विराटनगर : सुनसरीको इटहरीका लालबहादुर विश्वकर्माले न्याय पाएका छन्। बिनाइजाजत बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका विश्वकर्मासहित तीन जनालाई उच्च अदालत विराटनगरले आज सफाइ दिएको हो।
लालबहादुरलाई ७२ जनाले निर्दोश रहेको बकपत्र गरे पनि ३ करोड विगो जरिबाना हुने गरि भएको सुनसरी जिल्ला अदालतको आदेशमा जेल गएका थिए।
उच्च अदालत विराटनगरका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले आज विश्वकर्मालाई बिनाइजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुबै मुद्दामा सफाइ दिएको हो।
बिनाइजाजत बैंक तथा वित्तीय कारोबारमा कृष्णबहादुर विश्वकर्मा गजमेर र सीता विश्वकर्मालाई पनि उच्चले सफाइ दिइएको छ। दीपक विश्वकर्माको हकमा भने बिनाइजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुबै मुद्दामा दोषी ठहर गर्दै सुनसरी जिल्ला अदालतकै फैसला सदर गरिएको छ।
जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै लालबहादुर उच्च अदालत गएका थिए। उच्च अदालतमा पटकपटक मुद्दा पेसीमा चढे पनि धेरै पटक हेर्न नमिल्ने र स्थगित हुने गरेकोमा आज फैसला भएको हो।
भएको के थियो ?
२०७५ असार २० मा बचतकर्ता सुकमित गुरुङसहित नौ जनाले २०७२ सालदेखि इटहरी तरहरामा सञ्चालनमा आएको सिंहदेवी ज्वेलर्सविरुद्ध ५२ लाख ६६ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी हालेका थिए। असार २१ गते जिल्ला अदालत सुनसरीमा ज्वेलर्सविरुद्ध अर्को मुद्दा दर्ता भएको थियो।
अदालतमा २७५ जनाले १० हजारदेखि १० लाख रुपैयाँसम्म ठगी गरेको भन्दै मुद्दा दिएका थिए। उजुरीमा अढाई वर्षदेखि ज्वेलर्समा कालिगडका रूपमा कार्यरत लालबहादुर विकलाई पनि विपक्षी बनाइएको तियो।
२०७८ पुस १९ गते सुनसरी जिल्ला अदालतले ज्वेलर्सका सञ्चालक तथा मुख्य प्रतिवादी दीपक गजमेरसहित सीता विश्वकर्मा, कृष्णबहादुर विश्वकर्मा, कमल विश्वकर्मा र लालबहादुरविरुद्ध १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बिगो कायम गरेको थियो। जसमा लालबहादुरलाई ३ करोड १४ लाख ३३ हजार रुपैयाँ विगो र ७० हजार जरिमानासहित तीन वर्ष जेल सजाय सुनाइएको थियो। लालबहादुर ज्वेलर्समा काम गर्ने कालिगड मात्रै थिए।
उनीबाट आफूहरु ठगिएको हैन भन्दै जाहेरवाला बलराम पुरी, पवित्रा गिरी, गङ्गादेवी गुरुङ, अर्जुनकुमार वन, चुँडाबहादुर क्षेत्री, भीमकुमारी राई, कृष्णबहादुर क्षेत्री, रत्नकुमारी राई, ख्याम अधिकारी, लिलादेवी दाहाल, लिलाबहादुर अधिकारी, बलराम गुरुङ, पुष्पा राई, निर्मला राई, चित्रबहादुर अधिकारी, चन्द्रकला श्रेष्ठ, कोपिला पुरी, पदमबहादुर गुरुङ, संजोग राई, सुकमित गुरुङ, सुमित्रा गिरी, चन्द्रबहादुर लामिछानेसहित ७२ जनाले बकपत्र गरेको अवस्थामा पनि सुनसरी जिल्ला अदालतका न्यायाधीश निर्मला योङयाले विकलाई करोडौँ विगो तोकेर जेल जाने फैसला सुनाएकी थिइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।