‘अस्तित्व संकटमा पर्ने डरले कम्युनिष्ट पार्टी एक हुन्छन्'

|

काठमाडौं : नेपाली राजनीतिमा वामपन्थी एकताको विषयले अहिले फेरि चर्चा पाएको छ। पाँच वर्ष अगाडि एक भएका मुख्य कम्युनिष्ट पार्टीहरू अहिले छिन्नभिन्न रहेको अवस्थामा पुनः एक हुने विषयले चर्चा पाएको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा ब्यूँताउने संकेत गरेका छन्। 

०७४ सालको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा मिलेर गएका एमाले–माअ‍ोवादी केन्द्रबीच ०७५ जेठ ३ मा पार्टी एकता भएको थियो। दुवै दल मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो। नेताहरूबीचको शक्ति बाँडफाँडपछि नेकपा विभाजनको अवस्थामा पुग्यो। तर, पार्टी विभाजनको आत्मसमीक्षा नै नगरी प्रधानमन्त्री प्रचण्ड नेकपा ब्यूँताउने अभियानमा लागेका हुन्। 

उनले समाजवादी मोर्चामार्फत् कम्युनिष्ट एकतालाई सार्थकता दिने प्रयास गरिरहेका छन्। उनले असार ४ गते माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टीलाई समाजवादी मोर्चामा समेटिसकेका छन्। तर, कम्युनिष्ट विचारधारा राख्ने नेकपा एमाले, नेपाल समाजवादी पार्टी, माओवादी क्रान्तिकारीलगायतका दललाई छुटाएका छन्। 

‘माधवजीले र मैले पनि के भनेका छौँ भने फेरि नेकपातिरै फर्किनुपर्छ। फेरि पार्टीलाई एकतावद्ध गर्नुपर्छ भन्ने कुरा भनेका छौँ,’ उनले आइतबारको एक कार्यक्रममा भने। 

उनले तत्कालीन नेकपालाई बचाउन नसकेकोमा दुःखेसो पोख्दै प्रतिक्रियावादीले कम्युनिष्ट एकता भाँडेको आरोप लगाए। एकीकृत भएको कम्युनिष्ट आन्दोलन बच्न नसकेको विषयमा चिन्तन, मनन गरेर विभाजन भएको विषयमा गम्भीर समीक्षा गरेर त्यसबाट शिक्षा लिएर अगाडि जाने जमर्को गर्नुपर्ने बताए। 

‘अहिले कमरेड माधव, मलगायत विप्लव, उपेन्द्रजीले समाजवादी मोर्चा बनाएर वामपन्थीहरुलाई एकतावद्ध बनाउने पहल सुरू गरिसकेका छौं,’ प्रचण्डले भने। 

यद्यपि उनले नेकपा विभाजनमा प्रतिक्रियावदीहरूलाई दोष दिएर पुनः शक्ति सञ्चयमा जुटेको विश्लेषण हुन थालेको छ। विश्लेषकहरूका अनुसार आफ्नो अस्तित्व संकटमा पर्न थालेपछि प्रचण्डले कम्युनिष्ट एकताको विगुल फुकेका हुन्। 

राजनीतिक विश्लेषक डा. डम्बर खतिवडा शक्ति सञ्चयका लागि प्रचण्डले कम्युनिष्ट एकताको बहस निकालेको बताउँछन्। उनले पछिल्लो समय आन्तरिक विवादका कारण कम्युनिष्टहरू संकटमा पर्न थालेपछि पार्टी एकताको विषय निकालिएको बताए। 

‘अस्तित्व संकटमा पर्ने डरले कम्युनिष्ट पार्टी एक हुन्छन्। राष्ट्रिय स्वतन्त्र पार्टी, तराईमा जनमत पार्टीको उदयले नेपालबाटै कम्युनिष्ट अस्तित्व संकटमा फसेकाले प्रचण्डले बेलाबेलामा कम्युनिष्ट एकताको विगुल फुकिरहन्छन्,’ उनले भने। 

कम्युनिष्ट पार्टी मिल्ने सम्भावना कत्तिको देख्नुहुन्छ? भन्ने प्रश्नमा खतिवडाले भने, ‘यिनीहरू मिल्ने सम्भावना छ। तत्कालै एक नभए पनि ०८४ सालको निर्वाचनसम्म कम्युनिष्ट पार्टीहरू एक भइसक्छन्।’ 

