|

काठमाडौं : गत पुस ७ गते नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा संसदीय दलको नेतामा भिडे। तर, सभापति शेरबहादुर देउवासँग दोब्बरभन्दा बढी मतले पराजित भए। ८८ मध्ये देउवाले ६४ र थापाले २५ मत पाएका थिए। उनले शेखर कोइराला समूहका ३१ सांसदको समेत पूरा मत पाउन सकेनन्। 

उनै थापा पुनः प्रधानमन्त्रीको ‘रेस’मा लागेका छन्। उनी संसदीय दलको नेता परिवर्तन गरेर प्रधानमन्त्रीको दौडमा लागेका हुन्। थापाले नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बने आफू प्रधानमन्त्री बन्ने गरी संसदीय दलमा दोस्रो पटक दाबी गर्न लागेका हुन्। 

शनिबार पार्टीको बुढानीलकण्ठ नगर समितिको अधिवेशन उद्घाटनमा उनले भनेका थिए– म त ‘क्लियर’ छु । विधिभित्र रहेर यो कुरा गरेको छु । बदल्नुपर्छ भनेर अस्ति संसदीय दलको नेतामा कोसिस गरेको हुँ । सबै साथीहरूको मन र चित्त बुझाउन सकिनँ तर म थाकेको छैन, हारेको छैन । भूतपूर्व प्रधानमन्त्री भएको व्यक्ति कांग्रेसले पछि प्रधानमन्त्री पाएको बेलामा बन्न हुँदैन। त्यसैले संसदीय दलको नेता बदल्ने कुरामा म फेरि लाग्छु । सके आफू बन्छु। नसके अर्कोलाई बनाउँछु।

महामन्त्री थापाले चाहेजस्तो पार्टीमा उनलाई साथ दिने नेताहरू कम नै छन्। संसदीय दलको नेतामा उम्मेदवार बन्दा नै थापाको पक्षमा महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र अर्जुननरसिंह केसी सहित ६\७ जना सांसद मात्रै रहेको बुझिएको छ। पछिल्लो समय शेखर कोइरालाले पनि साथ दिने अवस्था छैन। किनकी कोइराला पनि सभापति शेरबहादुर देउवा निकट रहँदै आएका छन्। 

‘पार्टीबाट साथ नपाएको अवस्थामा महामन्त्री कसरी नेतृत्वमा पुग्नुहुन्छ?’, भन्ने प्रश्नमा थापा पक्षका सांसद प्रदीप पौडेल भन्छन्, ‘सजिलै कहाँ नेतृत्व जान्छ? उहाँको प्रयास मात्रै हो। हामी कांग्रेसलाई ‘रिफर्म’ गर्न खोजेको हो। विपी कोइरालाका अवधारणा अनुरूप कांग्रेसलाई अपडेट गर्न सक्नुपर्छ। सुशासनको पक्षमा आक्रमक आउनुपर्छ। पार्टीलाई सबै पक्षबाट परिवर्तन गर्न नेतृत्व परिवर्तनका लागि हाम्रो प्रयास जारी रहन्छ।’ 

महामन्त्री थापाले विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गरेर संसदीय दलको नेतामा दाबी गर्ने पौडेलको भनाइ छ। 

‘संसदीय दलको नेता हुन्छु भन्नु नै पार्टी नेतृत्व परिवर्तन गर्न खोजिएको भन्ने अर्थ लाग्छ। त्यसकारण नेतृत्व परिवर्तनका लागि विशेष महाधिवेशन बोलाउने तयारी गरेका छौँ,’ उनले भने। 

संगठन विस्तारमा बेवास्ता
कुनै पनि पार्टीको महामन्त्री सभापति, मतदाता र पार्टीको नीतिप्रति जिम्मेवार बन्छ। सभापतिलाई विश्वासमा लिएर महामन्त्रीले संगठन विस्तारमा ध्यान दिने परम्परा हुन्छ। तर, नेपाली कांग्रेसका दुईमध्ये एक महामन्त्री गगन थापा सभापति देउवाको कटु आलोचक मानिन्छन्। 

सार्वजनिक कार्यक्रमहरूमै सभापति देउवामाथि आक्रामक रूपमा प्रस्तुत हुँदै आइरहेका महामन्त्री थापालाई संगठन सुदृढीकरणमा ध्यान नदिएको आरोप लाग्ने गरेको छ। कांग्रेस प्रचारप्रसार विभागका प्रमुख मीनबहादुर विश्वकर्मा गगन थापाका गतिविधि महामन्त्री पदभन्दा बाहिर रहेको दाबी गर्छन्। 

