|

कपिलवस्तु : महाराजगंज नगरपालिका पडरीयाका महेन्द्र यादव भाइलाई कक्षा ११ मा भर्ना गराउन नेपाल आदर्श मावि शिवपुरमा पुगे।

शिक्षा संकायबाट गणित विषयमा अध्ययन गराउन विद्यालय पुगेका यादवको सपना पूरा हुन सकेन। ‘शिवराजवासी नभएकै कारणले भाइलाई नेपाल आदर्शमा पढाउन नपाउँदा म दुःखी छु,’ यादवले भने‚ ‘भर्ना गर्न गएको तर शिवराज बाहिरका विद्यार्थीहरू भर्ना लिइँदैन भनेपछि फर्किएँ।‘

यादव जस्तै विजयनगरकी कुसुम पाठक पनि बहिनीलाई भर्ना गर्न नेपाल आदर्श पुगिन्। अन्य विद्यालयभन्दा नेपाल आदर्शमा राम्रो पढाइ हुने भएकोले बहिनीलाई कक्षा ११ मा गराउन गएकी पाठक पनि बहिनीको भर्ना नभएपछि निराश भएर फर्किएकी छिन्।

‘बहिनीलाई भर्ना गराउन सरलाई आग्रह गरेकी छु, अहिले नगर बाहिरकालाई भर्ना नगराउनू भन्ने आएको छ, केही दिनपछि आउनु भन्नुभयो,’ पाठकले भनिन्।

यादव र पाठक जस्ता धेरै अभिभावकहरू आफ्ना परिवारका सदस्यको भर्ना गराउन स्कुलमा भर्ना नभएपछि निराश भएर फर्किएका छन्। निःशुल्क शिक्षाले विद्यार्थीहरूले रोजेको ठाउँमा पढ्न पाउनुपर्ने भन्दै सामाजिक सञ्जालमा समेत चर्का बहस भइरहेको छ। पढ्न पाउनु विद्यार्थीहरूको अधिकार हो।

आफूले चाहेको ठाउँमा इच्छाएको विषय पढ्न विद्यार्थीहरू नेपालमा मात्र होइन विदेशसमेत जाने गरेका छन्। शिवराज नगरपालिकाले कक्षा ११ मा नगरभन्दा बाहिरका विद्यार्थीहरूको भर्ना लिएको छैन।

गुणस्तरीय शिक्षामा पहिचान बनाएका विद्यालयमा विद्यार्थी पढ्न आउनु स्वाभाविक हो तर सरकारी (सामुदायिक) विद्यालयहरुले विद्यार्थीहरूलाई भर्ना नगरी फर्काउने गरेका छन्। 

अधिकांश विद्यार्थीहरूको रोजाइमा परेको शिवराज नगरपालिका-१ शिवपुरमा रहेको नेपाल आदर्श माध्यमिक विद्यालयले विजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिकाका महाराजगंज नगरपालिकाका विद्यार्थीहरूलाई भर्ना नगरेको गुनासो गरेका छन्।

विद्यार्थी नियमित रूपमा आउने गरे पनि नगरबाहिरका विद्यार्थी भर्ना नगर्ने भनिएकोले भर्ना नगरेको नेपाल आदर्श माविको प्रशासनले जनाएको छ। शिक्षा समितिले नगरबाहिरका विद्यार्थीहरूलाई भर्ना नगराउने निर्देशन गरेको बताइएको छ।

विगतमा मासिक शुल्क लिएर अध्यापन गराउँदै आएका विद्यालयलाई अहिले सीमित स्रोतसाधन दिने भएकोले विद्यार्थीको चाप बढाउन चाहेका छैनन्। मुलुककै १२ औ स्थानमा परेको नेपाल आदर्श माविले नगरबाहिरका विद्यार्थीहरूलाई भर्ना गर्न नपाउनु दुःखद रहेको नेपाल आदर्श माविका अध्यक्ष नरेन्द्रमान केसीको भनाइ छ।

उनले सबै विद्यार्थीलाई पढ्न पाउने वातावरण सिर्जना गर्न सम्बन्धित निकायसँग छ्लफल गर्ने बताए। नगरपालिकाले यसै वर्षदेखि माध्यमिक तहसम्म निःशुल्क शिक्षा लागू गरेको छ। निःशुल्क शिक्षा लागू गरेपश्चात् गुणस्तरीयता खस्किएको भनेर आलोचनासमेत हुँदै आएको छ।

शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले जुनसुकै पालिकाको भए पनि विद्यार्थीहरूले पठन पाउने अधिकार रहेको बताइन्। पालिकाबाहिरको भनेर निःशुल्क शिक्षाले विभेद गर्न नमिल्ने भन्दै भर्ना नगरेको भन्ने विषयमा आफ्नो ध्यानाकर्षण भएको उनले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.