यता माअ‍ोवादी केन्द्रले भने संकटमा परेका साना कम्युनिष्ट शक्तिहरूसँग एकता गरेर एमालेलाई अन्तिममा कम्युनिष्ट एकतामा सहभागिता गराउने लक्ष्य लिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तत्काल पार्टी एकता गर्न नसकिने निष्कर्ष निकालेका अध्यक्ष प्रचण्डले सबै कम्युनिष्ट शक्तिलाई मिलाएर एमालेलाई गलाउने रणनीति लिएका छन्। 

माओवादी केन्द्रका नेता माधव सापकोटा तत्काल मिल्न सक्ने कम्युनिष्ट शक्तिलाई एक बनाउने र बाँकी रहेकालाई पछि एकतामा सहभागी गराउने बताए।एमालेसँग तत्काल पार्टी एकता गर्न नसकिने स्वीकार गर्दै उनले आगामी निर्वाचनसम्म एमालेलाई पनि सहभागी गराउने लक्ष्य रहेको बताए। 

‘हामीले तत्काल मिल्न सक्नेबीचमा एकता गर्ने तयारी गरेका हौं। समाजवादी मोर्चामा बाबुरामहरू छुट्नुभएको छ। उहाँहरूलगायतका साना दललाई पहिले एक गराउने त्यसपछि एमालेलाई पनि सहभागी गराउने तयारी छ,’उनले भने। 

नेता सापकोटाले कम्युनिष्ट शक्तिहरू विभाजित हुँदा मुलुक समृद्धिको बाटोमा जानबाट चुकेकाले विगतमा भएका गल्तीहरूलाई समीक्षा र आत्मालोचना गर्दै आगामी दिनमा पार्टी एकता गर्नुपर्ने बताए। 

‘कम्युनिष्ट दल विभाजित हुँदा राजनीतिक अस्थिरता बढी भयो। यसले समृद्धिको बाटोमा असर गर्दछ। विगतमा होमवर्क नगरेर दुर्घटनामा गयौं। त्यसकारण सुरूमा मोर्चा बनाउने र विचार, सिद्धान्त मिल्नेसँग पार्टी एकता गर्ने हाम्रो अभियान हो,’ उनले भने।  

नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष प्रमेश हमाल शीर्ष नेतृत्वले बोलेजस्तो तत्कालै कम्युनिष्ट एकताको सम्भावना नरहेको बताउँछन्। 

‘कम्युनिष्ट एकताका लागि सँधै बहस भइरहेको छ। आवश्यकता पनि छ। तर, अवस्था आइसकेको छैन। त्यसका लागि हामीले समाजवादी मोर्चा गठन गरेका छौं। समाजवादी मोर्चाबाटै कम्युनिष्ट एकताको प्रक्रिया अगाडि बढ्ने हो,’ हमालले भने।

उनले एमालेलाई पनि समाजवादी मोर्चामा सहभागी गराउने विषयमा छलफल भइरहेको बताए।  

एकताको पक्षमा छैन एमाले

प्रतिनिधिसभामा दोस्रो शक्तिमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तत्कालै कम्युनिष्ट पार्टी एकताको पक्षमा छैन। पार्टी विभाजन भएको दुई वर्ष पुगिसकेसँगै नेकपा विभाजनको औचित्य पुष्टि नभएकाले पार्टी एकताको पक्षमा उभिने सम्भावना छैन। 

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङले आफूहरूलाई बाहिर राखेर प्रचण्ड, माधव नेपालले समाजवादी मोर्चा घोषणा गरेकाले कम्युनिष्ट एकताको सम्भावना नै नरहेको बताए। उनले समाजवादी मोर्चा बनाएर प्रचण्डहरूले कम्युनिष्ट पार्टी बनाउने योजना गरेकाले एमाले सहभागी नहुने बताए। 

‘उनीहरूले समाजवादी मोर्चा बनाए। एमाले बाहेकको समाजवादी मोर्चाको के अर्थ छ? समाजवादी मोर्चा बनाएर हामीविरूद्ध मोर्चाबन्दी गरेकाले हामी त्यो मोर्चामा छिर्न जाँदैनौं,’ उनले भने, ‘नेकपा एस र माओवादीका मान्छेहरू एमालेमा प्रवेश गर्ने क्रम बढिरहेको छ। त्यसलाई रोक्न समाजवादी मोर्चा हुँदै कम्युनिष्ट पार्टी एकताको चाल रचिएको हो।’ 

