|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरूसँग औपचारिक रूपमा संवादको ढोका खोलेका छन्। अध्यक्ष ओलीले बुधबार र बिहीबार पार्टीका वरिष्ठसहित सात जना उपाध्यक्षहरूसँग छलफल गरे। 

अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, युवराज ज्ञवाली अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलसँग भेट गरेका हुन्। बैठकमा उपाध्यक्षहरूले आफूले पाएको विभागहरूको काम कारबाहीबारे अध्यक्षलाई जानकारी गराएको बताइएको छ। उपाध्यक्ष नेम्वाङले आफूले पाएको विभागको जिम्मेवारीका विषयमा छलफल भएको जानकारी दिए। 

‘मसहित साथीहरूले ३२ वटा विभागको समन्वय र अनुगमन गर्ने जिम्मेवारी पाएका छौं। यसलाई पार्टी र अध्यक्षसँग जोड्न नियमित भेटघाट गर्ने विधानमा छ। तर, अध्यक्षले भेटघाटको क्रम अगाडि बढाउनुभएको छ। यो सकारात्मक छ,’ उनले भने। 

त्यसो भए अध्यक्ष र उपाध्यक्षहरूको संवादको ढोका खुलेको हो? भन्ने प्रश्नमा उपाध्यक्ष नेम्वाङले भने, ‘संवाद नै नभएको अर्थ लगाउन हुँदैन। तर, एमालेभित्र उपाध्यक्षहरूले अध्यक्षलाई सहयोग गर्ने नियम छ। नियमित छलफल नहुँदा यस्ता प्रश्न उठ्नु स्वभाविक नै हो। अध्यक्ष र उपाध्यक्ष अनौपचारिक रूपमा बस्ने सुरूवातलाई निरन्तरता दिनुपर्छ भन्ने कुरा भएको छ।’ 

३२ विभागहरूको क्षेत्रगत रूपमा संयोजन गर्ने जिम्मेवारी उपाध्यक्षहरूलाई दिइएको छ। यसअघि अध्यक्षले उपाध्यक्षहरूसँग छुट्टै छलफल गर्ने गरेका थिएनन् । पार्टीमा नयाँ सुरूवात भएको र त्यसलाई निरन्तरता दिने विषयमा कुराकानी भएको नेम्वाङको भनाइ छ । 

अर्का उपाध्यक्ष विष्णु पौडेल पनि अध्यक्ष र उपाध्यक्षहरूबीच पार्टीको कामकारबाहीका विषयमा छलफल भएको बताउँछन्। ‘उपाध्यक्षहरूले पाएको विभागको जिम्मेवारीलगायतका विषयमा छलफल भयो। अन्य विषयले प्रवेश पाएन,’ उनले भने। 

अर्की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष र उपाध्यक्षहरूबीच भावनात्मक सम्बन्धका लागि बैठक बस्नुपर्ने आवश्यकता रहेको बताइन्। 

‘हामी पार्टीको काम, आगामी रणनीतिका विषयमा छलफल गर्न बसेका हौँ। यसरी अध्यक्ष र उपाध्यक्ष नियमित बस्दा भावनात्मक सम्बन्ध हुन्छ। घरघरमा व्यक्ति व्यक्ति भेट गर्नुभन्दा सबैजना एकैठाउँमा बस्दा राम्रो हुन्छ,’ उनले थाहाखबरसँग भनिन्,‘अबदेखि समय मिलाएर नियमित बस्ने सल्लाह भएको छ। अध्यक्षज्यू र हामीलाई लागेको असन्तुष्टीलाई एक ठाउँमा बसेर छलफल गर्दा पार्टीलाई पनि राम्रै हुन्छ।’ 

उपाध्यक्ष शाक्यले थपिन्, ‘सचिवालयमा मात्रै कुरा गर्दा सबै कुरा गर्न नपाउने भएकाले पार्टीका बारेमा कुराकानी राखेको हो। यसरी बस्नु राम्रो हुन्छ। समसामयिक कुरा हुन्छ। यो सुरूवात मात्रै हो।’

