|

काठमाडौं : ०६४ साल चैत २८ गते भएको पहिलो संविधानसभा निर्वाचनमा पहिलो दल बनेको नेकपा माओवादी केन्द्र अहिले तेस्रो स्थानमा खुम्चिएको छ। पार्टीभित्रको आन्तरिक विवाद र फुटका कारण माओवादीले जनमत गुमाएको हो।

०७० देखि यता तीन वटा निर्वाचनमा माओवादीको ‘पोजिशन’ तेस्रोमै यथावत रहे पनि सिट संख्या र जनमत निरन्तर गिरावट भयो। ०६४ मा २५५ सिट ल्याएको माओवादी ०७० मा ८०, ०७४ मा ५२ र ०७९ मा आइपुग्दा ३२ सिटमा खुम्चिएको छ। 

तर,सिट र जनमत गुमाउँदै गए पनि माओवादीको सत्ता यात्रा रोकिएको छैन। पार्टी विभाजन भएर पनि सरकार छोड्न नसकेको माओवादीभित्र प्रचण्डको नेतृत्वलाई नेताहरूले रूचाउन छोडेका छन्। 

काग्रेससहितका दलहरूसँगको गठबन्धनबाट ३२ सिटमा खुम्चिएपछि प्रचण्डको मनमा २०८४ को चुनावको त्रास पसेको जस्तो देखिन्छ। जसले गर्दा प्रचण्ड अहिले पूर्वमाओवादीलाई एउटै कित्तामा उभ्याउने अभियानमा जुटेका छन्।

०५२ फागुन १ गतेबाट सुरू भएको १० वर्षे जनयुद्धका सहयात्रीहरूलाई पुन: पुरानै कित्तामा फर्काउने प्रयत्‍नमा प्रचण्ड लागेका हुन्। 

उनले शनिबार बिहान पोखरामा भएको एक कार्यक्रममा बोल्दै माओवादी कमजोर हुँदा देशको सिंगो परिवर्तन कमजोर हुने बताउँदै पूर्वमाओवादीहरूसँग पार्टी एकता हुने बताए। 

प्रचण्डले भने, ‘माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुन्छ। हाम्रो पहलमा समाजवादी मोर्चा घोषणा गरिएको छ। समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्नेछ। पूर्वमाओवादीहरू पनि छलफलमा छौँ। फेरि पार्टी एकताको आधार निर्माण हुँदैछ। पार्टी एकताको लागि ठोस पहल अगाडि बढाउँछौँ।’

प्रचण्डले पूर्वमाओवादीहरूलाई एउटै कित्तामा उभ्याउने उद्घोष गरेसँगै माओवादी पार्टी एक ढिक्का हुने आँकलन हुन थालेका छन्।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिबीच पार्टी एकताका लागि ठोस पहल भइरहेको दाबी गरेका छन्।

‘प्रचण्डले बिर्सिए माओवाद’ 

मार्क्सवाद, लेनिनवाद, माओवादलाई आफ्नो मुख्य नीतिको रूपमा अंगालेको नेकपा माओवादी केन्द्रले प्रचण्डपथका रूपमा केही समय अगाडि बढायो। र, पछिल्ला समयमा सत्ता केन्द्रित गरिरहेको माओवादीले आफ्नो पथ बिर्सिएको आरोप लाग्न थालेको छ।

प्रचण्डले कांग्रेस, एमाले, जसपा र राप्रपासँग मिलेर माओवाद बिर्सिएकाले प्रचण्डसहितको पार्टी एकता सम्भव नरहेको पूर्वमाओवादी नेताहरू बताउँछन्। 

मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीका नेता सिपी गजुरेलले प्रचण्ड नेतृत्वको दलसँग पार्टी एकताको सम्भावना नरहेको बताए। 

‘प्रचण्डसँग पार्टी एकताको सम्भावना छैन। कांग्रेस, एमाले, जसपा, राप्रपासँग एकता भइसक्नुभएको छ। अब उहाँसँग एकता हुनुमा के फरक छ र? देउवा, केपी र प्रचण्डको लाइन फरक छैन। जनताले उठाएका माग तिरस्कार गरेर प्रचण्ड कांग्रेस एमालेसँग मिलिसक्नुभएको छ,’उनले भने, ‘प्रचण्डले बोकेको विरासत क्लियर छैन। माओवाद नै उहाँले छोडिसक्नुभयो। प्रचण्डबाट माओवादीलाई ०६४ को विरासतमा फर्काउन सम्भव छैन।’

