मादल बजाएर महिनामै चार लाखसम्म कमाइ

|

काठमाडौं : नेपालीको घरघरै हुने रैथाने बाजा मादल अहिले शहरमा बाक्लै भेटिए पनि गाउँमा मुस्किलले पाइन्छ।

विश्वभरिका नेपालीको आफ्नो मौलिक बाजा मादललाई इण्डियाले ‘मेरो हो’ भनेर विश्व रेकर्ड राख्ने गिनिज बुकमा दर्ता गरेको सुनिएको छ।

समुदाय र ठाउँअनुसार फरक–फरक आकार प्रकारका मादलको वादन पनि फरक किसिमकै हुन्छ। सानै उमेरदेखि मादल बजाउन जान्ने प्रशिद्ध मादल वादक एवं वरिष्ठ गायक/कलाकार खर्कबहादुर बुढामगरसँगको कुराकानीको सम्पादित अंश :

आधुनिक बाजा र प्रविधिले मासिँदै मादल

घरगाउँमा मादल, मुरली जस्ता बाजा बजाएर चाडबाडमा नाचगान रमाइलो हुन्थ्यो तर अचेल आधुनिक बाजागाजा र प्रविधिले परम्परागत बाजाको प्रयोग कम छ।

स्थानीय क्लवले चाडबाडको बेलामा खेलकुद कार्यक्रमको आयोजना गर्दछन्। युवाहरू सोही कार्यक्रममा जाने भएकाले मौलिक सांस्कृतिक कार्यक्रम गरे पनि नयाँ पुस्तामा जान सकेन।

खेलकुदको कार्यक्रममा २-३ सय युवाको जमात हुन्छ तर परम्परागत नाचगानमा पचास जना जुट्न पनि मुस्किल छ।

मादल नेपालीको साझा ढुकढुकी

नेपालीहरू मादल नबजेको गीतमा नाच्दैनन्। मादल घन्किन्छ तब नेपालीको शरीर र मनमा उत्साह भरिन्छ। तालबाजा मादल साना–साना एकै मुठीदेखि निक्कै ठुला–ठुला पनि हुन्छन्। पूर्वमा मारुनी गीतमा बजाउने ठुला आकारका समला मादल हुन्छ भने काठमाडौं र आसपासको क्षेत्रमा झाम्रे मादल केही साना आकारका हुन्छन्।

नेवारी समाजमा पाइने मग खीः झाम्रे मादलकै आकारका भए पनि पश्चिमतिर गएपछि घाटु, सोरठीमा प्रयोग हुने मादल मगखीः भन्दा ठुलो हुन्छ। थारू समाजको मादल थप ठुलो देखिन्छ।

समुदाय र ठाउँअनुसार मादलको आकार प्रकारभित्र छ। १२ वटा सुरमा त्यति नै प्रकारका मादल बजाउन सकिन्छ। हुर्रामा चौधरीहरुले निक्कै ठुलो मादल बजाउने गरेको पाइन्छ भने सिँगारुमा त्योभन्दा सानो मादलको प्रयोग छ।

बर्मामा बस्ने नेपालीले पनि हामीले जस्तै आकारका मादल प्रयोग गरेको पाइएको छ।

पौराणिक कथामा मगरलाई देवताले बरदानस्वरूप दिएकाले मादल मगरहरुको जातीय बाजा भन्छन्।

नेवारीमा मगखीः भनेको मगरको बाजा हो। शुबी शाह र रामशरण दर्नालले महादेवको डमरुसँगै यो बाजाको उत्पत्ति भएको लेखेका छन्।

बमकुमारी बुढाले लोककथामा अर्घाखाँची जिल्लामा सैरला र भैरला खेल्नेबेला नदीको तीरमा बसेर खमारीको काठ बन्चरो र बसिलाले खोपी–खोपी काटेर मृगको छालाले मोडेर मगरहरुले बनाएको कुरा उल्लेख छ।

त्यस्तै, अर्घाखाँची जिल्लाको अर्घातोस भन्ने ठाउँमा मादलको उत्पत्ति गराएको लेखेका छन्। मादलको उत्पत्तिको बारेमा समान धारणा पाइँदैन। तर यो बाजा नेपाली जातीको साझा बाजा हो।

मादल मेरो भनेर इण्डियाले गिनिज बुकमा दर्ता गराएको सुनियो

गिनीज बुक्मा इण्डियाले ‘मादल मेरो हो’ भनेर दर्ता गरायो भन्ने सुन्नमा आएको छ। तथ्य, प्रमाणले मादल हाम्रो नेपालीको भन्ने देखिन्छ। उसले केको आधारमा दाबी गरेर दर्ता गरायो, योबारे हामीलाई चासो नहुनु दुःखद विषय हो। मादलको बारेमा हामीले गहिरो अध्ययन गरेका पनि रहेनछौं।

सबै पढन र खोज्न भ्याउने हामीले आफ्नो चैं भ्याएनछौं। पुर्खाले जोगाएको सम्पत्ति अरूले खोसेर खाँदा हेरेर बस्ने भयौं।

मादल गाउमा कम शहरमा धेरै

मैले शहरमा आएर मादल बजाउन थालेको झण्डै ३७ वर्ष भयो, २०४३ सालदेखि हो। मलाइ भ्याई नभ्याई छ, मैले भोगेको अनुसारले मादलको प्रयोग बढेको लाग्छ नि। पहिले घरैपिच्छे मादल राख्थे, गाउँमा मादल व्‍यापक हुँदा शहरमा कमी थियो। अहिले शहरमा बढेको छ तर गाँउघरमा कम छ।

