|

बागलुङ : निसीखोला गाउँपालिका–४ झिवाखोला बजार छेउमा पुरानो जस्तापाताले बारेको एउटा सानो छाप्रो देखिन्छ। त्यही छाप्रोमा दैनिक जसो भेटिन्छन् ६४ वर्षीय हिरामान सुनार।

एक हातले घन र अर्को हातले पङ्खा घुमाइरहेको भेटिने हिरामानले हँसिया, बञ्चरो, खुकुरी लगायतका सामानहरू बनाउँछन्।

आफ्नो बुबाबाट फलामका सामग्री बनाउन सिकेका सुनारले आरन व्यवसाय सञ्चालन गरेको ४७ वर्ष भयो। पुर्ख्यौली आरन व्यवसायबाटै सुनारको परिवार अहिलेसम्म जसोतासो चल्दै आएको छ। लामो समय बालीघरे रुपमा कामसमेत गरे। बालीघरे बनेर काम गर्दा निकै दुःख खेप्नु परेको नमीठो अनुभव पनि हिरामानसँग छ।

खासगरी विश्वकर्मा जातिमा प्रचलित आरन व्यवसाय पछिल्लो समय संकटमा पर्न थालेको छ। पछिल्लो समय फलामका सामग्री बनाउने आरन व्यवसाय गाउँघरबाटै हराउँदै गएको छ।

परम्परागत घरेलु हस्तकलाका सामग्रीको प्रयोग कम हुनुका साथै मेहनतले उचित सम्मान र मूल्य नपाउँदा पनि यो पेसा बिस्तारै लोप हुँदै गएको आरन व्यवसायीहरू बताउँछन्।

पुर्ख्यौली पेसालाई आधुनिक ढंगले व्यावसायिक रुपमा अघि बढाउन सके स्थानीय स्रोत–साधनको प्रयोगबाटै गाउँघरमै रोजगारी सिर्जना हुन सक्ने र आयस्तर पनि बढ्न सक्ने थियो। अहिलेका युवाले यो पेसाप्रति चासो नदिँदा हराउँदै गएको हिरामान बताउँछन्।

पहिले–पहिले गाउँसँगै बजारमा पनि आरन व्यवसायहरू व्यापक मात्रामा संचालन हुने गरेकोमा अहिले निकै कम भएको उनको भनाइ छ। सुनारले आफूले दुई दशक बढी बालीघरेका रुपमा कामसमेत गरेको सुनाए। बालीघरे भएर काम गर्दा आफूले धेरै समस्या भोग्नु परेको हिरामानले बताए। अहिले आरन व्यवसायका लागि चाहिने गोलको पनि अभाव हुँदै गएको उनको भनाइ छ।

हिरामान भछन्, ‘यो पेसा हाम्रो पुर्खादेखि गरिदै आएको पेसा हो, आरन व्यवसाय गर्ने कला अरु जातिमा हुँदैन, मैले सानै उमेरदेखि बाउ र बाजेले काम गरेको देखेर सिकेको हुँ, अहिलेका पुस्ताहरूले सिक्दैनन्, पुर्ख्यौली पेसा सिकेर खेर जाँदैन, खटिन सके यसैबाट पनि कमाउन सकिन्छ, म यसै व्यवसायमा छु, धेरै सम्पत्ति कमाउन सकिएन तर मलाई यही पेसाले जीवन चलाउन सघाएको छ, खुसी छु, तर यो पेसा हराउँदै जाँदा दुःख लागेको छ, अब कसले संरक्षण गर्छ।’

बजारमा थुप्रै रेडिमेड फलामका सामग्री पाइन थालेपछि गाउँ घरकै आरनमा बनाइएका फलामका सामग्रीको प्रयोग घट्न थालेका छन्। अहिले गाउँघरमा बालीघरे प्रथा नरहेको उनको भनाइ छ। ‘बालीघरे भएर काम गर्दा साहुहरूले जति बेला काम लगाउँथे उति बेला गर्नुपर्थ्यो, एक वर्षभरी काम गरेर एक पाथी धान, एक पाथी गहुँ र एक डोको मकै दिन्थ्यो, वर्ष दिन काम लगाएर बाली दिने बेला निकै कचकच गर्ने र पूरा बाली नदिँदा म निकै मर्कामा परेको थिए, अहिले त्यसरी काम गर्न छोडेँ’, उनले भने।

उनका छोरा देविराम सुनारले आफू सानै उमेरदेखि विदेश जान थालेको हुँदा आरन व्यवसाय तिर ध्यान नगएको बताए। आरन व्यवसाय झन्झटिलो र थोरै कमाई हुने हुँदा आफूले आयो पेसा नअंगालेको उनको भनाइ छ। यो काम गर्न हातमा सीप र धेरै समय लगाउनु पर्ने देविराम बताए। आफ्ना पुस्ताका युवाहरूले यो काम गर्न तर्फ ध्यान नदिएको उनले बताए।

‘बाउ र बाजेले यो पेसालाई निकै इमानदार भएर सम्हाल्नु भयो, हामीहरू लागेनौँ, आरन व्यवसायमा धेरै पैसा छैन, विदेश गयो भने यहाँ कमाउने भन्दै धेरै कमाउन सकिन्छ’, उनले भने, ‘आरन व्यवसाय अलिकति झन्झटिलो पनि छ, एउटै सामान बनाउन धेरै समय लाग्छ, पैसा कम हुन्छ, सम्मान पनि छैन यो पेसामा, हामी त सानैदेखि विदेश लाग्यौँ, यो पेसा तिर ध्यान गएन।’

स्थानीय टिकाराम विकले एक दशक अगाडिसम्म एउटै गाउँमा तीन÷चार वटा आरन व्यवसाय हुने गरेकोमा अहिले एउटा पनि भेट्याउन नसकिने बताए। गाउँमा चाहिने कोदालो, फाली, हँसिया, दराँती, बञ्चरो लगायत फलामका भाँडा बनाउन बजारमै झर्नु पर्ने अवस्था आएको सुनाए। अहिले पहिलेको जस्तो झन्झटिलो नभएको उनको भनाइ छ।

उनी भन्छन्, ‘पहिले–पहिले गाउँ घरमै आरन हुन्थे, केही सामान बनाउन परे नजिकै बनाउन सकिन्थ्यो, अहिले त खेतबारी जोत्नु पर्‍यो फाली ल्याउन बजारमै पुग्नु पर्छ, बजारमा आएका सामानहरू पनि यहाँ बनेका होइनन्, कहाँबाट बनेर आएका हुन्, ती सामान सबै नक्कली हुँदा रैछन्, धेरै टिकाउनै हुँदैनन्, पहिले गाउँमा बनाएका भाँडाहरू वर्षौंसम्म टिकाउ हुन्थे।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.