|

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकमा विभिन्न भ्रष्टाचार र सुन तस्करी प्रकरणमा नाम मुछिएका पार्टीका नेताहरूमाथि अनुसन्धान गर्न केन्द्रीय सदस्यहरूले माग गरेका छन्।

केन्द्रीय कमिटी बैठक चौथो दिन बैठकमा बोल्ने सदस्यहरूले भ्रष्टाचार र सुन तस्करी प्रकरणमा नाम जोडिएका पार्टीका नेताहरूमाथि अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न माग गरेका हुन्।

पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम विद्युतीय चुरोट (भेप)मा सुन तस्करी प्रकरणमा जोडिएको भन्दै नेताहरूले छानबिन हुनुपर्ने बताएका छन्। नेताहरूमा सुशासन कायम गराउन नसके बाहिर पनि गराउन नसकिने भन्दै नेताहरू सुशासनप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिए।

बैठकस्थलमा न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै केन्द्रीय सदस्य माधव सापकोटाले बैठकमा सुशासनको सम्बन्धमा गम्भीर छलफल भइरहेको बताए। उनले नेताहरूको जीवनशैली र आम्दानीमाथि प्रश्न उठेको बताए।

पार्टी उपाध्यक्ष महराको सम्बन्धमा मिडियामा आउनेबित्तिकै पक्राउ गर्ने कानुनी व्यवस्था नभएको भन्दै उनले अनुसन्धानको दायरामा ल्याउनुपर्ने गरी कुनै उजुरी नआएको बताए।

सापकोटाले भने,‘के स्पष्ट पारौँ भने मिडियामा आउनबित्तिकै मान्छे पक्राउ गर्ने हाम्रो कानूनी र संवैधानिक व्यवस्था छैन। त्यसो गर्नका निमित्त उजुर पर्नुपर्‍यो। उजुर परी अनुसन्धानको दायरामा नल्याएको भए सरकारको कमजोरी हुन्थ्यो। ठूलो एउटा पेपरले ब्यानर न्युज बनायो भन्नेबित्तिकै मान्छे पक्राउ गर्ने हो भने त देश नै पूरै हिरासत हुने खतरा हुन्छ। यहाँ त एकले अर्कोलाई आरोप लगाउने।’

केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले चर्चामा आएजस्तै माओवादी केन्द्रका नेताहरूको संलग्नता पुष्टि भए नेताहरूलाई पार्टीले कारबाही गर्नुपर्ने बताए। उनले सरकारले भ्रष्टाचारीहरूलाई कारबाही गर्दा माकेको इज्जत बढेको भन्दै आफ्नै पार्टीका नेताहरू परे पनि कारबाहीबाट पछि हट्न नहुने बताए।

उनले भने, ‘सत्यतथ्य छानबिन होस्। अपराधीको कुनै पार्टी हुँदैन। अपराध गर्नेलाई सजाय हुनुपर्छ। कहिलेकाहीँ मिडिया,सामाजिक सञ्जालमा चर्चा गरेकै भरमा आरोपित गर्नेभन्दा पनि सत्यतथ्य अनुसन्धान हुनुपर्‍यो। भ्रष्टाचारमा संलग्नहरूलाई कारबाही गर्ने कुराहरूले पार्टीको इज्जत पनि बढेको छ र देशमा आशावादी सिर्जना भएको छ।’​

त्यसैगरी केन्द्रीय सदस्य नारायणी शर्माले भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्दा पार्टीभित्रकै मान्छेहरू परे पनि छोड्न नहुने बताइन्। अनुसन्धानमा दोषी देखिए कारबाही गरेर अघि बढ्नुपर्ने उनले बताइन्।

उनले भनिन्, ‘भ्रष्टाचार अन्त्य गर्न र सुशासन स्थापना गर्न पार्टीभित्रकै कुनै नेता भए पनि छोड्नु हुँदैन। केही त्यस्ता सबुत, प्रमाणहरू फेला परे कोही पनि बच्न सक्ने स्थिति छैन र अहिले यो सरकारले कसैलाई पनि बचाउन सक्दैन। यो सरकारको प्रतिबद्धताको कुरा हो। हामीले यही बुझेका छौँ।’

केन्द्रीय सदस्य रामकुमार शर्माले सरकारले भ्रष्टाचारीहरूलाई कारबाही गर्न फायर खोलिसकेपछि पछि हट्नु नहुने बताए। उनले पार्टीभित्रकै मान्छे दोषी देखिए पनि कारबाही गर्नुपर्ने माग गरे।

उनले भने, ‘सरकारको तर्फबाट फायर खोलिसक्यो। यसमा हाम्रो पार्टी परोस् या बाहिरको परोस्। मान्छे हेरेर कारबाही गर्ने होइन, दोषीलाई कारबाही गर्ने गरोस् भन्ने छ।’

केन्द्रीय सदस्य मुक्ति प्रधानले सुन तस्करी अथवा भ्रष्टाचारमा संलग्न नेताहरूको संलग्नता भए पनि नछाडिने बताए। उनले सुशासन, समृद्धि र सामाजिक न्यायको प्रत्याभूतिका लागि पार्टी र सरकार निर्मम हुन जरुरी रहेको उल्लेख गरे। पार्टी उपाध्यक्ष अथवा मन्त्री, नेता, कार्यकर्ता जो परे पनि कारबाही गर्नुपर्छ भन्नेमा एक स्वर रहेको बताए।

उनले देशमा सुशासन कायम गर्न राष्ट्रघाती काम गर्नेहरूलाई कारबाही गर्नैपर्ने धारणा राखे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.