गजुरेलले प्रचण्ड बाहेकका क्रान्तिकारीहरूबीच पार्टी एकताको प्रयास भइरहेको बताए। उनले प्रचण्डलाई माओवादी भन्न नहुने समेत बताए। 

‘प्रचण्ड बाहेकका क्रान्तिकारीहरूको एकता प्रयास भइरहेको छ। प्रचण्ड दर्शन, सिद्धान्त, राजनीति बदलेर हिँड्नुभएको छ। त्यसैले हामी उहाँसँग ‘इन्ट्रेस्टेड’ छैनौं,’ उनले भने। 

तपाईंले प्रचण्ड माओवादी होइनन् भन्न खोज्नुभएको हो? भन्ने हाम्रो प्रश्नमा गजुरेलले भने,‘प्रचण्डले पार्टीको नाम मात्रै माओवादी राख्नुभएको छ उहाँलाई माओवादी भनेर विश्लेषण गर्न सकिँदैन। अब सही माओवादीहरूबीच एकता प्रयास भइरहेको छ। प्रचण्डले नेतृत्व गरेको मोर्चाको पनि औचित्य छैन। र उहाँबाट क्रान्ति पनि सम्भव छैन।’ 

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठ समाजवादी पार्टी निर्माणका लागि आफूहरू सकारात्मक रहे पनि माओवादीमा मिसिन आफूहरू तयार नहुने बताए। 

‘२४० वर्षीय राजतन्त्र फालेर मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गराउन हाम्रो १० वर्षे जनयुद्ध थियो। त्यो मिसन पूरा भएपछि माओवादी अभियान समाप्त भइसकेको छ। अब हामीले समाजवादी यात्रामा अगाडि बढ्नेछौं। मुलुकलाई समाजवादमा प्रवेश गराउँदै आर्थिक, सामाजिक रूपमा सम्पन्न बनाउने अभियानमा लागेका छौं। त्यसकारण पूर्वमाओवादी र माओवादी भन्दा पनि समाजवादी दल बनाउनु उपर्युक्त हुन्छ,’ उनले भने। 

श्रेष्ठले प्रधानमन्त्री प्रचण्डले आह्वान गरेजस्तो सबै पूर्वमाओवादीहरू एकताका लागि तयार नहुने समेत बताए। 

‘मलाई सबै पूर्वमाओवादी आउँछन् भन्ने लाग्दैन। उनीहरू केही संसदीय व्यवस्थाप्रति नै असन्तुष्ट रहेकाले यो सम्भावना तत्कालै देख्दिनँ,’ उनले भने।

नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही वैचारिक रूपमा सहमत नभएसम्म पार्टी एकताको सम्भावना नरहेको बताउँछन्। 

‘एकैपटक पार्टी एकताको तहमा पुग्नु हुँदैन। पहिले वैचारिक रूपमा एक हुनुपर्छ। राजनीतिक कार्यदिशा मिलाएर विभाजित भएका साथीहरूलाई एक ठाउँमा ल्याउनुपर्छ,’ उनले भने, ‘उहाँहरू प्रचण्डसँगको व्यक्तिसँग रिसिइविले पार्टी छोडेर जानुभयो। तर, आफूले चाहेजस्तो नभएपछि र आफ्नो अस्तित्व संकटमा पर्ने अवस्था आएपछि घर फर्किन तयार नै हुनुहुन्छ।’

नेता शाहीले माओवादको यात्रा पूरा भएकाले अब वैज्ञानिक समाजवाद हुँदै साम्यवादतर्फको यात्रा तय गर्नुपर्ने बताए। 

‘अब समाजवादी यात्रामा अघि बढ्नुपर्छ। किनकी माओवाद हुँदै समाजवाद र साम्यवादको यात्रा हामीले तयार गर्नुछ। अब समाजवादी पार्टी बनाउने अभियानमा हामी लागेका छौं।  माओवादी छोडेर गएका र अन्य कम्युनिष्ट विचारधारा भएका दलहरूलाई एउटा कित्तामा उभ्याउनका लागि हामीले छलफल गरिरहेका छौं,’ उनले भने। 