७० वर्षे उमेरहदको विवाद

नेकपा एमालेले विधानमा रहेको ७० वर्षे उमेरहद तत्कालका लागि निलम्बन गरेको छ। नेकपा एकीकृत समाजवादी त्यागेर एमालेमा आएका मुकुन्द न्यौपानेसहितका नेतालाई कमिटीमा ल्याउन विधानको उक्त व्यवस्थालाई निलम्बन गरिएको एमाले नेताहरू बताउँछन्। 

विधानको धारा ६४ मा रहेको ‘सबै तहको कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनीत हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्नेछ। तर ७० वर्ष पुरा नहुँदै निर्वाचित वा मनोनीत भएको व्यक्तिले अर्को महाधिवेशन/अधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनीत पदमा रही जिम्मेवारी बहन गर्न बाधा नपुग्ने’ उल्लेख थियो। तर, वैशाख २८ देखि ३० सम्म बसेको केन्द्रीय कमिटी बैठकले गरेको सिफारिसमा जेठ १९ को सचिवालय बैठकले अनुमोदन गरेको हो। एमालेले अन्तर पार्टी निर्देशन (अपानि) जारी गर्दै ७० वर्षे प्रावधान हटाएको उल्लेख गरेको छ। 

अपानिमा भनिएको छ, ‘पार्टी विधानमा रहेको ७० वर्षे उमेरहद हाललाई निलम्बन गर्ने।’ ७० वर्षे उमेरहदलाई लिएर दोस्रो तहका नेताहरूले असन्तुष्टि जनाइरहेका छन्। यद्यपि उनीहरू सार्वजनिक रूपमा भने बोल्न सक्दैनन्। अध्यक्षमा दाबी गरिरहेका केही नेताहरू ७० वर्षे प्रावधानमा अध्यक्ष अ‍ोलीको अभिव्यक्तिबारे असन्तुष्ट देखिएका हुन्। 

एमाले अध्यक्ष ओली पनि ७० वर्षे प्रावधान हटाएको विषयमा भएको सार्वजनिक टीकाटिप्पणीबारे असन्तुष्ट देखिन्छन्। काम गर्न सक्छन् भने ७० वर्ष कटेकाहरूलाई पार्टीभित्र प्रतिबन्ध लगाउनुपर्ने कुनै कारण नरहेको ओलीको तर्क छ। उनले काम गर्न सक्नेलाई उमेरहदको नाममा जिम्मेवारीबाट रोक्नुपर्ने कुनै कारण नरहेको बताउने गरेका छन्। 

उनले अमेरिकाका राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरूको उदाहरण दिँदै उमेरले फरक नपार्ने बताए। 

‘बुढा भनेर आक्रमण गरेको ८० वर्ष पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई होइन, कांग्रेसका सभापति शेरबहादुर देउवालाई होइन, मभन्दा एक वर्ष जेठो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि पनि होइन, एउटा केपी ओलीलाई ताकेको हो ।’ केही दिन अघि पार्टीको बागमती प्रदेश बैठकमा उनले भने, ‘त्यस्तो कुरा गर्नेहरूलाई कहिलेकाहिँ म्याराथनका लागि निम्तो दिऊँ कि जस्तो लाग्छ। आउन त दौडिहेरौं एक फेर भन्न मन लाग्छ।’

७० वर्षे उमेरहदबारे दोस्रो तहका नेताहरूले असन्तुष्टि जनाइरहेका छन्। पछिल्लो समय ओली निकट मानिएका वरिष्ठ उपाध्यक्ष पोखरेल समेत उमेर हद हटाएको विषयमा असन्तुष्ट देखिँदैनन्। 

७० वर्षे उमेरहदले आफूहरूले अवसर पाउने कुरामा विश्वस्त रहेका उनीहरू अध्यक्ष ओलीले उमेरहद राख्न पर्दैन भनेर दिएका अभिव्यक्तिप्रति असन्तुष्ट छन्। तत्कालीन अवस्थामा भरतमोहन अधिकारीले पदबाट लोभ नगरी नेतृत्व छोडेको, गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनका लागि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले टिकट अस्वीकार गरेको उदाहरण दिँदै ओलीले पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष दोस्रो तहका नेताहरूको छ।  

