|

काठमाडौं : मिठो स्वरसँगै असाध्यै राम्रा शब्दको शिल्पिकला भएका वरिष्ठ गायक एवं रचनाकार जितेन राई  सरल र जति सामान्य देखिनुहुन्छ त्योभन्दा धेरै उहाँको कलाकारिता विशेष र खास छ।

चलचित्र लेखन र निर्माणमा पनि उत्तिकै रुचि राख्ने उहाँले  बनाएको ‘बिनायो’ मौलिक चलचित्रको पंक्तिमा लोकप्रीय छ। सिर्जनाको फूलबारीमा सधैँ जाँगर भरिरहनु हुने जितेन राईसँगको कुराकानीको सम्पादित अंश :

 हामीले थाहा नपाएको कि सक्रियता कम भएको हो अचेल?

दुईटै कुरा हो, कम भएको पनि र केही चैँ थाहा नपाएको होला। जानेको यही गीत संगीतको काम हो त्यो केही भए नि गरिरहेको छु।

अचेल आफले गरेको काम पनि भन्दै हिँड्नुपर्ने भाको हो? कि अलि ओझेल परेको हो त?

ओझेल परेको नै चैं होइन तर पहिला मिडीयामा हाम्रो लागि ठाउँ थिएन। कलाकारले मिडिया खोज्नुपर्ने अवस्था थियो अचेल मिडियाले कलाकार खोज्नुपर्ने अवस्था भको छ।

धेरैले बोलाएका हुन्छन तर जाँगर चल्दैन। सञ्चार धेरै भए, ती के–कस्ता हुन बुझ्नै नसकिने भएका छन्। कसैले भनेको कुरालाई पनि अर्कै लेख्ने,बोल्ने गरेको देख्छु।

 मिडियाले दुःख दिन्छन्?

दुःख नै दिने भनेको होइन तर कस्तो सञ्जाल हो, कस्तो संचार हो थाहा पाउन मुस्किल पर्ने। मिडीया हामीलाई चाहिन्छ नि, मिडीयाको कारणले हामी छौं। मिडीया सहि हुनुपर्‍यो भनेको।

बिनायो र मर्चुङ्गा साथैमा हुने गरेको छ, बाजा मोह कसरी बस्यो?

पहिलाको तुलनामा रैथाने बाजा छेउलागेको जस्तो छ। बाजागाजा हाम्रो सम्पदा हो, परिचय हो। कसरी हुन्छ संरक्षणको काममा हामी आफैं लाग्नु पर्दछ भन्ने भएर हो। अर्को चैं सानैदेखि यिनै बाजासँग खेलेर हुर्केको।

बिनायो र मुर्चुङ्गा हामी किराँतीहरुको आफ्नो परिचय बोकेको बाजा, आफैंले बनाउने र बजाउने पनि भएकाले साथैमा रहोस भन्ने छ। यी बाजा त गहना लगाएको जस्तो राम्रो लाग्दछ। सबैले देखिनेगरी बोकेपछी देख्नेले सोध्नुहुन्छ, बाजाको बारेमा बताउने अवसर पनि मिल्ने। 

बिनायो बाजा छोरीचेलीलाई, साथीभाइलाइ, पाहुनालाइ,नरनाता आफन्तलाई उपहारको रुपमा दिने चलन पनि छ। पुरुषले कोटको खल्तीमा, महिलाले चोलीको तुनामा बाँधेर राख्दा राम्रो पनि देखिन्छ एक किसीम गहनाको रुपमा प्रयोग भएको छ।

बिनायो बाँसको चोयाबाट बनाइन्छ भने, र्मुचुङ्गा फलामबाट बनेको हो। मैले त सिँगारेर राम्रो बनाएको छु। यो हाम्रो आफ्नो चिनारी पनि हो भने शीप पनि यसैमा रहेको छ, सबै हिसावले यी बाजाहरु महत्वपूर्ण रहेका छन्। राम्रो लागेर खल्तीमै भिरेर हिँड्ने गरेको छु।

तपाईंइको जन्म ठाउ कहाँ हो?

पाँचथर जिल्लाको च्याङथापु फलैंचा बेतीनीगंगा भत्रे गाउँ, अहिले याङवरक गाउँपालिका भएको छ। हामीलाई धानको भात खुवाउन सानैमा बाबा–आमाले मधेस झापामा झार्नु भएको रहेछ।

अहिले स्थायी ठेगाना झापा हो। बाल्यकाल पाँचथरमा बित्यो, केहि झापामा,अहिले काठमाण्डौ उपत्यका भित्र ललितपुरमा बस्छु। प्राथमिक शिक्षा पाँचथर, माध्यामीक शिक्षा झापा, उच्च शिक्षा धरान र काठमाण्डौमा भयो। म नेपालको धेरै ठाउँ पुगेको छु, रेडियो नेपालमा हुँदा बिभिन्न कामले नेपालको धेरैवटा गाउँठाउँ बस्ने मौका पाऐँ।

 जन्ममिति कहिले हो, उमेर कति भो ?

६६ वर्षको भएँ। मेरा जन्ममिति २०१४ साल वैशाख १ गते नयाँ वर्षको दिनमा हो।

उमेरभन्दा तन्नेरी लाग्ने, यो रहस्य चैं के हो? सृजनाको कामले जवानी बचाँइ रहँदो रहेछ क्यारे !

