च्याउ चिनेर मात्र खान प्रहरीको आग्रह

|

दाङ :बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाँदा आमाछोरा बिरामी भएका छन्। बिरामी हुनेमा बंगलाचुली–१ स्युजा निवासी ३८ वर्षीया यमाकुमारी कँवर वली र उनका १२ वर्षीय छोरा यकिन वली रहेका छन्।

जंगली च्याउ पकाएर खाँदा उनीहरू बिरामी परेको गापा-१ का वडाध्यक्ष विष्णु कुँवरले जानकारी दिए। उनीहरूको उपचार अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको छ।

प्राथमिक स्वास्थ्य केन्द्र स्युजा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि तुलसीपुर ल्याइएको हो। उनीहरूले शुक्रवार च्याउ खाएको र खानापछि पेट दुख्ने समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो।​

यसैगरी जिल्ला प्रहरी कार्यालय दाङले विषालु च्याउ नखान र नबेच्न आग्रह गरेको छ। गत आवमा जंगली विषालु च्याउ खाँदा जिल्लामा १८ जना बिरामी भएको र चालू आवको असार २८ गतेसम्म ३५ जना गम्भीर बिरामी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजनकुमार गौतमले जानकारी दिए।

जङ्गलमा च्याउ खोज्न जाने र खाएर बिरामी बढ्दै गएको भन्दै उनले चिनेर मात्र च्याउ खान आग्रह गरेका छन्। यस्तै प्रहरीले च्याउ भाँच्दा चोप निस्कियो भने वा छुँदा त्यसको रङमा परिवर्तन आयो भने त्यस्ता च्याउ नखान आग्रह गरेको छ। बैजनी तथा गाढा रातो रङका च्याउ प्रायः विषालु हुने हुँदा त्यस्ता च्याउ नखान र च्याउको माथि रहने छाता छाम्दा खस्रो एवं तलमाथि उठेको देखिएमा त्यो पनि विषालु हुने भएकाले नखान आग्रह गरेको छ।

यसैगरी नमिठो गन्ध, तीतो स्वाद,  धेरै झुस भएका र गोबर, काठ, दाउरामा उम्रेका च्याउ विषालु हुने प्रहरीको भनाइ छ।

वरिपरि कीराहरू नलागेका तर आकर्षक देखिने च्याउ पनि खाना नहुने प्रहरीले जनाएको छ। यस्तै कहिलेकाहीँ च्याउ आफैंमा विषाक्त नभए पनि संकलन र भण्डारणको कारणले पनि विषाक्त बनाउने हुँदा च्याउलाई प्लास्टिक वा स्टिलको भाँडामा गुम्साएर नराख्ने समेत आग्रह गरिएको छ।

यस्तै खाने च्याउलाई समेत संकलन गर्दा वा भण्डारण गर्दा प्लास्टिकको झोला, फलाम र टिनको बाकस प्रयोग नगर्न आग्रह गरिएको छ। १० देखि १५ मिनेट बफाएर पकाउन आग्रह पनि प्रवक्ता गौतमले आग्रह गरेका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.