|

स्मरणीय रहोस्, अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले खेलाउने कुनै पनि क्रिकेट टुर्नामेन्टको फाइनलमा अहिलेसम्मको सबैभन्दा ठूलो जीत पाकिस्तानले भारतविरुद्धको खेलमा प्राप्त गरेको छ। यो खेल १८ जुन २०१७ मा लण्डनमा भएको थियो। 

३३९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको भारतले जम्मा १५८ रन बनाउन सकेको थियो। यो लेख जीत र हार कसैको पेवा होइन, त्यसैले निरन्तर संघर्ष गर्ने र मौका पर्दा राम्रो काम गर्ने, मौकालाई गुम्न नदिने नै विजेता हो भन्ने तथ्यमा केन्द्रित छ। यो पाठ नयाँ प्रधानमन्त्री र नयाँ जनप्रतिनधिका लागि पनि सान्दर्भिक हुनेछ।

धेरै वर्ष अगाडि भारतमा भएको  क्रिकेट सिरिजमा  कुनै पत्रकारले तत्कालीन पाकिस्तानी क्याप्टेनलाई सोधेको थियो– ‘आजको म्याच पनि जित्नुभयो, तपाईंको नजरमा भारत र पाकिस्तानको क्रिकेटबीच मुख्य फरक के हो?’ (प्रश्न उर्दू भाषामा थियो)

त्यतिबेला इन्जमाम उलहकले बडो मीठो तरिकाले उर्दूमै भनेका थिए– ‘पाकिस्तान जहिले पनि जित्नको लागि खेल्दछ तर भारतले खेल्दाखेल्दै कहिले काहीँ जित्छ।’ 

यो भनाइ जति सरल छ, त्यति नै जटिल जस्तो लाग्छ। यो प्रसंग यस पटक पनि मिल्न गयो, जब ४ जुनको लिग म्याचमा १२४ रनले विजयी भएको भारत १८ जुनको फाइनलमा यसरी लडखडायो कि पाकिस्तानको अगाडि न व्याटिङमा राम्रो गर्न सक्यो, न  बलिङमा नै। 

क्रिकेट नेपालको डण्डी–बियो र रन भन्ने खेलको संयुक्त रूप हो। डण्डी–बियोमा बियो जति टाढा जान्छ, त्यसैलाई नापेर अंक गनिन्छ र रन भन्ने खेलमा बलले ५ वटा ढुंगा सहितको स्टम्पलाई ढलाउने प्रयास गरिन्छ। जे होस्, क्रिकेट पनि खेल नै हो तर दक्षिण एसियाको सबैभन्दा लोकप्रिय खेल भएकाले यसको हार जीतले राजनीतिलाई समेत प्रभाव पार्दछ।

यो खेलमा भारत वा पाकिस्तान, जसले जिते पनि नेपालीलाई सरोकारको विषय पटक्कै  होइन। परन्तु, ४ जुनमा खेल हारेपछिदेखि १८ जुन, म्याच सुरु हुनुभन्दा पहिलासम्म पाकिस्तानी क्याप्टेन सरफराज अहमदको पाकिस्तानमा यस्तो आलोचना भइरह्यो। श्रीलंका र इंगल्याण्डलाई हराएर टिमलाई फाइनलसम्म ल्याउँदासम्म पनि अहमदलाई  आलोचना गर्नेको कतै कमी थिएन किनकि उनको टिमले भारतसँग हारेको थियो। अन्य देशसँग हारे पनि भारतसँग हार्नु पाकिस्तानमा ठूलो जनसरोकारको विषय बन्दछ।

यी दुई देशको म्याचमा खेल एउटा सामान्य मनोरञ्जनको साधन मात्र नरहेर सर्मथकहरूमा राष्ट्रियताको उद्वेग नै देख्न पाइन्छ, जुन यस पटक पनि देखियो। भारत–पाकिस्तानबीचको  क्रिकेट गोली–बारुदविनाको युद्ध जस्तो प्रतीत हुन्छ। यस पटक पनि यस्तै भयो।