‘पार्टीको महामन्त्री सभापतिपछि दोस्रो कार्यकारी पद हो। सभापति र महामन्त्रीको सल्लह बमोजिम पार्टी सञ्चालन हुने गर्दछ। तर, उहाँका गतिविधि महामन्त्री पदलाई सुहाउँदो छैनन्,’ उनले भने। 

विश्वकर्माले पार्टीमा युवाको नाममा नेतृत्व परिवर्तनको विषय स्वीकार नहुने बताए। उनले कांग्रेसमा योगेश गौचनदेखि अर्जुनरसिंह केसीसम्म सांसद रहेको बताउँदै नेतृत्व हाँक्न ‘फण्डा’ भन्दा एजेण्डा चाहिने बताए। 

‘राजनीति गर्न जसले समसायमिक एजेण्डा बोक्न सक्छ उसले गर्ने हो। राष्ट्रिय हित, जनताका विषयमा आवाज उठाउन, संगठन विस्तार र सुद्दृढीकरणमा ध्यान नदिने अनि गुटगत राजनीति गरेर कही पनि पुगिँदैन,’ उनले भने। 

पदाधिकारी तहमा रहेका महामन्त्रीले संगठन विस्तारमा ध्यान नदिएको आरोप लाग्ने गरेको छ नि! भन्ने प्रश्नमा थापा निकट नेता पौडेलले भने, ‘महामन्त्रीले आफ्नो भूमिका खेलेको नखेलेको विषय उहाँहरूको पछिल्ला प्रयासलाई हेर्न सकिन्छ। पार्टी नेतृत्वले एकलौटी गरेको लगायतका विषायमा महामन्त्रीले आवाज उठाइरहनु भएको छ।’  

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा पनि नेतृत्व परिवर्तन तत्कालै सम्भव नभएको बताउँछन्। 

‘तत्कालै नेतृत्व परिवर्तन गर्न सम्भव छैन। केन्द्रीय कमिटीको बैठकमा पनि यो कुरा उठाउँछु। इगोको राजनीतिले कसैको फाइदा छैन। महामन्त्रीले पनि अहिले उग्र भएर फाइदा छैन। गाली गरेर पार्टी बन्दैन। महामन्त्री भन्दा सभापति ठूलो हो। त्यसैले नेतृत्वले पनि पार्टी बनाउन ध्यान दिनुपर्छ,’ उनी भन्छन्। 

कांग्रेसका सांसद राजन केसी पार्टीले युवा नेतृत्वको आवश्यकता महसुस गरेको दाबी गर्छन्। अन्य पार्टीमा पनि युवा नेतृत्व आएकाले कांग्रेसले पनि आफूलाई सुदृढीकरण गरेर लैजान युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने उनको भनाइ छ। 

‘महामन्त्रीको भनाइ समय सान्दर्भिक नै छ। किनभने पार्टीलाई समय अनुसार सुदृढ गर्नयुवा नेतृत्व आउनै पर्छ। अन्य पार्टीहरूमा पनि युवा नेतृत्वको बाहुल्य रहेकाले कांग्रेसले पनि ढिला नगरी युवाको काँधमा पार्टीको भविष्य सुम्पनु उपयुक्त हुन्छ,’ सांसद केसीले भने। 

देउवा क्याम्पमा शेखर, गगनको छटपटी 
कांग्रेसभित्र दुई खेमा छ– संस्थापन र इतर पक्ष। संसथापन पक्षको नेतृत्व स्वयं देउवाले गरेका छन् भने इतर पक्षको नेतृत्व डा. शेखर कोइरालाले गरेका छन्। गगन थापा कोइराला ‘क्याम्प’मा छन्। तर, पनि गुटमा कोइराला भन्दा गगन हावी हुन थालेका छन्। पार्टीमा देउवाविरूद्ध स्वयं शेखर पनि पटकपटक अभिव्यक्तिहरू दिइरहन्थे।

उनले पार्टीमा भिजन भएको नेतृत्व आवश्यक भएको भन्दै देउवाको बर्हिगमन हुनुपर्ने आवाज उठाउँथे। तर, पछिल्लो समय नेता कोइराला देउवाविरूद्ध मौन छन्। नेतृत्वको विषयमा सार्वजनिक कार्यक्रममा मौन रहने शेखर देउवासँग मिलेको चर्चा हुन थालेको छ। १४ औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित भएका कोइरालालाई १५ औं महाधिवेशनमा आश देखाइएको छ। सभापति देउवाले आफू १५ औँ महाधिवेशनमा नेतृत्वमा दाबी नगर्ने र शेखरलाई नै छोडिदिने वचन दिएको कांग्रेस स्रोत बताउँछ। 

