|

सल्यान : सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले छाडा चौपाया व्यवस्थापन गर्न गौशाला बनायो। करिब १५० गाईवस्तु अट्ने गरी गौशाला सञ्चालनमा पनि ल्यायो। बनगाड नगरपालिकाभर तत्काल १ सय छाडा पशुचौपाया रहेका थिए।

बनगाडका किसानले घरपालुवा बस्तुभाउ पनि गौशालामा लगी छोडिदिएका छन्। किसानहरूले घरमा पालेका पशुचौपाया छोडिदिँदा अहिले गौशालामा झण्डै ६ सयभन्दा बढी पशुचौपाया रहेका छन्। किसानले ६ सय घरपालुवा पशु ल्याएर बाँधिदिदा भार थाम्न नसक्ने र गाईबस्तुलाई उचित व्यवस्थापन गर्न असम्भव भएको नगरपालिकाले जनाएको छ।

क्षामताभन्दा धेरै पशुचौपायाका कारण किसानलाई आ–आफ्ना घरपालुवा गाईवस्तु फर्काई लैजान मेयर कर्णबहादुर बुढाथोकीले आग्रह गरेका छन्। घरपालुवा चौपाया गौशालामा ल्याएर समस्याको समाधान नहुने बताउँदै तिनलाई दानापानी र घाँसको समस्या हुने भएकाले आफ्ना चौपाया यथाशक्य फिर्ता लैजान उनले आग्रह गरेका छन्।

बनगाड कुपिण्डे नगरपालिकाले विज्ञप्ति जारी गर्दै नगरपालिका क्षेत्रभित्र रहेका छाडा गाईवस्तु चौपाया व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक तयारी गरेकोमा विभिन्न टोल तथा बस्तीका बासिन्दाले घरगोठमा पाल्दै आएका गाईबस्तु चौपाया समेत छाडा छोडी गौशालामा पुर्‍याएको जानकारी हुन आएकाले यथाशीघ्र फिर्ता लैजान अनुरोध गरेको छ।

अन्यथा नगरपालिकाले आवश्यक छानबिन गरी गाईवस्तु चौपाया सम्बन्धित धनीको जिम्मा लगाई थप कारबाही समेत गरिने मेयरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.