|

काठमाडौं : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प  अदालतमा हाजिर भएका छन्।

ट्रम्प सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनको परिणाम आफ्नो पक्षमा उल्ट्याउन षडयन्त्र गरेको सम्बन्धी मुद्दामा राजधानी वासिङटन डीसीस्थिति अदालतमा हाजिर भएका हुन्। मुद्दाको प्रथम सुनुवाइका लागि उपस्थित भएका ट्रम्पले न्यायाधीश समक्ष उभिएर आफू निर्दोष भएको जिकिर गरेका छन्।

चार महिनाको अवधिमा फौजदारी अभियोगको प्रतिवादीका रुपमा ट्रम्प अदालत समक्ष उपस्थित भएको यो तेस्रो पटक हो। यसअघि उनीविरुद्ध दुई अन्य फौजदारी मुद्दा दर्ता भइसकेका छन्।

राजधानी वासिङ्गटन डीसीको केन्द्रमा अवस्थित संघीय अदालत भवनमा ट्रम्प पछिल्लो ढोकाबाट प्रवेश गरेका थिए। ट्रम्पमाथि निर्वाचन परिणाम उल्ट्याउन सन् २०२१ को जनवरी ६ मा संसद भवनमाथि भएको आक्रमणका लागि आफ्ना समर्थकलाई उक्साएको मुख्य आरोप छ।

अदालत र संसद भवनबीचको दूरी केही मिटरको मात्र रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले टिप्पणी गरेका छन्। सरकारी पक्षका वकिलहरुले उक्त मुद्दालाई द्रुत सुनुवाइ गर्दै अघि बढाइनु पर्ने भनाइ राखेका थिए भने ट्रम्पका वकिलहरुले न्यायोचित र स्वच्छ सुनुवाइको तयारीका लागि आफूहरुलाई समय चाहिने बताएका थिए।

मुद्दाको पहिलो सुनुवाइ गरिरहेकी भारतीय मुलकी अमेरिकी न्यायाधीश मोक्जिला उपाध्यायले ट्रम्पलाई उक्त मुद्दाको तथ्यहरुबारे कसैसित संवाद नगर्न निर्देशन दिएकी थिइन्।

निर्देशनको पालना नगरिए उनी गिरफ्तारीमा पर्न सक्ने र अदालतको अवहेलना गरेको आरोप लाग्न सक्ने चेतावनी न्यायाधीश उपाध्यायले दिएकी थिइन्। अदालतमा भएको पहिलो सुनुवाइपछि निजी विमानमार्फत न्युजर्सी फर्किनुअघि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै ट्रम्पले उक्त दिन अमेरिकाका लागि निकै दुखल दिन भएको प्रतिक्रिया दिए। आफू विरुद्धको यो फौजदारी मुद्दा बाइडेन प्रशासनले राजनीतिक विपक्षीमाथि गरेको उत्पीडन भएको ट्रम्पको टिप्पणी थियो। मुद्दाको अर्को सुनुवाइ यही अगस्ट २८ मा हुनेछ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.