|

सल्यान : प्रदेश राजधानी जोड्ने प्रमुख सडक कालोपत्रे गरेको एक हप्ता नपुग्दै उप्किएको छ।

श्रीनगर खलंगा, कुपिण्डे बालुवासंग्रही सडकखण्डको बनगाड कुपिण्डे नगरपालिका–९ ज्यामिरेदेखि बाबियाचौरसम्मको १ किलोमिटर ५ मिटर सडक कालोपत्रे गरेको एक हप्ता नपुग्दै उप्किएको हो।

मध्य असारमा वर्षाको बीचमा कालोपत्रे गर्दा गुणस्तरहीन हुँदा एक हप्ता नपुग्दै कालोपत्रे उप्किएको स्थानीयको भनाइ छ।

करिब १ हजार ५ सय मिटर सडक कालोपत्रे गर्न भनेर सडक डिभिजन कार्यालय दाङ र निर्माण कम्पनी प्राकृतिक निशान जेभीले भ्याट सहित १ करोड ४२ लाखमा २०७७ असार ७ गते सम्झौता गरेका थिए। २०७७ पुस ६ गतेभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि पटक पटक म्याद थप भएपछि अन्तिम पठक २०७८ चैत ३० गतेसम्म म्याद थप गरिएको थियो।

अन्तिम पटक म्याद थप हुँदा पनि निर्माण कम्पनीले काम सम्पन्न नगरेपछि २०८० असार ११ गते ठेक्का रद्द गरिएको सडक डिभिजन कार्यालयले दावी गरेको छ।

निर्माण कम्पनीलाई निर्धारित समयभित्रै काम सम्पन्न गर्न पटक पटक आग्रह गर्दा पनि काम नभएपछि सम्झौताको म्याद सकिएकाले ठेक्का रद्द गरिएको सडक डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए।

उनले भने, ‘हामीलाई असार ११ गतेपछि के काम भएको छ भन्ने जानकारी छैन। जानकारीको विषयवस्तु पनि भएन। त्यसअघि कहाँ के कति काम भएका थिए त्यो हाम्रो जिम्मा हो।’ 

असार ११ गते अघिसम्मको कामको मात्र मूल्यांकन हुन्छ र सोही अनुसारको भुक्तानी पनि हुन्छ। त्यसपछिका विषय हामीसँगको सरोकारको विषय होइन। 

यता प्राकृतिक निशान जेसीका सञ्चालक डिल्ली केसीले ठेक्का रद्द भएको नभई वार्निङ मात्र दिएको दावी गरेका छन्। ठेक्का रद्द भएको होइन, एक हप्ताभित्र काम गर्न वार्निङ दिएको र उक्त समयभित्र आफूले काम सम्पन्न गरेको दावी छ।

डिजाइनमा नाला नभएकाले कालोपत्रे उप्किएको उनको भनाइ छ। नाला कम र साँघुरो घुम्ती राखिएकाले घुम्तीमा कालोपत्रे उत्रिएको केसीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.