|

काठमाडौं : सत्तारुढ दलहरूले गठबन्धनभित्र उपगठबन्धनजस्तो मोर्चा गठन गरेका छन्। नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच समाजवादी मोर्चा बनेको हो। नेत्रविक्रम चन्द विप्लवको नेकपाबाहेक तीन दल सत्तारुढ हुन्।

आफूलाई प्रधानमन्त्री बनाउने प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देश बाहिर रहेका बेला प्रचण्डले समाजवादी मोर्चा घोषणा गरेका हुन्। चार दिन अगाडि घोषणा भएको समाजवादी मोर्चाले मुख्य गरी प्रतिनिधिसभामा पहिलो र दोस्रो ठूलो दल कांग्रेस–एमालेलाई टार्गेट गरेको छ। सत्ता सञ्चालनमा आफूलाई अप्ठ्यारोमा पार्ने चाल पाएका प्रधानमन्त्री प्रचण्डले तीन दलका ५४ सांसद सरकार टिकाउने मुख्य हिस्सेदार हुन्।

तर गठबन्धन भित्रै मोर्चा बनेपछि कांग्रेसले यसलाई रुचाएको देखिँदैन। 

कांग्रेसका एक केन्द्रीय सदस्यले प्रधानमन्त्री प्रचण्डका पछिल्ला गतिविधिहरू नियालिरहेकाले चाँडै पार्टीको बैठक बसेर निर्णय लिने बताए। महामन्त्री गगन थापा निकट ती नेताले आफूहरूलाई दबाबमा राख्न प्रचण्डका गतिविधि स्वीकार्य नहुने बताए। 

‘प्रचण्डलाई प्रधानमन्त्री बनाउन हामीले काँध थापिदिएका छौं। तर,उहाँ मोर्चाका नाममा अनेक हर्कत गर्दै हुनुहुन्छ। मोर्चाबन्दी गरेर हामीलाई दबाबमा ल्याउन खोज्नुभएको हो भने ती गतिविधि स्वीकार्य हुँदैनन्,’ नाम उल्लेख नगर्ने सर्तमा ती नेताले थाहाखबरसँग भने।  

प्रचण्डबाट धोका खाएको कांग्रेस–एमाले

मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्ता र प्रतिपक्षी गठबन्धन बन्यो। नेपाली कांग्रेसले नेतृत्व गरेको सरकारमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा मिलेर संयुक्त रुपमा निर्वाचन लडे। 

विपक्षी गठबन्धनमा नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी(केही क्षेत्रमा) रहे। दुई गठबन्धनमा कसैको पनि सरकार बनाउन स्पष्ट बहुमत आएन। निर्वाचनमा सत्ता गठबन्धनबाट कांग्रेस ८९, माओवादी केन्द्र ३२, नेकपा एकीकृत समाजवादी पार्टी १०, लोसपा चार र राजमोको एक सिट आयो। यता विपक्षी गठबन्धन एमालेको ७९, राप्रपा १४ र जसपाको १२ सिट आयो। 

पूर्वसहमति अनुसार प्रतिनिधिसभाको तेस्रो ठूलो दलका अध्यक्ष प्रचण्डले सरकारको नेतृत्वमा दाबि गरे। तर, कांग्रेस सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तिम समयसम्म प्रचण्डलाई प्रधानमन्त्री सुम्पिन तयार भएनन्। राष्ट्रपतिले दाबी पेस गर्न दिएको अन्तिम दिन प्रचण्डले कित्ता परिवर्तन गरे। उनले एमालेको सहयोगमा प्रधानमन्त्री बनेर पुरानो गठबन्धन तोडे। 

पुस १० मा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र दुई जना सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भए। निर्वाचनमा साथ दिएको पार्टीले कित्ता परिवर्तन गरेपछि कांग्रेस प्रतिपक्षी बेन्चमा पुग्यो भने प्रतिपक्षको रुपमा दाबेदार एमाले सत्ता पक्ष बन्यो।

तर, प्रचण्डको चलाखीले कांग्रेसलाई सत्तामा पुर्यायो। उनले फागुन १२ गते राष्ट्रपति निर्वाचनलाई देखाएर एमाले, रास्वपा र राप्रपासँग ‘डिभोर्स’ गरे। त्यसपछि जसपा, जनमत र नाउपासहितको मंसिर ४ को गठबन्धन ब्यूँतियो। 

कांग्रेसले पनि प्रचण्डलाई ससर्त काँध थाप्ने निर्णय लियो। राष्ट्रपति पाएको कांग्रेसले प्रचण्डको पुस १० को स्टेप बिर्सियो र कोर्ष करेक्सनका रूपमा व्याख्या पनि गर्‍यो। तर, असार ४ गतेको मोर्चाबन्दीबाट कांग्रेस झस्किएको छ। सरकारमा रहको सहयात्री दललाई साइजमा राख्न प्रचण्डको मोर्चाबन्दीबाट कांग्रेस झस्किएको हो। यता एमाले प्रचण्डले प्रधानमन्त्री बनाएको गुन बिर्सिएपछि क्रोधित छ। उसले प्रचण्ड नेतृत्वको सरकार ढाल्ने रणनीति लिएको छ। 

