|

वीरगञ्ज : खानेपानीको ठूलो समस्या भोग्दै आएका महानगरवासीलाई वीरगञ्ज महानगरपालिकाले ट्याङ्करबाट टोलटोलमा पानी वितरण गर्ने कार्यलाई तीव्रता दिएको छ।
महानगरले ट्याङ्करबाट पानी वितरण गर्नुका साथै विभिन्न स्थानमा अस्थायी ट्याङ्की नै राखेर पानी वितरणको व्यवस्था मिलाएको हो। 

महानगरले वडामा पानी वितरणका लागि समयतालिका नै सार्वजनिक गरेको छ। नगरवासीको जनजीवन सहज बनाउन महानगरले समय नै तोकेर पानी वितरणका लागि तालिका सार्वजनिक गरेको महानगरका प्रमुख राजेशमान सिंहले बताए।

 बिहान ५ः०० देखि राति ८ः०० बजेसम्म विभिन्न १९ वटा वडामा ट्याङ्करमार्फत पानी वितरण गरिरहेको र अन्य वडामा पनि समस्या देखिए पानी उपलब्ध गराउने महानगरप्रमुख सिंहको भनाइ छ।

ट्याङ्करबाट अहिलेसम्म १९ वटा वडामा दैनिक पानी उपलब्ध गराइरहेको र अहिलेसम्म सातवटा वडाको विभिन्न स्थानमा अस्थायी ट्याङ्की राखिएको महानगरपालिकाले जनाएको छ। यसका साथै खानेपानी संस्थानको पाइप लाइन विस्तार भएका ठाउँको सार्वजनिक स्थानमा खानेपानीको धारा राख्ने कामलाई पनि महानगरले तीव्रता दिएको छ। 

खानेपानीको पाइप लाइन वडा नं १ देखि १७ र १९ मा विस्तार भएकाले ती वडाका सार्वजनिक स्थानमा पानीको धारा राख्ने काम भइरहेको महानगरको खानेपानी शाखाका प्रमुख भोगेन्द्र चापागाईँले जानकारी दिए। बढ्दो गर्मीका कारण जलस्तर तल झरेपछि वीरगन्जका विभिन्न वडाका चापाकल सुकेर पानीको हाहाकार भएको छ। 

तत्कालै प्राकृतिकरूपमै जलस्तरमा सुधार आउने सम्भावना कम देखिएकाले महानगरले अहिले पानी ट्याङ्कीमार्फत अस्थायीरूपमा समस्या समाधानको प्रयास गरिरहेको छ।

यता वीरगन्ज महानगरपालिकाभित्र खानेपानीको मुहान सुक्न थालेपछि नेपाल खानेपानी संस्थानबाट धारा जडान गराउने क्रम बढेको छ। चापाकललगायतका खानेपानीका मुहान सुक्न थालेपछि दैनिक ८०–९० जनासम्म खानेपानीको धारा लिन आउने गरेको नेपाल खानेपानी संस्थान वीरगन्जका प्रमुख ई नीरन महर्जनले जानकारी दिए।

प्रमुख महर्जनका अनुसार संस्थानले अहिले दैनिक १०–१२ घन्टा धारामा पानी पठाउँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.