महामन्त्रीनिकटकै भन्छन्- उहाँहरू मिडियाबाजीमै रमाउनुभो

|

काठमाडौं : महाधिवेशन भएको डेढ वर्ष पूरा भए पनि नेपाली कांग्रेसका संगठन र विभागहरूले पूर्णता पाउन सकेका छैनन्।

०७८ मंसिरमा पार्टीको १४ औं महाधिवेशन सम्पन्न भए पनि हालसम्म विभाग, केन्द्रीय कमिटी, केन्द्रीय समिति बैठक, नीति अधिवेशन, भ्रातृ संस्थाको पूर्णतामा ढिलाइ भएको हो।

यस्तै, कांग्रेसमा पदाधिकारी, कार्यसम्पादन समिति र संसदीय बोर्डसमेत अपूर्ण छ। १४ सदस्यीय पदाधिकारीमा कोषाध्यक्ष मनोनीत गर्नै बाँकी छ भने १६८ सदस्यीय केन्द्रीय समितिमा १५६ जना सदस्यमात्र छन्।

सभापतिले १२ जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ। पार्टी विधानअनुसार ४६ सदस्यीय कार्यसम्पादन समिति हुनुपर्नेमा अहिले ३६ सदस्यमा सीमित छ। ३१ सदस्यीय संसदीय बोर्डमा २५ सदस्य पदाधिकारी मात्र छन्।

सभापति देउवाले बाँकी सदस्य नियुक्त गर्न सकेका छैनन्। संसदीय कार्यसमितिमा संसदीय दलको नेता, उपनेता, राष्ट्रिय सभा सदस्यको दलको नेताका साथै निर्वाचित, मनोनीत र पदेन सदस्य रहने व्यवस्था छ। 

हालसम्म २८ वटा विभागमध्ये एउटा प्रचार विभागले मात्रै नेतृत्व पाएको छ। विधानको धारा ६० मा महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गर्नुपर्ने पार्टीको विधानको व्यवस्था भए पनि झण्डै डेढ वर्षपछि देउवाले एउटा विभागका प्रमुख नियुक्त गरेका हुन्। सभापति देउवाले विभाग गठनमा अझै समय लगाउने देखिएको छ। 

केन्द्रीय कमिटीबाट भाग्दै देउवा

सभापति शेरबहादुर देउवाले झण्डै एक वर्ष पुग्न लाग्दासमेत केन्द्रीय कमिटी बैठक राख्न सकेका छैनन्। गत वर्ष भदौमा केन्द्रीय कमिटीको बैठक बसे पनि त्यसयता बैठक बस्न नसकेको हो। गत मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन भयो।

यस्तै, वैशाख १० गते तीनवटा क्षेत्रमा उपनिर्वाचन भयो। तर, सभापति देउवाले निर्वाचनको समीक्षा गर्न बैठक राख्न सकेका छैनन्। 

यसका लागि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले पनि आन्तरिक पहल नगरेको गुनासो आउन थालेको छ। गत पुस १० गते गठबन्धन टुटेर पुनः फागुन १२ मा गठबन्धन जोडिए पनि त्यसको औचित्य र आवश्यकताबारे केन्द्रीय कमिटीले निर्णय गर्न पाएन।  

केन्द्रीय कमिटी बैठकबाट भाग्दै आएका देउवाले पार्टीका हरेक महत्त्वपूर्ण निर्णय कार्यसम्पादन समितिबाट गराउँदै आएका छन्। यद्यपी उनले सोही समितिलाई समेत पूर्णता दिन सकेका छैनन्।

४६ सदस्यीय कार्यसम्पादन समितिमा ३७ सदस्य मात्रै छन्। केन्द्रीय सदस्य भुपेन्द्रजंग शाहीले पार्टीलाई चलायमान बनाउन शीर्ष तहबाट पहल नभएको गुनासो गरे। 

‘पार्टी गतिशील, चलायमान भएन। संगठन संरचना संकुचित भएर बस्यो। पार्टीमा रिक्तता देखिएको छ। केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन। निर्वाचनभन्दा पछाडि निर्वाचनमा के कमजोरी भयो? सरकार चलाउने, पार्टी चलाउने कुरामा छलफल गर्नुपर्ने हो। छलफलबाट भागेर पार्टी चल्दैन,’ उनले भने। 

नेता शाहीले बैठक बोलाउने विषयमा महामन्त्रीद्वय शर्मा र थापाले पहल नगरेको गुनासो गरे। ‘युवा महामन्त्रीले पार्टी सञ्चालनमा सकारात्मक भूमिका खेल्नुपर्नेमा आरोप प्रत्यारोपमा उत्रिनुभएको छ। पार्टी परम्परागत ढंगले चलिरहेको छ। उहाँहरूले बैठक बोलाउन सभापतिसँग आवश्यक समन्वयन नगरेजस्तो देखिइरहेको छ,’ उनले भने। 