हारमा अनावश्यक आत्तिने र जीतमा अनावश्यक मात्तिने स्वभावबाट मुक्ति मिल्नुपर्दछ। यो कुरा देशमा जित्ने र हार्ने दुवै पक्षले मनन् गर्नुपर्ने विषय हो। विजय वा पद आफैँमा ठूलो कुरा होइन, निर्णायक त विजयपछि प्राप्त हुने कर्मशीलता हो।

यस लेखमा  खेलको पाकिस्तानी  क्याप्टेनको प्रसंगलाई नेपालका वर्तमानमन्त्रीसँग जोड्ने प्रयास गरिएको छ। ४ जुनमा भारतसँग हारेपछि त्यहाँको क्याप्टेनको आलोचना जसरी भयो, त्यसैगरी पहिलो चरणमा धेरै ठाउँमा हारेपछि नेपालका प्रधनमन्त्री शेरबहादुर देउवाको पनि आलोचना भइरहेको छ। 

जसरी खेलमा हुने विजय वा पराजय जनताको भावनासँग जोडिएको हुन्छ र जनतालाई हर्षित बनाउन र आफ्नो लोकप्रियता देशव्यापी बनाउन खेलाडी मौका मिलेको बेलामा बडो मिहिनेतसाथ खेलेर वीजयी हुने प्रयास गर्दछन्, त्यसरी नै देशको प्रधामन्त्रीले पनि जनताको माझमा लोकप्रिय हुनका लागि हरेक कोणबाट प्रयास गर्नुपर्दछ। स्थानीय प्रतिनिधिमा पनि यही कुरा लागू हुन्छ। नीतिबाट, व्यवहारबाट, निर्णयबाट र छिमेकीसँगको व्यवहारबाट नेताले देश जनतालाई सन्तुष्ट पार्न सक्नु आजको आवश्यकता हो। 

राजनीति पनि क्रिकेट जस्तै हो। यहाँ पनि बलिङ छ, व्याटिङ छ, फिल्डिङ छ र सबैभन्दा ठूलो काम कसलाई कुन ठाउँमा प्रयोग गर्ने भन्ने टिम सेलेक्सनको जिम्मा हुन्छ। यी सबै काममा सरकार र जनप्रतिनिधि सफल भए मात्र देशले जित्दछ।

च्याम्पियन ट्रफी लण्डनमा सुरु हुनुभन्दा अगाडि विश्वको कुनै क्रिकेटपे्रमीले पाकिस्तान १८० रनले विजयी हुन्छ भनेर सोच्न सकेको थिएन। तर मौका मिलेको बेलामा पाकिस्तानी खेलाडी यसरी खेले कि कुनै पनि अवसरलाई आफ्नो हातबाट खेर जान दिएनन्। अहिलेको सरकार, विशेषगरी प्रधानमन्त्री र जनप्रतिनिधिले पनि अतिमिहिनेतका साथ काम गरेर प्राप्त मौकालाई कुनै कुनाबाट पनि गुम्न नदिए मात्र संविधान कार्यान्वयन गर्न सहज हुन्छ। संविधान कार्यान्वयन एउटा प्रसंग भयो, त्यसैगरी स्थानीय तहको निर्वाचनपछि विकासको मूल फुटाउनका लागि पहल गर्नु अर्को प्रसंग हुन्छ। 

यो बेलामा जनप्रतिनिधिहरू माझ कसले कसरी विकास गर्ने भन्ने कुरामा प्रतिष्पर्धा गराउनुपर्ने अवस्था छ। अहिलेको अवस्था भनेको स्थानीय तहमा विकासलाई क्रिकेट खेल जस्तै प्रतिष्पर्धी र रोमाञ्चक बनाउन सके देशले काँचुली फेर्न बेर लाग्दैन तर यसका लागि पनि केन्द्रीय सरकारले सकारात्मक भूमिका खेल्न जरुरी छ।

