|

काठमाडौं : मनसुन जारी रहँदा यो वर्ष मा देशभर सरदरमा औसतभन्दा कम वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार हालसम्म देशभर ८५.४ प्रतिशत वर्षा भएको छ।

शाखाका मौसमविद् सुदर्शन हुमागाईँका अनुसार गत जेठ १८ देखि यही साउन १४ गतेसम्म ६४३ मिलिमिटर वर्षा भएको छ। उनले अघिल्लो वर्षको सोही अवधिको तुलनामा देशभर सरदरभन्दा कम वर्षा भएको जानकारी दिए। ‘देशभर हालसम्म सरदरको ८५.४ प्रतिशत वर्षा भएको छ। जुन सरदरभन्दा कम हो’, मौसमविद् हुमागाईंले भने।

मनसुन अवधिभर नेपालमा एक हजार ४६२ मिलिमिटर वर्षा हुने गरेको शाखाले जनाएको छ। यसअघि विगतका वर्षभन्दा यो वर्ष सरदरमा देशभर औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको छ।

शाखाका अनुसार यो बीचमा विशेषगरी तराईका भूभागमा सरदरभन्दा कम वर्षा भएको छ।

त्यसैगरी ओखलढुङ्गा, जिरी र जोमसोमका मौसम मापन केन्द्रको आँकडामा सरदरभन्दा बढी वर्षा भएको छ। ताप्लेजुङ, काठमाडौं, पोखरा, दिपायल र जुम्लामा सरदरको हाराहारीमा वर्षा भएको छ भने सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी र सुर्खेतमा सरदरभन्दा कम वर्षा भएको छ।

मौसम पूर्वानुमान महाखाले मुख्यगरी देशभरका विभिन्न २० मौसम मापन केन्द्रको तथ्याङ्कका आधारमा मौसम पूर्वानुमान गर्दै आएको छ।

मौसम विभागले सन् १९९१ देखि २०२० सम्म ३० वर्षको अवधिको तथ्यांकका आधारमा विभिन्न मौसम मापन केन्द्रबाट आएको विवरणका आधारमा मौसम विवरण दिने गरेको छ।

नेपालमा मनसुन यस वर्ष जेठ ३१ गते प्रवेश गरे पनि देशभर फैलिन झण्डै दुई साता लागेको थियो। मनसुन प्रभावकारी नहुँदा पछिल्लो एक साता राम्रोसित वर्षा हुन सकेको थिएन। विगत दुई दिनयता भने देशका सबैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.