|

काठमाडौं : नेकपा माओवादी केन्द्र शान्ति प्रक्रियामा आएपछि निरन्तर सरकारमा सहभागी हुँदै आइरहेको छ। ०६५ देखि ८० सम्मको १५ वर्षको अवधिमा माओवादी एकपटक पनि सरकार बाहिर बस्नु परेको छैन।

 ०५२ देखि ०६२ सम्म भएको १० वर्षको जनयुद्धपछि माओवादी कुनै न कुनै रूपमा सरकारमा सहभागी छ। पटकपटक सरकारमा रहे पनि माओवादीको संगठन भने धुजाधुजा भएको छ। 

पहिलो संविधानसभासम्म माओवादीमा प्रभावशाली नेताहरूको लर्को थियो। १० वर्ष जनयुद्ध लडेका नेताहरू मूल पार्टी छोडेर हिँडेपछि अहिले प्रचण्ड एक्लिएका छन्। उनीसँगैका साथीहरू डा. बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द, रामबहादुर थापा बादलसहितका नेताहरूले मूल पार्टी नै छोडेर गएका छन्।

बाबुराम, वैद्य र विप्लवले आफ्नै नेतृत्वमा पार्टी सञ्चालन गरिरहेका छन् तर उनीहरूले चलाएको पार्टी ‘कोमा’मा छ। ०६५ सालमा पहिलो पार्टीको रूपमा प्रतिनिधिसभामा उदाएको माओवादी पछिल्लो चरणमा सानो समूहमा परिणत भएको छ। १० वर्षे जनयुद्धदेखि हालसम्म प्रचण्डले सञ्चालन गरेको पार्टीमा दोस्रो तहका नेताहरूले साथ छोडेसँगै माओवादी थप कमजोर हुन थालेको हो।

माओवादी यतिबेला प्रतिनिधिसभामा ३२ सिटमा छ। माओवादी कमजोर भइरहेका बेला जनयुद्धको विषय झिकेर थप आक्रमण हुन थालेपछि पूर्वमाओवादीहरू एक कित्तामा उभिने तयारीमा छन्। विगतमा छिन्नभिन्न भएका नेताहरूले जनयुद्धको विषय बाहिरिएसँगै पुनः एकजुट हुनुपर्ने आवश्यकता महसुस गर्न थालेका छन्। 

प्रचण्ड र दोस्रो तहका नेताको टसल

पछिल्लो समय अध्यक्ष प्रचण्ड र दोस्रो तहका नेताबीचको टसल सतहमा आउन सुरू भएको छ। उक्त विवादको बृहत् रूप केही दिनअगाडि कीर्तिपुरमा भएको एक कार्यक्रममा देखा पर्‍यो। प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सरकारले भ्रष्टाचारविरोधी कदम चल्दासमेत आफ्नै पार्टीबाट सहयोग नपाएको गुनासो गरे। 

असार २० गते त्रिवि हल कीर्तिपुर पुगेर क्रान्तिकारी स्ववियु काउन्सिलको तेस्रो राष्ट्रिय भेला उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले दोस्रो तहका नेताहरूले आफूलाई सहयोग नगरेकोमा आलोचना गरे। उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतले आफूलाई सहयोग नगरेकोमा प्रचण्डको आक्रोश थियो। सरकारले राम्रो काम गरेकाले पार्टी बाहिरका नेताहरूले समेत बधाई दिइरहेको तर आफ्नै पार्टीबाट धन्यवाद समेत नपाएको गुनासो पोखे।

प्रचण्डले भनेका छन्, ‘हाम्रै रैथानेहरूले चाहिँ धन्यवाद र साथ दिन बाँकी छ। उहाँहरूको खै के नमिलेको हो, के चित्त नबुझेको हो। के गरिदिनुपर्ने हो।’

आफूलाई अध्यक्षले निरन्तर प्रहार गरेपछि उपमहासचिवहरू पुन र शर्मा बिहीबार कीर्तिपुरको कार्यक्रममा पुगेर खण्डन गरे। 

प्रचण्डलाई काउण्टर दिँदै पुन र शर्माले एउटै मञ्चबाट सहयोग नगरेको विषयको खण्डन गरे। पुनले नेत्रविक्रम चन्दतर्फ संकेत गर्दै हिजो अध्यक्षलाई नै बम प्रहार गर्नेले सरकारको कामलाई धन्यवाद भनेकोमा व्यंग्य गरे। 