एमालेलाई समाजवादी मोर्चाका कारण प्रचण्ड नेतृत्वको सरकार ढल्ने विश्वास छ। मोर्चाका प्रचण्डलाई सत्ताबाट हट्नुपर्ने त्रास रहेको र गठबन्धनको अन्तरविरोध र असमझदारीका कारणले सरकार लामो समय नटिक्ने एमालेको दाबी छ।  एमाले संसदीय दलका सचेतक महेश बर्तौला आफूहरुले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्न सक्ने दाबी गर्छन्। 

‘यो सरकार ढाल्न हामीले कुनै मेहनत गर्नुपर्दैन। नेकपा एमालेले चाहेर यसलाई ढाल्नका लागि प्रयत्न गर्ने हो भने हामी एक हप्ता भित्रमा यो सरकारलाई ढाल्न सक्छौँ। यो सरकारको आयु प्रत्येक दिन एक दिनका लागि हो। भोलिपल्ट, अर्को एक दिनको लागि हो,’ उनले भने। 

मिल्न सक्छन् कांग्रेस–एमाले?

प्रचण्ड प्रधानमन्त्री बनेको असार १० गते ६ महिना पुग्दैछ। तर, ६ महिनाको अवधिमा प्रचण्डमा देखिएको अस्थिरता समग्र मुलुकले व्यहोरिरहेको छ। उनका कारण परराष्ट्र नीति र मुलुक आर्थिक तथा राजनीतिक संकटमा गुज्रिरहेको विश्लेषण सत्तारुढ दलहरूले गर्न थालेका छन्। प्रचण्डको अस्थिरताका कारण प्रतिनिधिसभाको पहिलो र दोस्रो दल कांग्रेस–एमाले एउटा कित्तामा उभिने संभावना बढेर गएको छ। 

समाजवादी मोर्चा गठन गरेसँगै कांग्रेस प्रचण्डसँग सन्तुष्ट छैन। प्रचण्डको अस्थिरताको जस आफूहरूले लिनुपर्ने भन्दै कांग्रेस संस्थापन पक्षले सभापति शेरबहादुर देउवासँग असन्तुष्टि पोखिरहेको छ। 

नेपाली कांग्रेसका नेता एवं प्रचारप्रसार विभाग प्रमुख मीन विश्वकर्मा प्रचण्डको अस्थिरताले एमालेसँग मिल्ने अवस्था आउन सक्ने बताउँछन्। प्रचण्डका कारण नेपाली राजनीति अस्थिर बनिरहेकाले दुई दल एक ठाउँमा उभिन सक्ने उनको भनाई छ। 

‘नेपाली राजनीति स्थिर छैन। प्रचण्ड यताउता गरिरहनुभएको छ। एमालेले पनि चाहिरहेको छ। कांग्रेस–एमाले मिल्ने अवस्था नआउला भन्न सकिन्न,’ विश्वकर्माले थाहाखबरसँग भने, ‘प्रचण्डजीका स्वभावले नेपाली राजनीति अस्थिर बनिरहेको छ। त्यसले उहाँलाई नै घाटा पुर्‍याउँछ।’

यता प्रतिपक्षी दल एमाले पनि कांग्रेससँगको सहकार्यलाई अस्वीकार गर्दैन्। प्रधानमन्त्री प्रचण्डको अस्थिरताका कारण मुलुकलाई स्थिरता दिन दुई दल एक हुनसक्ने एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ बताउँछन्। 

‘कांग्रेससँग सहकार्य हुँदैन किन भन्नु? प्रचण्डको अस्थिरताका कारण नमिल्ने अवस्था रहँदैन। हामीले सुरुमा प्रचण्डलाई प्रधानमन्त्री बनायौं। तर, बीचमा बिच्किएर हिँड्ने। देशलाई झन् अस्थिरतातर्फ लैजाने काम भइरहेको छ,’ उनले थाहाखबरसँग भने। 

उपमहासचिव गुरुङले बजेटका कारण देशको अवस्था नाजुक भइरहेकाले अहिलेको संकटबाट पार लगाउन अन्य साना दलसहित कांग्रेस–एमाले नेतृत्वको सरकार बन्न सक्ने दाबी गरे। 

‘बजेटको अवस्थाले झनै नाजुक अवस्था बन्यो। यसले अस्थिरता निम्त्यायो। कहिले एक हुन्छौं भन्न सकिँदैन तर, मुलुकमा स्थिरता ल्याउन एक ठाउँमा आउनै पर्ने भयो,’ उनले भने।  

रास्वपा, राप्रपासहितका दल पनि तपाईंहरूको मोर्चामा समेटिनुहुन्छ? भन्ने प्रश्नमा उनले भने, ‘मुलुकलाई संकटबाट पार लगाउन उहाँहरू पनि आउनुहुन्छ।’ 

राजनीतिक विश्लेषक डा. डम्बर खतिवडा प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा देखाएर बार्गेनिङ गरे कांग्रेसले विकल्प खोज्ने बताउँछन्। 

‘प्रचण्डले गठबन्धनको नियमभित्र कांग्रेसलाई नचिढाइ बसे भने तत्कालै मिल्ने सम्भावना छैन। तर, समाजवादी मोर्चालाई देखाएर पाँच वर्ष सरकारको नेतृत्वमा वार्गेनिङ गरे कांग्रेसले विकल्प खोज्छ। तर, साढे २ वर्षमा सरकारको नेतृत्व हस्तान्तरण गरे कांग्रेसले विकल्प खोजी हाल्दैन,’ उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.