|

सुनसरी : औषधि पसल अनुगमन गर्न गएको प्रशासनको टोलीलाई इनरुवाका व्यापारीले आज थुनेका छन् । मेडिकल पसल सञ्चालकसहित स्थानीय व्यापारीको टोलीले जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडासहितको टोलीलाई २ घण्टा बढी थुनेका हुन् । 

गृहको पत्रानुसार अस्पताल रोडमा रहेका औषधि पसल अनुगमन गर्न पुगेको टोलीले कागजात खोज्ने क्रममा विवाद चर्केपछि मेडिकल सञ्चालक तथा व्यवसायीसहितका व्यापारी आन्दोलनमा उत्रिएका थिए ।

सो क्रममा अनुगमन टोली उपर हातपातको प्रयास हुनुका साथै दुव्र्यवहार र नाराबाजी चर्किएपछि बनेको​ तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गर्नुपरेको थियो ।

औषधि व्यवसायी र व्यापारीको अवरोध र तनावका कारण बाहिर निस्कन नसकेको अनगुमन टोलीलाई प्रहरीले सुरक्षा दिएर प्रशासनसम्म पुर्याइएको थियो । 

त्यसपछि पनि व्पापारीहरुले बजार क्षेत्रमा प्रर्दशन जारी राखे । उनीहरुले औषधि पसल बन्द गर्ने धम्कीसमेत दिएका छन् । प्रदर्शनमा उत्रिएका नेशनल मेडिसिन सेन्टरका सञ्चालक योगेन्द्र मेहताले अनुगमन टोलीको शैली उपर प्रश्न उठाउँदै आन्दोलनमा उत्रनुपरेको प्रतिक्रिया दिए ।

उनले अनुगमनमा सहभागि जिल्ला अस्पतालका इनरुवाका निमित्त मेसु डाक्टर देवराज घिमिरे घटनाको कारक भएको बताए । उता अनुगमन टोलीको नेतृत्व गरेका प्रशासकीय अधिकृत केशव खतिवडाले औषधि व्यवसायीको रवैया ठिक नभएको बताए ।

खतिवडाले अनुगमनका क्रममा अधिकांश औषधि पसलहरु मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएकाले पुनः अनुगमन गरी कार्याबाहीको प्रक्रियामा ल्याउने बताए । घटना पश्चात जिल्ला प्रशासन कार्यालय सुनसरीले घटनाको छानबिन गरी दोषी उपर कारबाही थाल्ने जनाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.