‘पहिला राख्दा पनि भएन। यो निजामती जस्तो होइन। राजनीति गर्ने व्यक्तिलाई उमेरहदले छेक्दैन। तर, हामीले मुकुन्द न्यौपानेलगायतका साथीहरूलाई व्यवस्थापन गर्ने प्रयाेजनका लागि मात्रै निलम्बन गरेका थियौं। अध्यक्षज्यूले नेतृत्वको लागि लालच राखेको देखियो। निश्चित प्रयोजनका लागि राखिएको विषयलाई अन्य प्रयोजनका लागि प्रयोग गर्नु हुँदैन,’ एक उपाध्यक्षले थाहाखबरसँग भने। 

पार्टीमा युवालाई अवसर दिनुपर्ने आवाज उठे पनि उमेरहद हटाउन खोज्नु उचित नहुने अर्का सचिवालय सदस्यको भनाई छ। 

‘हामीले नै सल्लाह गरेर राख्नुपर्छ। एउटा मात्रैले पटकपटक पदमा बस्ने हुँदैन भनेर हटाइएको हो। फेरि अध्यक्षज्यूले उमेरहद हटाउने तयारी गरिरहँदा नया पुस्ता आउन रोक हुन्छ। भरतमोहन अधिकारीले पनि सही संस्कार दिन समयमा पद छोड्नुभयो। लामो समयदेखि पार्टीमा दुःख गरेको साथीहरू हुनुहुन्छ,’ ती सचिवालय सदस्यले भने। 

यता अध्यक्ष ओलीले उमेरहदलाई मात्रै हेर्न नहुने बताउने गरेका छन्। आफूलाई भेट्न पुग्ने नेताहरूसँग उनले अनुभव र कार्यक्षमतालाई पनि हेर्नुपर्ने बताउने गरेका छन्। ‘अध्यक्षज्यूले उमेरको सक्रियता मात्रै हेर्नुहुँदैन भन्नुभएको छ। उमेर पुगे पनि बिदा लिनुपर्दैन। अनुभवलगायतका विषयमा पनि ध्यान दिनुपर्छ,’ ओली निकट ति नेताले भने। 

अध्यक्षमा दाबी गरिरहेका नेताहरू अध्यक्ष ओलीसमक्ष आगामी नेतृत्वबारे खुलेर आफ्नो धारणा राख्न सकेका छैनन्। अध्यक्ष दाबी गरिरहेका एक सचिवालय सदस्यका अनुसार ओली पार्टीभित्र आलोचना सुन्न मन नपराउने कारणले नेताहरू बोल्न डराउने गरेका छन्।

 वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षहरू विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, महासचिव शंकर पोखरेल लगायतका नेताहरू आगामी नेतृत्वका आकांक्षी छन्। 

‘नेतृत्वमा दाबी गर्ने कमरेडहरू धेरै हुनुहुन्छ। तर, उहाँहरूले अध्यक्षसमक्ष आगामी नेतृत्वको विषयमा दाबी गर्न सक्नुभएको छैन। त्यसकारण आगामी नेतृत्वमा पनि केपी ओली कमरेड नै दोहोरिने निश्चित छ,’ सचिवालयका एक सदस्यले थाहाखबरसँग भने। 

एमालेका अर्का उपाध्यक्षले वृद्ध नेतालाई सल्लाहकारको रूपमा रहने व्यवस्था पार्टीले गरेकाले पदको धङधङी राख्न नहुने बताए। 

‘वृद्ध नेताले सल्लाहकारका रूपमा बस्ने र युवालाई नेतृत्वमा अवसर दिनुपर्छ। दोस्रो पुस्तामा पनि जेल नेल खाएर बसेका छन्। उनीहरूलाई अवसर दिएर नयाँ ल्याउनुपर्छ। युवा युवा मात्रै नेतृत्वमा बस्नुपर्ने होइन। वृद्धले सल्लाह सुझाव दिन सक्छन्,’ ती उपाध्यक्षले भने। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.