|

काठमाडौं : सरकारको नेतृत्व संसदीय दलको नेताले गर्ने प्रचलन छ। तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्ष वयोवृद्ध अवस्थाका नेताहरूले चलाइरहेका छन्। शेरबहादुर देउवा कांग्रेस, केपी शर्मा ओली एमाले र पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्रको नेतृत्व हाँकिरहेका छन्। उनीहरू तीनै जना उमेरले ७० वर्ष पार गरिसकेका छन्। 

विसं २००३ साल जेठ ३१ गते जन्मिएका देउवा उमेरले ७७ वर्ष पारे। उनले पाँच पटक प्रधानमन्त्री बनेर देश र दुईपटक सभापति भएर पार्टी चलाइसकेका छन्।

विसं २००८ फागुन ११ गते जन्मिएका ओली पनि ७१ वर्ष पार गरिसकेका छन्। दुई पटक प्रधानमन्त्री र दुई पटक नै पार्टी अध्यक्ष बनेका छन्।

यता प्रतिनिधिसभामा तेस्रो तर सरकारको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्ड पनि आगामी मंसिरबाट ७० वर्ष लाग्दैछन्। विसं २०११ मंसिर २६ गते जन्मिएका प्रचण्डले तीन पटक देशको र विगत ३४ वर्षदेखि पार्टीको नेतृत्वमा छन्।  

उत्तराधिकारी को?

तीन वटै दलमा देउवा, ओली र प्रचण्डको उत्तराधिकारी को हुने भन्ने विषय पेचिलो बन्दै गइरहेको छ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा उपमहासचिव तहबाटै प्रचण्डपछिको उत्तराधिकारी को? भन्ने विषय उठाए। उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले प्रचण्डको विकल्प तत्काल कसैले नखोजेको बताउँदै उत्तराधिकारी तयार नगरेकामा असन्तुष्टि पोखे।  

‘अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन। अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु,’ उनले भने, ‘तर उत्तराधिकारी तयार पार्न विधिको विकास गरेर जाऔं।’

अर्का उपमहासचिव शर्माले चुनावी प्रतिस्पर्धाका आधारमा तलदेखि माथिसम्म नेतृत्व चयन नगरेकोमा असन्तुष्टि पोखे। 

उनले भने, ‘अब विधान नमिच्ने सङ्कल्प नेतृत्वले नै गर्नुपर्छ। नेतृत्व चयनका लागि पार्टीभित्र मनोनयनको सट्टा निर्वाचनको प्रक्रिया प्रारम्भ गर्नुपर्छ। समावेशी प्रतिनिधित्वको लागि सम्बन्धित क्लष्टरमा निर्वाचन गर्नुपर्छ।’

माओवादी केन्द्रका नेता लेखनाथ दाहाल प्रचण्डको उत्तराधिकारी तयार नै नभएको दाबी गर्छन्। प्रचण्ड नै १६ वर्षे जवानसरह सक्रिय रहेकाले उत्तराधिकारी तयार नभएको उनको भनाई छ। 

‘प्रचण्डले नेतृत्व तोक्ने होइन। प्रचण्डपछिको नेतृत्व आउन उहाँभन्दा योग्य, गतिशील, जीवन्त, सक्रिय हुनुपर्‍यो। अहिले पनि उहाँ नै १६ वर्षे जवानसरह सक्रिय हुनुहुन्छ। त्यो सक्रियता, इमान्दारिता र विचारमा श्रेष्ठता जसले कायम गर्नसक्छ ऊ नै नेतृत्वमा हुन्छ। अहिलेसम्म हाम्रो पार्टीमा सर्वोच्च कमाण्डर प्रचण्ड हुनुहुन्छ। प्रचण्डको प्रतिष्पर्धी पनि छैनन्। प्रतिष्पर्धामा लायक जुन दिन आउँछन् त्यो दिन प्रतिष्पर्धामा जसले अग्रता कायम गर्छ उही हुन्छ। उत्तराधिकारी निर्माण गर्ने भनेको सम्बन्धित व्यक्तिमा भर पर्छ,’ उनले भने।

