दाङ : जिल्ला अहिले किसानलाई धान रोपाइँको चटारो छ। बंगलाचुली गाउँपालिका-८ का किसानलाई भने चैते धान भित्र्याउन र वर्षे धान लगाउन चटारो छ। चैतमा रोपेको धान खेतमा पहेँलपुर छ। पानी आइरहेकाले काट्नका लागि समस्या भइरहेको छ। मौसम हेरेर किसानले धान काट्ने गरेका छन्।
बंगलाचुली-८ खैरेनीका ६० वर्षका गिरबहादुर खत्रीले पनि चैते धान लगाएका थिए। उनलाई अहिले चैते धान भित्र्याउन र वर्षे धान लगाउन चटारो परेको छ। उनले वर्षमा २ पटक धान लगाउने गरेको बताए। परिवार ठूलो भएका कारण र वर्षमा २ पटक धान लगाउँदा परिवार पाल्न सहज भएको उनको भनाइ छ। उनले भने, ‘चैतमा लगाएको धान पनि १५-२० मुरी फल्छ। वर्षे धान पनि त्यतिकै पल्छ। हामीले २ पटक धान खेती गर्छौँ। परिवार ठूलो छ। जसले गर्दा परिवार पाल्न सहज भएको छ।’
खत्रीले मात्रै नभई खैरेनी गाउँका अधिकांश किसानले चैत धान रोपेका छन्। उनीहरूले मौसमको अवस्था हेरी खेतमा पाकेको धान भित्र्याउने गरेका छन्। यस्तै बंगलाचुली-८ स्वामीघाटकी खिमादेवी खत्रीले मौसमको अवस्था हेरेर अर्मपर्म गरेर धान भित्र्याउने गरेको बताइन्। उनका अनुसार चैते धान भित्र्याउनेबित्तिकै फेरि खेतमा वर्षे धान रोपिन्छ। २ पटक धान रोप्दा धेरै फाइदा भएको उनको कथन छ।
उनले भनिन्, ‘गहुँ काट्नेबित्तिकै हामीले चैते धान रोप्छौँ। चैतमा रोपेको धान अहिले काट्छौँ। फेरि वर्षे धान रोप्छौँ। २ पटक धान रोप्दा परिवार पाल्न सहज भएको छ।’
असार, साउन महिनासम्म चैतमा लगाएको धान पाकिसक्ने र वर्षे धान रोप्न पहिले नै धानको ब्याड तयार गरेर राख्ने र चैते धान भित्र्याएपछि वर्षे धान रोप्ने गरेको उनीहरूको भनाइ छ। भौगोलिक विकटताका कारण बजारको समस्याले तरकारी खेती छाडेर बंगलाचुलीका किसानहरू चैते धान खेतीतर्फ लागेका हुन्।
जिल्लामा अहिले २ हेक्टरमा चैते धानको खेती हुने गरेको छ। केही वर्ष पहिलेसम्म जिल्लामा २ हजार ५ सय हेक्टर जमिनमा चैते धानखेती हुन्थ्यो तर प्रधानमन्त्री कृषि आधुनिक परियोजना सुपरजोन कार्यक्रम लागू भएपछि चैते धान लगाउने किसानहरू मकै खेतीतर्फ लागेपछि धानखेतीभन्दा मकैखेतीमा उत्पादन र आम्दानी बढी हुने भएपछि देउखुरी क्षेत्रका किसानहरू मकैखेतीमा लागेका छन्।
योसँगै चैते धान लगाउने किसानको सङ्ख्यामा कमी आएको कृषि ज्ञानकेन्द्रले जनाएको छ। जिल्लाको बंगलाचुली र राप्ती गाउँपालिकामा अहिले करिब २ सय हेक्टरमा चैते धानखेती हुने गरेको ज्ञानकेन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताए। उनका अनुसार सुपरजोन कार्यक्रम लागू भएपछि किसानहरूले मकैखेती गर्दा चैते धान रोप्नेको संख्या घटेको हो।
यस्तै उनले जिल्लाका अन्य क्षेत्रमा चैते धान विस्तार गर्न सिँचाइमा जोड दिनुपर्ने बताए। यस्तै यो आर्थिक वर्षमा सिँचाइका लागि करिब २५ प्रतिशत बजेट छुट्याएको समेत उनको भनाइ छ।
जिल्लाको कुल ६५ हजार ५० खेतीयोग्य जमिन भएकोमा ३९ हजार ४ सय हेक्टरमा धानखेती हुने गरेको छ। १९ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा भए पनि वर्षैभरि खेती गर्ने किसानको संख्या भने न्यून छ। जिल्लामा अधिकांश किसानले यो वर्ष धान रोपेका छैनन्। समयमै वर्षा नहुँदा रोपाइँ ढिला भएको छ।
जिल्लामा असार महिनासम्म ३५ प्रतिशत मात्रै धान रोपाइ भएको केन्द्रले जनाएको छ। यो गतवर्षको तुलनामा १० प्रतिशतले कम हो। गतवर्ष असारको अन्तिमसम्म जिल्लामा ४५ प्रतिशत धान रोपिएको थियो। असार महिनासम्म १३ हजार ७९० हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।