काडमाडौंमा मात्रै ८०-९० वटा दोहरीसाँझ होलान् त्यहाँ मेरा कमसेकम २-३ सय विद्यार्थीले मादल बजाउने काम गर्छन्, यसरी हेर्दा त राम्रो छ। तर, गाउँमा चाडबाड पूजाआजामा डेक बजाएर नाचेको देखिन्छ। मादल बजाउन जान्ने पनि गाउँमा कम छन्। अचेलको गीतमा मादलको प्रयोगमा कमी भएको हो कि? मादलको सट्टामा अरू नै ड्रमसेटको आवाज चर्को पारेर राखिदिन्छन्।

२ देखि १२ हजार सम्मका मादल

पैसा नहुँदा अन्नसँग मादल साट्ने गर्थे, एउटा मादलको सट्टामा एक-दुई मुरी अन्‍न दिने चलन थियो। अहिले एउटा मादलको कम्तीमा दुई हजारदेखि ठुलो मादल १०-१२ हजारसम्ममा बिक्री भइरहेको छ। तर, कतिपय ठाउँमा मादल नबिकेर बनाउनै छाडिसके।

मलाई सारा कुरा मादलले नै दियो

मलाई मादल जीवनको आधार भएको छ। मेरो वादन राम्रो लागेर सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा जागिर पाएँ। भर्खरै उमेरको कारणले सेवा निवृत्त भएँ। मादलले ११ वटा देशको भ्रमणसमेत गरायो, सम्मान र पुरस्कार दिलायो। २०५५ सालदेखि नाचघरमा मादल सिकाइरहेको छु। पढेर मादल सिक्न किताब लेखेँ।

लोकप्रिय र चर्चित गीतहरुमा मादल बजाएको छु, मादल सुनेर,बजाएर आनन्द आउँछ।

हजारौँले चिन्नुभन्दा पनि राम्रो मान्छे सयजनाले चिने पुगेको छ। काम पाएको छु, धेरैलाई सिकाएको छु। मैले सिकाएका धेरैले रोजगारी पाएका छन्। कोही सिकाउने गुरु पनि बने, खुसी लाग्छ। म पर्दा पछाडि भए पनि मैले बजाएको मादल सधैँ अगाडि नै छ।

मादल बजाउदै अप्रेशन

लामो समय मादल बजाउँदा हातको नसा खिइँदो रहेछ, त्यो नसाको सम्पर्क टाउकोसम्म हुँदो रहेछ। इकुलाइजेसन भएछ, डाक्टर वसन्त पन्तले मेरो अप्रेशन गर्नुभयो।

मैले मादल बजाउँदा बजाउँदै बेहोस नपारी गरेको त्यो टाउकाको अपरेसन रोचक थियो। म मादल बजाइरहने उहाँले अपरेसन गरिरहने, गफगाफमै मेरो टाउकाको नसाको अप्रेशन सकियो। अहिले फेरि अलि अप्ठेरो हुँदै आएको छ। हेरौँ मेरो कर्ममा कतिन्जेल मादल बजाउन लेखेको छ, रहर अझै मेटिएको छैन।

मादल बजाएरै मासिक चार लाखसम्म कमाइ

एउटा गीतमा सिंगल बजाएको हजार पन्ध्रसय दिन्छन् भने डबलको तीनहजार पैतीस सय दिन्छन्, पन्ध्र मिनेटदेखि बढीमा एकघण्टामा सकिन्छ। यसरी मेरो महिनाको कमाइ कम्तीमा दुई लाख र तीजको गीत रेकर्ड हुने बेला जेठ, असार र साउन महिनामा चार लाखसम्म हुन्छ।

अझ, आएको अर्डरअनुसार सबै ठाउँमा गएर मादल बजाउने हो भने मादल वादनको कमाइ निकै हुन्छ।

हाम्रा बाजागाजा रोजगारीका आधार पनि हुन्, परम्परागत संस्कृति जोगाउन, नयाँपुस्तामा पुर्‍याउन वडाहरु र पालिकाले नै पहल गर्नुपर्छ। नयाँपुस्तामा आकर्षण बढाउनका लागि योजनाबद्ध कार्यक्रमहरु ल्याउनुपर्छ।

मौलिक संस्कृति झल्किने यी बाजागाजालाई आम्दानीसँग पनि जोड्न सके नयाँपुस्तामा थप आकर्षण बढ्नेछ।

मादलला आधुनिक प्रविधिमा लानुपर्छ

अहिलेसम्म मादलको स्केल मिलाउन हम्बरले ठोक्ने गर्छौं। अरू बाजाजस्तै मादललाई पनि स्केल मिलाउन बटम सिस्टममा लैजानुपर्छ।

जसरी हामी फुट्बल, भलिबल लगायतका खेलमा तालिम दिन्छौँ, मौलिक बाजाको वादनमा पनि स्थानीय तहमै तालिमको व्‍यवस्था गर्नुपर्छ। पाठ्यक्रममा समाबेश गरेर सबै बालबालिकालाई लोकबाजा पढाउनुपर्छ।

मादल सिक्न लामो समय लाग्दैन, एकदुइ महिनामा सामान्य बजाउन सिकिन्छ। मसँग १२-१३ वर्ष सिक्दा पनि मेरा विद्यार्थी मै जति बजाउन जान्‍ने भएका छैनन्। मैले औपचारिक रूपमा मादल बजाएको नै झण्डै ३७ वर्ष भयो अझ सिक्दै छु, सबै सिकेर त कहाँ सकिन्छ र! तर सामान्य बजाउन जान्ने हुन २-३ महिनामा होइन्छ।

राष्ट्रिय नाचघरमा २०५५ सालदेखि सिकाइरहेको छु। नाचघरमा अहिले पनि बिहान मादलको कक्षा संचालनमा छ। अब, प्राइभेट रूपमा पनि तालिम संचालन गर्ने सोचमा छु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.