|

काठमाडौं : ललिता निवास जग्गा हिनामिना प्रकरणमा बहालवाला सचिव पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई आज (आइतबार) पक्राउ गरेको हो।

यसअघि समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुवप्रसाद अर्याललाई सिआइबीले आजै काठमाडौंबाट नियन्त्रणमा लिएको थियो। राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा केहीबेर अघि त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस प्रकरणमा मुछिएका उनीविरुद्ध प्रहरीले यसअघि नै पक्राउ पुर्जी लिइसकेको थियो।

त्यसअघि आजै पक्राउ परेका घिमिरेले समरजंग कम्पनीका प्रमुखको रुपमा रहेको बेलामा सरकारी जग्गा दाबी गर्नुपर्ने समयमा दाबी नगरेका कारण हिनामिनामा उनको पनि संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। 

अर्याल भने नापी अधिकृतको रुपमा जग्गा नापजाँचमा संलग्न रहेको पाइएको छ। यसप्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यापारी मिनबहादुर गुरुङलगायत ९ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरी अनुसन्धान गरिररहेको छ।

यो प्रकरणमा सार्वजनिक पदधारण गरेका झण्डै डेढ सयभन्दा बढी पदाधिकारी र कर्मचारीहरु जोडिएका छन्। आजसम्ममा प्रहरीले यस प्रकरणमा मुछिएका १२ जनालाई समातेको छ भने ३ जना अदालतको स्टे अर्डरका कारण छुटेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.