|

जुम्ला : जुम्लाको सिंजा गाउँपालिकाले शैक्षिक अवस्था सुधार्न अभिभावक शिक्षा कार्यक्रम लागू गरेको छ। पालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले शैक्षिक अवस्था सुधार्न पालिकाभित्रका सामुदायिक विद्यालयमा यस्तो कार्यक्रम लागू गरेको हो।

पछिल्लो समयमा खस्कदै गएको सामुदायिक विद्यालयको अवस्था मद्देनजर गर्दै यस्तो वडास्तरीय समिति समेत गठन गरेको छ। शैक्षिक गुणस्तर कायम राख्न पालिकाका ६ वटै वडामा वडाध्यक्षको नेतृत्वमा वडा समिति गठन गरेको गापा शिक्षा शाखाका प्रमुख शंकर धितालले बताए।

उनका अनुसार वडा समितिले आफ्ना वडाभित्रका शैक्षिक संस्थालाई नियमन, सुपरिवेक्षण तथा विद्यालय व्यवस्थापनका लागि थप जिम्मेवार बनाउन पहल गर्नेछ। उनले भने, ‘सिजा गाउँपालिकाभित्रका १९ वटा सामुदायिक विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम समेत सञ्चालन गरेको छ।’

त्यस्तै सिंजा गापा उपाध्यक्ष सीतली रोकायाले अभिभावक शिक्षा कार्यक्रम विद्यालयले शैक्षिक अवस्था र विद्यार्थीको सिकाइ क्रियाकलापमा टेवा पुग्नेछ। उनले भनिन्, ‘यस्ता कार्यक्रमले विद्यालयको निगरानी राख्नेदेखि अभिभावकलाई जिम्मेवार बनाउन पहल गर्नेछ।’ उनका अनुसार यो कार्यक्रम शिक्षकमात्रै नभई अभिभावकलाई जिम्मेवार बनाई पढाइको वातावरण तयार पार्न सहयोगी हुनेछ।

यो कार्यक्रमले शिक्षा क्षेत्रमा सुधार हुने गापा प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताए। विद्यार्थीको वास्तविक सिकाइको अवस्था पहिचान गर्न शिक्षक, शिक्षा क्षेत्रमा देखापरेका समस्या हल गर्न उक्त कार्यक्रम महत्वपूर्ण रहेको छ।

आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट आउनुअघि नै शिक्षा शाखाले विद्यालयको शैक्षिक अवस्था परिवर्तनका लागि सबै निकायबाट सुझाव संकलन गरेको शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.