म त्यो खालको ज्यादै श्रृजनाको कर्ममा लाग्ने मान्छे पनि होइन तर आफ्नो जीवनशैलीलाई सधैँ सादा राख्ने गरेको छु। साधारण नेपाली ढिँडो आँटोपीठो खाने गरेको छु। चुरोट, बिँडी, जाँडरक्सी खाने गरेको छुइन, सामान्य योग,ध्यान लगायत गर्छु। सामान्य जीवन छ, यो सबै प्रकृतिको देन होला।

जागिर चैं कहाँकहाँ खानुभयो?

रेडियो नेपालमा म्यूजीक डाइरेक्टर भएर करारमा १०÷१२ वर्ष रहेँ। उमेरकै कारणले आफैंले छोडेको हुँ। रेडियोमा रहँदा धेरै अग्रज, कलाकार,  साहित्यकारको सँगत  र उहाँहरुको निर्देशनमा काम गर्ने मौका पाएको छु। त्यो मलाइ खुबै गर्व लाग्ने कुरा हो।

तपाईंका रचना,संकलन र स्वरमा कति गीत छन्?

राष्ट्रिय गीत, बालगीत, मौलिक लोकगीत, भाषाभाषीको गीत, वातावरणको, मानवअधिकारको लगायत धेरै बिधामा सेलो,टप्पा, हाक्पारे,कौरा,रोइला,सोरठी,मारुनी जस्ता धेरै गीत गाएको छु। रेडियो नेपाल र रत्न रेकर्डिङ संस्थानमा रेकर्ड भएका थिए तर गीत कति भए भन्ने मलाई एकिन छैन।

सको प्रेरणाले तपा कलाकार बन्नुभएको?

मेरो बाबा ऊ बेलामा ब्रिटीस–भारतमै रहँदा त्याहाँको पल्टने हुनुहुँदो रहेछ। बाबाले लाहुरबाट आउँदा एउटा हार्मोनीयम बाजा ल्याउनु भएको थियो। त्यो नै मैले देखेको पहिलो आधुनिक बाजा थियो।

हाम्रो रैथाने बाजाहरु मादल, मुरली, बाँसुरी, पालुवा, ढोल, च्याब्रुङ्ग, यलम्बरलगायत घरगाउँमा आयोजना हुने चाडबाड,  गीत संगीतकै प्रभावले गीत गाउन जानेको जस्तो लागेको छ।

तपाईंव्‍यावसायिक कलाकार हो कि होइन?

‘खानेचरी आशीषले बाँच्दैन’ भनेर भन्ने गरीएको छ। कलाकारको पनि आफ्नो घरब्यावहार हुन्छ,जीवन धान्नको लागि पैसा चाहिन्छ। म रहरले कलाकार भएको। मेरो जागीर पनि थियो त्यो कारणले गर्दा मैले जीवन धान्नका लागि कलाकै भर पर्नुपर्ने बाध्यता थिएन।

कलाकारको कामको मूल्यलाई पेशा ब्यावसाय भन्ने कि नभन्ने? भने पनि म ब्यावसायीक हुँदैभइन नि। मैले यो कर्मको क्षेत्रलाई कहिले पनि पैशाको हिसावमा राखेको छैन।

सफल भएको झै लाग्छ कि लाग्दैन?

सफल भएको जस्तो लाग्छ। तपाईंले बोलाउनु भएको पनि सफलता नै त हो। सबैले सम्झीनु भएको छ, माया पाएको छु, यो पनि सफलता नै हो। सफल र खुसी हुनाले नै यो कामको निरन्तरता भएको हो।

पूर्वेली गीत कस्तो गीत हो? अचेल ती गीतहरु आउनै छोडे, गाउनै छोडे, पूर्वका कलाकार अरु नै किसीमको गीतमा लागे भन्छन्।

पहिला आञ्चलीकता थियो,ठाउँ–ठाउँका गीतहरु आउँथे अव, त्यो किसीमले भेगलाइ नै छुट्याउनु पर्छ जस्तो लाग्दैन।

पूर्वका वासना आउने गीतहरु गाउन कमी भएको चै पक्कै हो। हामी उत्ताका कलाकारले स्वीकार्नु पर्दछ। मौलिक गीत भनेको हाम्रो परिचय हो कहिले पनि बिर्सनु हुदैन।

आफ्नोपनलाई बिर्सनु भनेको आमालाई बिर्सनु जस्तै हो। हामी पूर्वेलीले मात्र होइन सबैले आफ्ना–आफ्ना गाउँठाउँका मौलिक गीतहरु संकलन गरेर, स्वर भरेर राख्नु पर्दछ। हाम्रो  जीवनचोलासँगै त्यो सम्पत्ति हराएर नजाओस्।

बिनायो फिल्म पनि बनाउनु भएको थियो त्यो चैं कस्तो भयो।

प्रेमकथामा बनाएको फिल्म हो, म आफैंले लेखेको, आफ्नै निर्माण हो। मौलिक कथा पनि हो,सफल नै भयो। त्यो फिल्मले मलाइ देशबिदेश घुमायो। अहिले युट्युबमा छ, हेर्न सक्नुहुन्छ।

आफले गाएका गीतमध्ये कुनकुन गीतको धेर याद आउ?

‘पूर्वधरान जन्म त गाउँमै हो कहाँ हो मरन’ ‘अरुणै तरेँ तमोरै तरेँ’ ‘भञ्ज्याङपारी यारी खोला’ ‘उड्दै आयो हवाईजहाज’ ‘मालिङ्गो काटी बिनायो बाजा’ ‘सलल पानी बगेर जानी’ ‘गाई जौ बारीमा’.......सम्झिन्छु लौ ! कति त मैले भुल्न पो लागेछु !!!   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.