उनले भनेका छन्, ‘हिजो नेतृत्वलाई बम हान्दै हिँड्नेहरूले सरकारको कामलाई धन्यवाद भनेछन्, हाम्रो नेतृत्व पनि खुसी भयो रे। हामी भित्रै बसेर नेतृत्वलाई बचाउ गर्नेहरूले धन्यवाद भन्न सकिएनछ।’

अध्यक्षको असन्तुष्टितर्फ संकेत गर्दै पुनले जनार्दनलाई नै महासचिव बन्न आग्रह गरे। उनले आफ्नो स्वास्थ्य अवस्था कमजोर रहेकाले महासचिव भएर पार्टी चलाउन आग्रह गरे। यसअघि पुन र शर्माको टकरावले प्रचण्डले देव गुरुङलाई महासचिव बनाएका थिए। 

जनार्दनले पनि प्रचण्डको असन्तुष्टिमाथि झन असन्तुष्टि पोखे। उनले ३२ सिट भए पनि प्रधानमन्त्री, सातै प्रदेशका सरकारमा कुनै न कुनै रूपले सहभागिता रहेको बताउँदै आफ्नैको सहयोग नपाएको विषयमा गुनासो पोखे। 

प्रचण्डलाई मञ्चबाटै जवाफ दिँदै शर्माले भनेका छन्, ‘साथ छ, शुभकामना छ, सबै कुरा त छ। आजसम्म सबैखाले उतारचढाव बेहोर्दै आयौं, जस-अपजस जेमा पनि नेतृत्वको प्रतिरक्षा गर्दै आयौं। कहाँनेर बिग्रियो त कुरो? भन्दिनुपर्‍यो नि! रैथानेले सघाएनन् भनेर पुग्छ र ?’

महासचिव देव गुरुङ मल्टी पार्टी सिस्टममा पार्टी कमजोर बन्नु सामान्य प्रक्रिया भएको बताउँछन्। विभाजनवादको असर व्यक्ति र दलमा पनि पर्ने बताउँदै उनले वैचारिक रूपमा नेताहरूबीच मनमुटाव हुनु सामान्य भएको बताए। 

‘नेताहरूबीच असन्तुष्टि बढ्नु सापेक्ष कुरा हो। मल्टिपार्टी विस्तार भएको अवस्थामा विभिन्न विकेन्द्रीकरण देखिन्छ। पार्टी मौलाउने समाजवाद र पूँजीवादमा हो। विखण्डनवादमा पुराना पार्टी संकटमा पर्नु र नयाँ पार्टी उदाउनु सामान्य विषय हो। विभाजनवादले सबैको विभाजन गराउनेछ। त्यसको असर व्यक्ति र दलमा पनि पर्छ। वैचारिक रूपले एकअर्कामा असर परिरहन्छ नि!,’ महासचिव गुरुङले थाहाखबरसँग भने, ‘ पार्टी एकता भयो भने विप्लवलाई पनि ल्याउनु सामान्य कुरा भयो। यसमा विवाद जरुरी छैन।’

माओवादी केन्द्रका सचिव गणेश साह पार्टी विधि, पद्धति अनुसार नचलेको स्वीकार गर्छन्। उनले पार्टीका पदाधिकारीहरू चयन गर्दा प्रेस रिलिज गरेर जानकारी दिएको भन्दै संगठन एकलौटी ढंगले चलिरहेको आरोप लगाए। 

‘पार्टीभित्र पदको महत्त्वाकांक्षी धेरै भए। तर, व्यवस्थापन भएन। उपाध्यक्ष, महासचिव नियुक्तिमा पनि एकलौटी गरियो। पार्टीका पद केन्द्रीय कमिटी, स्थायी कमिटी नियुक्तिमा विधि पद्धति अपनाइएको छैन। प्रचण्डजीले जे चाह्यो त्यही हुन्छ। उहाँले आफ्नो स्वाद अनुसारको पार्टी बनाउन चाहनुभएको छ,’ उनले भने।

 सचिव साहले पार्टीको संगठन कमजोर रहेको बताउँदै सत्ताकेन्द्रित राजनीतिले जनतामा जान नसकिएको बताए। 

