशिने विद्यार्थीहरूको संख्या बढ्दो छ। यता, निजी क्याम्पसमा या त्रिविका आंगिक क्याम्पसहरूमा भने विद्यार्थी संख्या कम छ। जसकारण त्यस्ता क्याम्पस बन्द गर्ने वा मर्ज गर्ने अवस्थामा पुगेका छन्।

उच्च माध्यमिक विद्यालय संघ (हिसान) का अध्यक्ष रमेशकुमार सिलवालले विश्वविद्यालयको स्पष्ट शैक्षिक क्यालेन्डर लागू भए मात्रै उच्च शिक्षाको लागि विदेशिने विद्यार्थी रोकिने र उच्च शिक्षामा गुणस्तरीयता बढ्ने बताएका छन्।

गत जेठ ५ गते खबर एजुकेसन र हिसानले आयोजना गरेको ‘उच्च शिक्षाका वर्तमान अवस्था र नीति संवाद’ कार्यक्रममा उनले भनेका थिए, ‘विदेशी विश्वविद्यालयहरूमा समयमा शैक्षिक क्यालेन्डर लागू हुन्छ, त्यही भएर विदेशमा शिक्षा गुणस्तरीय भयो, यहाँका विद्यार्थीहरू पनि जाने गरेका छन्, त्यसैले यहाँ पनि शैक्षिक क्यालेन्डर सही रूपमा लागू हुनुपर्छ।’

उनले यहाँ आवश्यकताअनुसार विश्वविद्यालय खोल्न पुगिसकेको र अब गुणस्तरमा मात्रै ध्यान दिनुपर्ने आवश्यक भएको बताएका छन्। त्रिविले जस्तै यता विश्वविद्यालय अनुदान आयोगले पनि कम विद्यार्थी भएका सामुदायिक क्याम्पसहरू मर्ज गर्ने तयारी गरेको छ।

आयोगका सदस्य सचिव शंकरप्रसाद भण्डारीले भने, ‘क्याम्पसहरू मर्ज गर्ने नीति नै छ, कति विद्यार्थी भएका क्याम्पस मर्ज गर्ने भन्ने अझै टुंगो लागेको छैन, कसरी,कुन आधारमा क्याम्पसहरू मर्ज गर्ने भन्नेबारे छलफल चलिरहेको छ,’ उनले भने। उनका अनुसार छलफलपछि मात्रै आंगिक क्याम्पसको हकमा पनि व्यवस्थापनका लागि निर्णय गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.