अर्का केन्द्रीय सदस्य गुरू घिमिरेले नेतृत्वले बैठक बोलाउनुपर्ने आवश्यकता महसुस नगरेको बताए। ‘बैठक बोलाउनुपर्ने आवश्यकता महसुस गरिएको छैन। महामन्त्री, केन्द्रीय कमिटी सदस्यहरूले पनि विधानबमोजिम बैठक बोलाउन पहल गर्नुपर्छ,’ उनले भने। 

कांग्रेसका अर्का नेता भीमसेनदास प्रधानले पार्टी नेतृत्वले केन्द्रीय कमिटी बैठक बोलाउन विलम्ब गरेको बताए। महाधिवेशन सम्पन्न भएको डेढ वर्ष बितिसक्दासमेत सभापति देउवाले पार्टीलाई भद्रगोल बनाएको बताँदै उनले पदाधिकारी तहमा रहेका युवा नेताहरूले बैठक माग गर्न नसकेको बताए। 

निरीह बन्दै दुवै महामन्त्री

१४औँ महाधिवेशनबाट नेपाली कांग्रेसले युवा महामन्त्री पायो। विश्वप्रकाश शर्मा १९८४ र गगन थापा ३०२३ मत पाएर महामन्त्रीमा विजयी भएका हुन्। विद्यार्थी राजनीतिबाट उदयाएका शर्मा र थापालाई महामन्त्रीको रूपमा पाएपछि कांग्रेसभित्र रूपान्तरणको आशा गरियो। कांग्रेस विधानले महामन्त्रीको काम, कर्तव्य र अधिकार तोकेको छ। 

विधानमा महामन्त्रीले केन्द्रीय महाधिवेशन, केन्द्रीय महासमिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति र अन्य केन्द्रीय समितिहरूको निर्णय कार्यान्वयन गर्ने, सभापतिलाई सहयोग पुर्‍याउने, पार्टीको संगठन संरचना, क्रियाशील र प्रभावकारी बनाउने र पार्टीका निकायहरूमा पार्टी सम्बन्धी गतिविधिबारे आवश्यकतानुसार सूचना प्रवाहित गर्ने, पार्टीका निर्णय तथा कार्यक्रमहरू कार्यान्वयन गर्ने, केन्द्रीय महाधिवेशन, केन्द्रीय महासमिति, केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय प्रमाणित गर्ने लगायतका काम तोकिएको छ। तर, विधानले दिएको कार्यभार पूरा नगरी दुई महामन्त्रीहरू मिडिया खपतमा मात्रै केन्द्रीत हुने गरेको गुनासो आउन थालेका छन्।

पार्टीप्रति रहेका असन्तुष्टिलाई सभापति देउवासँग बसेर समाधान निकाल्नुपर्नेमा उनीहरू सार्वजनिक रूपमा एकले अर्कोलाई दोष दोएर कार्यकाल गुजार्ने रणनीतिमा लागेको कांगेसका एक केन्द्रीय सदस्यले जानकारी दिए।

‘सभापतिसँग १३औं महाधिवेशनदेखि नै पार्टीमा शुद्धिकरण ल्याउनुहुन्छ भनेर आशा थिएन। तर, हामीलाई युवा महामन्त्रीहरूमा आशा थियो। चामत्कारिक नेतृत्व भनेर जिताएका थियौं। तर, सामान्य बैठक बोलाउनेसम्मका काम गर्न उहाँहरूले पहल गरेको देखिएन। किनकि उहाँहरू मिडिया खपतका लागि मात्रै बोलिरहनु भएको छ। तर, सभापतिसँग यस्ता विषयमा कुरा राख्नुभएको छैन,’ गगननिकट ती केन्द्रीय सदस्यले थाहाखबरसँग भने। 

नेता गुरू घिमिरेले महामन्त्रीद्वय शर्मा र थापाले निरीहता प्रस्तुत गरेको बताए। ‘कांग्रेसको भविष्य काँधमा थाप्छु भनेर हिँडेका साथीहरू हुनुहुन्छ। सभापतिले भनेपछि महामन्त्रीले बैठक बोलाउने हो। सभापतिलाई घच्घच्याउन पर्ने हो। विधानभित्र गएर दबाब दिनुपर्ने हो। तर, मिडियाबाजी गरिरहनुभएको छ। यसले कसैलाई पनि फाइदा पुयाउँदैन,’ उनले भने। 

नेता प्रधानले महामन्त्रीहरूले पार्टीको बैठक बोलाएर आफ्ना असन्तुष्टि राख्नुपर्ने बताए। उनले विधान बमोजिम बैठक बोलाएर असन्तुष्टि भए समाधान गर्नुपर्नेमा सार्वजनिक रूपमा एक-अर्कालाई गाली गर्दै हिँडेको बताए। 

