|

सल्यान : सल्यानमा साउन पहिलो हप्तासम्म ९८ प्रतिशत धान रोपाइँ सकिएको छ। आकाशे पानीको भरमा लगाइने खेत र ढिलो बीउ राखेका केही खेतमा बाहेक अन्य खेतमा धान रोपाइँ सकिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ।

कृषि विकास कार्यालय सल्यानले जिल्लामा कहीँ कतै छिटफुट बाहेक अधिकांश क्षेत्रमा धान रोपाइँ सकिएको जनाएको छ।

कार्यालयका अनुसार गत वर्षको भन्दा यो वर्ष धान खेती भएको क्षेत्रफल घटेको छ। गत वर्ष जिल्लामा ७ हजार १२ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो। यसबाट करिब ३० हजार ५ सय मेट्रिक टन धान उत्पादन भएको थियो। गत वर्षको तुलनामा यो वर्ष २२ हेक्टर कम क्षेत्रफलमा धान रोपिएको कृषि विकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख रेशमकुमार बस्नेतले जानकारी दिए। यो वर्ष ६ हजार ९९० हेक्टरमा मात्रै धान खेती गरिएको छ।

‘जिल्लामा धान उत्पादन हुने क्षेत्रमा पनि धान रोप्न छोड्ने क्रम बढ्दो छ। कतिपयले धान रोप्ने खेतमा मकै, तरकारी रोप्न थालेका छन्। बजारक्षेत्र आसपासका खेतमा घर निर्माणदेखि घडेरी बनाएर बेच्ने क्रम बढ्दो छ। यसले गर्दा खेतीयोग्य जमिन मासिन थालेको छ’, उनले भने।

किसानहरूले बढी मात्रामा रामधान, सुक्खा ३, सुक्खा १, कञ्चनलगायतका जातको धान रोप्दै आएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.