उपमहासचिव गुरूङले प्रचण्ड र माधव नेपालले कम्युनिष्ट एकतालाई ध्यान दिएको भए आफ्नो सरकार ढाल्ने नलाग्ने बताउँदै ०७९ को निर्वाचनमा समेत आफूहरूविरूद्ध मोर्चाबन्दी गरिएको बताए। 

‘प्रचण्ड, माधवहरूले कम्युनिष्ट एकतालाई ध्यान दिएको भए स्थानीय, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा किन कार्यगत एकता नभएको त? वाममोर्चा किन नगरेको ? त्यसकारण कम्युनिष्ट एकता पनि सत्ता टिकाउने खेल मात्रै हो। राजनीतिमा तिकडम गरेर मात्र हुँदै समझदारी पनि आवश्यक पर्छ।’ 

प्रचण्डबाट पटक-पटक धोका

एमालेले प्रचण्डबाट पटक-पटक धोका खाइसकेको छ। ०७४ देखि ०७९ को पाँच वर्षको अवधिमा एमालेले प्रचण्डबाट हरेक मोडमा धोका पाइरहेको छ। ०७४ मंसिरमा भएको निर्वाचन अगाडि एमाले र माओवादी केन्द्र अप्रत्यासित रूपमा एक भए। सरकारमा रहेका प्रचण्डले प्रतिपक्षमा रहेको एमालेसँग मिलेर चुनाव लड्ने प्रस्ताव गरे। त्यसमा ओली पनि सकारात्मक भए।

त्यसपछि दुवै दल पहिलो र तेस्रो शक्तिको रूपमा उदाए। एमाले १२१ सिटसहित पहिलो दल भयो भने माओवादी केन्द्र ५३ सिटसहित तेस्रो स्थानमा रह्यो। सरकारको पहिलो कार्यकाल ओलीले नेतृत्वमा लिए। ०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भयो। त्यसको दुई वर्षसम्म पार्टीमा आन्तरिक खटपटमा चल्यो। तर, ०७७ पुस ५ गते औपचारिक रूपमा पार्टी र सरकारभित्रको विवाद छताछुल्ल भयो। 

पार्टीमा निरन्तर असहयोग पाएका ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरे। नेकपा गठन हुँदा नै सरकार र पार्टीको नेतृत्व आधाआधा कार्यकाल गर्ने सहमति भए पनि अ‍ोलीले दुवैमा कब्जा जमाउन थालेपछि प्रचण्ड र माधव नेपालले असन्तुष्टि पोखिरहेका थिए। 

संसद विघटन गरेपछि नेकपाभित्रका असन्तुष्ट नेताहरू कांग्रेसहित अन्य दलको सहयोगमा सडकदेखि सर्वोच्चसम्म पुगे। ओलीले गरेको संसद विघटन सर्वोच्चले फागुन ११ गते उल्ट्याइदियो। सोही महिनाको फागुन २३ गते पनि नेकपा भंग हुँदै एमाले माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किए। त्यसपछि ओली, प्रचण्ड र माधव नेपालबीच पानी बाराबारको स्थिति बन्यो।

०७९ को निर्वाचनमा प्रचण्ड, माधव कांग्रेसँग मिलेर चुनाव लडे। तर, संसदमा क्रमशः ३२ र १० सिट ल्याए। प्रचण्डले प्रधानमन्त्री पाउन कांग्रेससँग निकै कसरत गर्नुपर्यो। तर, सभापति देउवाले प्रचण्डलाई प्रधानमन्त्री दिन मानेनन्। ०७९ पुस १० गते पुनः प्रचण्ड एमालेको शरणमा पुगे। उनले राष्ट्रपति, उपराष्ट्रपति र सभामुखसँग प्रधानमन्त्री पद साटे।

तर, प्रचण्डले एमालेलाई सभामुख बाहेक राष्ट्रपति र उपराष्ट्रपति दिएनन्। उनले फागुन १२ गते एमालेलाई ‘बायस’ गरेर कांग्रेसलाई सरकारमा भित्र्याए। उनले राष्ट्रपति कांग्रेस र उपराष्ट्रपति जसपालाई दिएर एमालेलाई धोका दिए। त्यसपछि ओली प्रचण्डसँग सन्तुष्ट छैनन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.