‘मैले विश्वप्रकाशसँग भेटेर बाहिर जथाभावी बोल्दै नहिँड्नुस् यसले पार्टीको स्तर खस्किन्छ। बरू बैठक बोलाएर असन्तुष्टि जाहेर गर्नुस् भनेको छ। बैठकको माइनुट लेख्ने महामनत्रीले सभापतिविरूद्ध त्यसरी बोल्न पाइँदैन नि!,’उनले भने। 

गगनसँग शेखर असन्तुष्ट 

गगन थापा शेखर कोइराला गुटका नेता हुन्। पार्टीभित्र विरोध गर्नुपरे शेखर र गगन साथमा हुन्थे। तर, पछिल्लो समय गगनले उठाएका असन्तुष्टिप्रति शेखरले साथ दिन छोडेका छन्। गगनले देउवाको कार्यशैलीप्रति निरन्तर प्रश्न उठाइरहँदा नेता कोइराला भने मौन देखिन्छन्। पार्टीभित्र आफ्नो स्थान लिन खोजेपछि शेखरसँग गगन असन्तुष्ट छन्। 

पुस ६ गते भएको कांग्रेस संसदीय दलको नेतामा कोइराला गुटका गगनले उम्मेदवारी दिए। शेखर कोइरालालाई टपेर गगनले देउवाविरूद्ध उम्मेदवारी दर्ता गराए। तर, गुटका ३४ मत पाउन नसक्दा उनी पराजित बन्न पुगे। शेखर–धनराज गुटले भोट नदिएको गगन पक्षको आरोप छ। पार्टी सभापतिको दाबी गरेका थापाले दलको नेतामा उम्मेदवारी दिएको विषयमा शेखरसमेत असन्तुष्ट थिए।

 त्यसपछि पछिल्लो समय कोइराला देउवाविरुद्ध नरम देखिन्छन्। १५औँ महाधिवेशनमा कोइरालाले सभापतिमा दाबी गर्ने देखिएको छ। यसका लागि सभापति देउवालेसमेत ग्रिन सिग्नल दिइसकेको कांग्रेस स्रोत बताउँछ। 

‘गगनले संसदीय दलको नेतामा उम्मेदवारी दिएको कुरा शेखर दाइलाई मन परेको छैन। उहाँ (शेखर) आगामी महाधिवेशनमा सभापतिका लागि चुप बस्नुभएको हो।

गिरिजा कोइरालाले देउवालाई यो ठाउँमा पुर्‍याएकाले देउवाले पनि कोइराला परिवारलाई यो गुन तिर्न सक्नुहुन्छ,’ देउवानिकट एक पदाधिकारीले थाहाखबरसँग भने, ‘देउवाले कृष्ण सिटौला र शेखरमध्ये एकजनाले नेतृत्व लिने बनाइरहनु भएको छ। त्यसकारण गगन थापा आक्रोशित हुनुले देउवासँग शेखरको मिलिभगत छ भन्ने देखाउँछ।’ 

सरकारप्रति असन्तुष्टि

महामन्त्री गगन थापाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारसँग असन्तुष्टि पोखिरहेका छन्। सार्वजनिक कार्यक्रम र सदनमार्फत नै महामन्त्री थापा गठबन्धन र सरकारविरूद्ध अभिव्यक्ति दिइरहन्छन्। 

शनिबार पनि उनले त्यस्तै अभिव्यक्ति दिए। काठमाडौंमा भएका एक कार्यक्रममा उनले ३२ र १० सिटेलाई प्रधानमन्त्री दिइरहनुपर्ने बताउँदै भने, ‘अर्को डेढ वर्ष प्रधानमन्त्री मानेर, थापेर, टाउकोमा राखेर बुई चढाएर कांग्रेस अन्तिमपटक एक डेढ वर्ष प्रधानमन्त्री बन्ने ठाउँमा कांग्रेस किन पुग्यो?' भनेर प्रश्नसमेत गरे। उनले सभापति देउवा पाँचपटक प्रधानमन्त्री भएकोमा समेत असन्तुष्टि जनाए। 

उनले दाग लागेको कांग्रेसको महामन्त्री हुनुभन्दा सफा कांग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा मजा आउने बताउँदै राजीनामा गर्ने चेतावनी दिए। तर, महामन्त्री थापाको धम्कीपूर्ण अभिव्यक्तिप्रति कांग्रेस नेता सन्तुष्ट छैनन्। 

‘हिजो गठबन्धन भत्काउँदा पनि गगनजीले नै सबैभन्दा बढी सभापतिको विरोध गर्नुभयो। अहिले गठबन्धनको सरकार बनाउँदा पनि विरोध छ। महामन्त्रीजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले केन्द्रीय कमिटीबाट निर्णय गराएर सरकारबाट बाहिरिए भयो नि! किन विरोधका लागि विरोध मात्रै गर्नु?,’ देउवानिकट एक नेताले थाहाखबरसँग भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.