प्रधानमन्त्रीले राजनीति देश र जनताको मनोबल उँचो बनाउनका लागि फरक तरिकाले काम गर्न सक्नुपर्दछ। देशवासी देशको नीति, नियम, कानुन, न्याय व्यवस्था, निष्पक्षता, शान्ति सुरक्षा राम्रो छ भन्ने वातावरण सिर्जना गर्ने काम सरकारको हो।

त्यसैले अहिले नेपालमा पनि चुनावमा जित्नेहरू पाकिस्तानी क्रिकेट फ्यानहरू जस्तै उत्साहित त छन् तर खेलमा विजयको उत्साह दायित्वरहित हुन्छ। चुनावमा प्राप्त विजयले अथाह अख्तियार दायित्व लिएर आएको हुन्छ। देशभरका सम्पूर्ण विजेतालाई चुनाव विजयको दायित्वबोध गराएर विकासमा संलग्न गराउन सक्नु देउवाको नयाँ इनिङको दायित्व हो। 

कुनै कुरामा जीत मात्र प्रमुख होइन, सत्तामात्र प्रमुख होइन र सम्पत्ति मात्र पनि प्रमुख होइन। जीतपछि वैचारिक, व्यावहारिक र कार्य उन्नयनशीलता, सत्तामा जनताप्रति सेवाभाव र सम्पत्तिमा दानशीलता भएन भने मानिसलाई हिटलरीकरणको मृत्युबंकरमा लगेर छोडिदिन्छ। तसर्थ हारमा अनावश्यक आत्तिने र जीतमा अनावश्यक मात्तिने स्वभावबाट मुक्ति मिल्नुपर्दछ। यो कुरा देशमा जित्ने र हार्ने दुवै पक्षले मनन् गर्नुपर्ने विषय हो। विजय वा पद आफैँमा ठूलो कुरा होइन, निर्णायक त विजयपछि प्राप्त हुने कर्मशीलता हो।

जित्नेले हार्नेलाई बढि हेप्ने प्रवृत्तिले नै देशमा विकासको गति रोकिँदै आएको छ। पाकिस्तानसँगको हारपछि भारतका एक जना लेखक सुरेन्द्र कुलकर्णीले लेखेका छन्, ‘च्याम्पियन ट्रफीको शानदार जीतमा पाकिस्तानी टिमलाई बधाई दिनुले कोही कम भारतीय हुनेछैन, बरु अनावश्यक विरोधले हामीलाई कम भारतीय बनाउनेछ।’ 

यो कुरा हाम्रो स्थानीय चुनावमा जुन पार्टीले जित्छ, उसलाई शुभकामना यो शर्तमा दिऊँ कि उसले भोलि थप जिम्मेवारीपूर्ण काम गर्न सकोस् र आफूलाई भोट नहालेकालाई पनि  समेटेर लैजान सकोस्। 

सारांशमा के बुझ्न जरुरी देखियो भने जीत पनि दिगो छैन र हार पनि। त्यसैले मानवताको माझमा सन्तुलित हुन सकौँ। सपना मात्र देखाएर जनतालाई अलमलमा पार्नुभन्दा एउटा मात्र उद्योग खोलेर भए पनि वास्तविक सुरुवात गर्न सकौँ।

आलोचनाबाट तर्सेको भए पाकिस्तानले जित्ने नै थिएन, प्रशंसाले जितिने भए भारत हार्ने नै थिएन। जीत र हार केवल परिश्रम र संघर्षका परिणाम हुन्। त्यसैले बोल्ने बोल्दै गर्छन्, काम गर्नेले रेफ नबिराई काम गर्नुपर्दछ, जसरी फरख जमानले सेञ्चुरी जमाउँदा गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.