माओवादीको ओरालो यात्रा

६०१ मध्ये नेकपा माओवादी एक्लैले २२९ सिट ल्यायो। ०६५ साउन ३२ गते माओवादीका अध्यक्ष प्रचण्ड संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भए। यसै सन्दर्भमा विगत हिंसात्मक आन्दोलन पूर्व टुक्रिएर गएको नेकपा (एकताकेन्द्र–मसाल) र नेकपा (माओवादी) को बीचमा ०६५ पुष २९ गते पार्टी एकता भयो। 

एकतापश्चात पार्टीको नाम एकीकृत नेकपा (माओवादी) राखियो। साथै पार्टीको पथ प्रदर्शक सिद्धान्त मार्क्‍सवाद, लेनिनवाद, माओवाद विचारधारा  र प्रचण्डपथलाई आन्तरिक बहसको विषय बनाउने निर्णय गरियो। तर, प्रचण्ड नेतृत्वको सरकार ९ महिनामा नै ढल्न पुग्यो। प्रधानसेनापति रूक्माङ्गत कटुवाललाई हटाउन खोजेपछि प्रचण्डले सरकारबाट राजीनामा दिनुपर्यो। 

एकीकृत माओवादीको ०६६ असार–साउनमा बसेको केन्द्रीय समितिको बैठकले निर्णायक जनविद्रोहको तयारीको निर्णय गर्यो, साथै पार्टी बहुपदीय निर्णयमा जाने निर्णय गर्यो। बहुपदीय निर्णयअनुसार अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष मोहन वैद्य (किरण), उपाध्यक्षद्वय डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा बादल, सचिवद्वय सि.पी. गजुरेल र पोष्टबहादुर बोगटी बने।

संविधान निर्माण नगरी ०६९ जेठ १४ गते पहिलो संविधान सभा भंग भयो। प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री पदबाट राजीनामा दिए। खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बन्यो। ०६९ असारमा एकीकृत (माओवादी)बाट मोहन वैद्यको नेतृत्वमा एक समूह अलग भई नेकपा–माओवादी गठन भयो। १० वर्षे जनयुद्ध सुरू गर्नु अगाडि नै माओवादमा टुटफुटको शृङ्खला सुरू भएको पाइन्छ।

जनयुद्ध जारी रहुञ्जेलसम्म यो क्रम चलिरहे पनि २०६५ पछि झनै बढेर गयो। प्रचण्डका ‘एस म्यान’ हरूले नै उनलाई छोडेर हिँडे। ०६९ सालमा एमाओवादीमा ठूलो विभाजन भयो । मोहन वैद्य, रामबहादुर थापा बादललगायत नेताले पार्टी विभाजन गरी नेकपा–माओवादी गठन गरे।

वैद्यको पार्टीमा पनि नेत्रविक्रम चन्दले फेरि पार्टी विभाजन गराए। उनी २०७० मंसिरमा पार्टीबाट अलग भए। वैद्यको समूहबाट ०७३ मा रामबहादुर थापा, मणि थापाको अलग्गै क्रान्तिकारी कम्युनिष्ट पार्टी, मातृकाको नेकपा (माओवादी) लगायत छरिएका माओवादीबीच पुनः २०७३ मा पार्टी एकता भयो। पार्टीको नाम नेकपा (माओवादी केन्द्र)छ ।

बाबुराम भट्टराई, नेत्रविक्रम चन्दलगायतका नेताहरूले अलग्गै पार्टी बनाएपछि प्रचण्डको निकट मानिन्थे रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र लेखराज भट्ट। तर, उनीहरूले पनि साथ छोडेपछि प्रचण्डमा राजनीतिक विचलन आउन थालेको टिप्पणी हुन थालेको छ।

०७४ असोज १९ गते एमालेसँग मिलेर बनेका नेपाल कम्युनिष्ट पार्टी गत वर्ष फागुनमा सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युताएपछि बादल र भट्टसहितका नेताहरूले एमाले रोजे।

माओवादीले ०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नेकपा एमालेसँग मिलेर लड्यो। ०७५ जेठमा एमालेसँग एकता गरेर नेकपा पार्टी बनाइयो। तर, पार्टीभित्रको आन्तरिक विवादका कारण ०७७ फागुन ११ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काइदियो। पुनः उनले असार ४ गते जनता समाजवादी पार्टी, नेकपा एकीकृत पार्टी र नेकपासहितको समाजवादी मोर्चा घोषणा गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.