‘माओवादीको संगठन कमजोर छ। पहिलेको अवस्थामा फर्काउन पुराना माओवादीहरूसँग पार्टी एकता गर्ने तयारी छ। संसदीय व्यवस्थामा लागेपछि पुरानै अवस्थामा फर्काउनु फलामको चिउरा चपाउनु सरह हो,’ उनले थाहाखबरसँग भने, ‘अरू पार्टीलाई ल्याएर पुरानो अवस्थामा फर्काउने भनिएको होला। त्यसका लागि मोर्चा पनि गठन गरिएको छ। यसले कतिको सफलता दिन सक्छ अझै हेर्न बाँकी छ।’ 

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकता भए महासचिव दिने भएपछि दोस्रो तहका नेताहरूमा छटपटी सुरु भएको माओवादी केन्द्र एक नेता बताउँछन्।

‘विप्लवलाई महासचिव दिने भएपछि केही साथीहरूमा छटपटी देखिनु स्वाभाविक हो। आफूले पाउन लागेको पद अर्को व्यक्तिलाई दिने भएपछि असन्तुष्टि बढ्नु सामान्य विषय हो,’ ती नेताले थाहाखबरसँग भने, ‘पार्टी, क्रान्ति अगाडि बढाउन विभाजित नेताहरूलाई एउटै घरमा ल्याउनुपर्छ तर उहाँहरूमा भरसक विप्लवलाई ल्याउनु हुँदैन। ल्याइहाले पनि महासचिव चाहिँ दिन हुँदैन भन्ने धारणा छ। त्यो गलत हो।’ 

टुटफुटसँगै माओवादीको ओरालो यात्रा 

नेकपा माओवादी केन्द्र शान्तिपूर्ण राजनीतिमा आएपछि पहिलो संविधानसभा निर्वाचनमा देशको पहिलो पार्टीको रूपमा उदायो। उक्त निर्वाचनमा प्रतिनिधिसभामा ६०१ मध्ये २२९ सिट सुरक्षित गरे पनि त्यसपछि माओवादी निरन्तर ओरालो यात्रामा छ। 

मार्क्सवाद, लेनिनवाद, माओवादलाई आफ्नो मुख्य नीतिको रूपमा अँगालेको नेकपा माओवादी केन्द्रले प्रचण्डपथका रूपमा केही समय अगाडि बढाए पनि पछिल्लो समयमा पार्टी आफ्ना पथबाट विचलित भएको आरोप लाग्न थालेको छ। १० वर्षे जनयुद्ध सुरू गर्नु अगाडि नै माओवादमा टुटफुटको शृङ्खला सुरू भएको पाइन्छ।

जनयुद्ध जारी रहुञ्जेलसम्म यो क्रम चलिरहे पनि २०६५ पछि झनै बढेर गयो। प्रचण्डका ‘एसम्यान’ हरूले नै उनलाई छोडेर हिँडे। ०६९ सालमा एमाओवादीमा ठूलो विभाजन भयो । मोहन वैद्य, रामबहादुर थापा बादललगायत नेताले पार्टी विभाजन गरी नेकपा–माओवादी गठन गरे।

वैद्यको पार्टीमा पनि नेत्रविक्रम चन्दले फेरि पार्टी विभाजन गराए। उनी २०७० मंसिरमा पार्टीबाट अलग भए। वैद्यको समूहबाट २०७३ मा रामबहादुर थापा, मणि थापाको अलग्गै क्रान्तिकारी कम्युनिष्ट पार्टी, मातृकाको नेकपा (माओवादी) लगायत छरिएका माओवादीबीच पुनः २०७३ मा पार्टी एकता भयो। पार्टीको नाम नेकपा (माओवादी केन्द्र)छ।

बाबुराम भट्टराई, नेत्रविक्रम चन्दलगायतका नेताहरूले अलग्गै पार्टी बनाएपछि प्रचण्डको निकट मानिन्थे रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र लेखराज भट्ट। तर, उनीहरूले पनि साथ छोडेपछि प्रचण्डमा राजनीतिक विचलन आउन थालेको टिप्पणी हुन थालेको छ।

२०७४ असोज १९ गते एमालेसँग मिलेर बनेका नेपाल कम्युनिष्ट पार्टीगत वर्ष फागुनमा सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युताएपछि बादल र भट्टसहितका नेताहरूले एमाले रोजेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.