|

काठमाडौं : ओखलढुङ्गा पोकलीका बलबहादुर परियारलाई भक्तपुर क्यान्सर अस्पतालमा ठूलो आन्द्रा र मलाशय जोडिने भागमा क्यान्सर भएको पत्ता लाग्यो।

‘रेक्टम क्यान्सर’ भनिने रोगको उपचारका लागि उनलाई तत्काल रेडियोथेरापी गरेर शल्यक्रिया गर्न चिकित्सकले सल्लाह दिए। बलबहादुरले चिकित्सकको सल्लाह अनुसार रेडियोथेरापी गर्न चार महिना कुर्नुपर्ने भयो भने यो अवधिसम्म क्यान्सर अन्यत्र फैलिइसक्ने सम्भावना थियो। 

चार महिनासम्मको पालो कुर्नुभन्दा अन्य क्यान्सरका बिरामीको सल्लाहमा बलबहादुर तत्काल भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पताल गए। अहिले त्यहीँ उहाँको उपचार हुँदै छ। नेपालमै तत्काल रेडियोथेरापीको पालो पाएको भए उनी भारत जाँदनथे। 

बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ, बलबहादुर एक उदाहरण मात्र हुन्, उनीजस्ता क्यान्सरका धेरै बिरामी नेपालमा पालो कुर्न नसकेर भारतमा गई उपचार गराउन बाध्य छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सरका बिरामीलाई रेडियोथेरापी गर्न चार महिना पालो कुर्नुपर्ने बाध्यता छ। 

बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरबाहेक रेडियोथेरापी मेसिन अन्य सरकारी अस्पतालमा उपलब्ध छैन। अन्य अस्पतालबाट भक्तपुरमै रिफर गर्ने गरिन्छ। भक्तपुर क्यान्सर अस्पतालमा बहिरंग उपचार सेवा (ओपीडी) को समयमा बिरामीको भिडले पाइला राख्ने ठाउँ हुँदैन। अस्पतालको ओपीडीमा मात्र दैनिक ५०० जना उपचारका लागि आउँछन्। तीमध्ये कतिपय पछिल्लो जाँचका लागि आएका हुन्छन्। तीमध्ये बलबहादुरको जस्तै धेरैको रेडियोथेरापीबाट उपचार गर्नुपर्ने हुन्छ तर एउटा मात्र रेडिएसन मेसिन हुँदा समस्या छ। 

हाल भक्तपुर क्यान्सर अस्पतालमा एउटा मात्र रेडियोथेरापी मेसिन छ। उपत्यकाका सरकारी अस्पतालमा भक्तपुरमा मात्र रेडियोथेरापी मेसिन छ। अन्यत्रबाट पनि रेडियोथेरापीका लागि भक्तपुर ‘रिफर’ गर्दा  गाह्रो हुने गरेको छ। उपत्यकाबाहिर भरतपुर क्यान्सर अस्पतालमा मात्र यसको सुविधा छ। भक्तपुरको मेसिनबाट दैनिक ८० देखि १०० जनाको रेडियोथेरापी हुने गर्छ तर आज नाम लेखाउनेले बलबहादुरकै जस्तो पालो पाउन चार महिना कुर्नु पर्छ। चार महिनासम्म पहिलो चरण (स्टेज) को क्यान्सर छ भने फैलिएर तेस्रो चरणसम्म पुगिसक्ने खतरा हुन्छ। 

बिरामीको समस्या यस्तो भए पनि अस्पतालको दुखेसो भने अर्कै छ। भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. विष्णुदत्त पौडेलले हाल एउटा मात्र रेडियोथेरापी मेसिनले पनि क्षमताभन्दा बढी बिरामीको उपचार गरिरहेको बताए। उनले भारत सरकारले अनुदानमा उपलब्ध गराएको अर्को रेडियोथेरापी मेसिन आइसके पनि प्रयोग हुन नसकेको जानकारी दिए। 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भक्तपुर अस्पताललाई अत्याधुनिक रेडियोथेरापी मेसिन उपलब्ध गराउने घोषणा गरे अनुसार भारत सरकारले डेढ वर्षअघि मेसिन दिए पनि ‘सोर्स’ नदिँदा सञ्चालनमा आउन सकेको छैन। कार्यकारी निर्देशक डा। विष्णुदत्त पौडेलले रेडियोथेरापी मेसिन जडान भइसकेको तर त्यसका लागि सहयोगी सोर्स कोबाल्ट आइसोटोप आउन बाँकी रहेको जानकारी दिनुभयो। त्यो ल्याउन भारतसँग निरन्तर छलफल भइरहेको र जुलाईसम्म पठाउने प्रतिबद्धता जनाइए पनि अगष्ट लाग्दा पनि आएको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.