‘मेरो यो अन्तिम कार्यकाल हो। अब तपाईँको पालो हो। बेकारमा किन मेरो विरोध गर्नुहुन्छ। मिलेर जाऊँ,’ देउवाले कोइरालासमक्ष बोलेको कुरा उद्धृत गर्दै एक नेताले भने। हुन पनि हो देउवापछि कांग्रेसमा नेतृत्व सम्हाल्ने क्षमता भएको नेताका रूपमा कोइरालालाई नै हेर्ने गरिन्छ। उमेर र परिपक्वताको हिसाबले पनि कोइराला सभापतिका लागि उपयुक्त पात्र भएको देउवाको निष्कर्ष छ। 

गगनसँग नेता कोइराला पनि सन्तुष्ट हुन छाडेका छन्। पार्टीभित्र दुई दुई महामन्त्री रहेर पनि सन्तोषजनक काम गर्न नसकेको भन्दै उनले असन्तुष्टि जनाइरहेको कोइराला निकट एक नेताले जानकारी दिए। 

‘हामीसँग उहाँहरू(महामन्त्री)सँग केही आश थियो। तर, संगठन विस्तार, विभागलाई पूर्णता दिने काममा ध्यान दिनु भएको छैन। उहाँहरूको ध्यान संगठनमा भन्दा पनि नेतृत्वमा देखिएको छ। यसबाट स्वयं शेखर दा पनि सन्तुष्ट हुनुहुन्न,’ कोइराला निकट ती नेताले भने। 

१५ औँ महाधिवेशनमा सभापति पाउने आश्वासनका कारण शेखरले गुटमा चासो देखाउन छोडेको संस्थापन पक्षका अर्का नेता बताउँछन्। पछिल्लो समय नेता शेखर देउवासँग नजिक बन्न थालेपछि गगनमा छटपटी देखिएको उनको बुझाइ छ। 

‘सभापतिज्यूले अबको सभापति तपाईँ नै भनिसकेपछि उहाँ (शेखर कोइराला) ले पनि धेरै विरोध गर्न छोड्नु भएको छ। यसको प्रत्यक्ष असर गगन थापालाई परेको देखिन्छ। उनका पछिल्ला अभिव्यक्ति पनि सोही प्रकृतिका छन्,’ ती नेताले भने। 

उनले युवा भनिएका महामन्त्रीद्वयलाई पार्टी बनाउन आग्रह गरिरहेका छन्। केही समय अगाडि ललितपुरमा भएको एक कार्यक्रममा सभापति देउवाले महामन्त्री थापालाई लक्षित गरी विरोध मात्र गरेर पार्टी नबन्ने बताएका थिए। 

उनले भनेका थिए, ‘गाली गरेर केही हुनेवाला छैन। काम गर्नुस् न पार्टी ठूलो बनाउनुस्। बलियो बनाउनुस् । विरोध गरेर पार्टी बन्नेवाला छैन, पार्टी बनाउनलाई जनताको काँधमा काँध र जनसम्पर्क नै हो । जनतामा जानुपर्छ । जनतामा जाने हो । गाली गरेर कहाँ पार्टी बन्छ । लडाइँ गर्ने हो ? अप्ठ्यारोमा गयो भने के गर्ने। अहिले पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठूलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन । एक जनालाई गाली गरेर पार्टी बलियो हुँदैन।’

देउवाले भनेजस्तै महामन्त्री थापाले संगठन निर्माणमा सहयोग नगरेको संस्थापन पक्षको आरोप छ। महामन्त्रीले पदीय मर्यादा भुलेर गुट, उपगुट बनाउन ध्यान केन्द्रित गरेको आरोप देउवा पक्षका नेताहरू लगाउँछन्।

भद्रगोल संगठन
महाधिवेशन भएको डेढ वर्ष पूरा भए पनि नेपाली कांग्रेसका संगठन र विभागहरूले पूर्णता पाउन सकेका छैनन्। ०७८ मंसिरमा पार्टीको १४ औं महाधिवेशन सम्पन्न भए पनि हालसम्म विभाग, केन्द्रीय कमिटी, केन्द्रीय समिति बैठक, नीति अधिवेशन, भ्रातृ संस्थाको पूर्णतामा ढिलाइ भएको हो।

यस्तै, कांग्रेसमा पदाधिकारी, कार्यसम्पादन समिति र संसदीय बोर्डसमेत अपूर्ण छ। १४ सदस्यीय पदाधिकारीमा कोषाध्यक्ष मनोनीत गर्नै बाँकी छ भने १६८ सदस्यीय केन्द्रीय समितिमा १५६ जना सदस्य मात्र छन्।

सभापतिले १२ जना केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ। पार्टीको विधानअनुसार ४६ सदस्यीय कार्यसम्पादन समिति हुनुपर्नेमा अहिले ३६ सदस्यमा सीमित छ। ३१ सदस्यीय संसदीय बोर्डमा २५ सदस्य पदाधिकारी मात्र छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.