प्रचण्डले पनि आफू पार्टी नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताउने गरेका छन्। उनले भन्ने गरेका छन्, ‘म आफैँ पनि जीवनको उत्तरार्धमा छु। अब पार्टीलाई विधिमा चल्ने बनाएर नेतृत्व हस्तान्तरण गर्छु।’ 

प्रचण्डले पार्टी नेतृत्व हस्तान्तरण गर्ने तहका नेताहरू तयार नभएको बताउँदै आइरहेका छन्। उनले नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा ल्याउने तयारी गरिरहेका छन्। प्रचण्डले विप्लवलाई महासचिव बनाएर भित्र्याउने तयारी गरेका हुन्। 

‘वर्षमान र जर्नादन कमरेडले गुट चलाएर पार्टीलाई ध्वस्त बनाएको गुनासो अध्यक्षको छ। अब उहाँले विप्लव कमरेडलाई भित्र्याएर उत्तराधिकारीको रूपमा हेर्नुभएको छ,’ माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले भने।

माओवादीभित्र प्रचण्डको उत्तराधिकारीका रूपमा उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरूङ, उपमहासचिवद्वय वर्षमान र जनार्दन शर्मालगायत नेताहरू आकांक्षीका रूपमा छन्। तर प्रचण्डले यी सबै नेताहरूलाई स्वीकार गर्न सकेका छैनन्। उनको रोजाईमा विप्लव परिरहेको स्रोतको दाबी छ। 

नेपाली कांग्रेसमा पनि नेतृत्व परिवर्तनका विषयमा आवाज उठिरहेको छ। महामन्त्री गगनकुमार थापाले नेतृत्व परिवर्तन गर्न आफैं अग्रसरता देखाइरहेका छन्। महामन्त्री थापाले नेतृत्व परिवर्तनका लागि आफू लागिरहने बताउने गरेका छन्।  

‘किन आत्तिएको, मैले पार्टी फुटाउन लागेको हो र? मैले त नेतृत्व परिवर्तनको कुरा गरेको हो। अब कसैले प्रश्न नसोध्नुहोला। म नेतृत्व बदल्न लागिरहन्छु,’ थापाले केन्द्रीय कमिटी बैठकमा भनेका थिए, ‘पार्टी जमेको पोखरी भएको छ। तीस पैंतिस वर्षदेखि ४/५ जना म्युजिकल चेयर खेले जस्तो छ। यो बदल्नुपर्छ भन्ने ठानेको छु। यो सबैको हकमा लागेको छ। मेरो हकमा पनि लागू हुन्छ।’

कांग्रेसमा देउवाको उत्तराधिकारीका रूपमा डा. शेखर कोइरालालाई हेरिएको छ। यद्यपि नेताहरू पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शशांक कोइराला पनि आकांक्षी छन्।

युवा पुस्ता पनि नेतृत्वमा आकांक्षी छ। उपाध्यक्ष धनराज गुरूङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि नेतृत्वमा दाबेदार हुन्। यद्यपि सभापति देउवाले कोइरालालाई भावी सभापतिका रूपमा हेरेको कांग्रेस स्रोत बताउँछ। 

‘१४ औं महाधिवेशनमा सभापतिजीले १५ औं महाधिवेशनमा आफूले छोडिदिने बताउनुभएको थियो। उहाँले आफ्ना प्रतिष्पर्धी शेखरलाई संकेत दिनुभएको छ। अन्य साथीहरू पनि आकांक्षी छन्। तर सभापतिले उहाँहरूबाट पार्टी नेतृत्वको सम्भावना देख्नु भएको छैन,’ कांग्रेसका एक पदाधिकारीले थाहाखबरसँग भने। 

एमालेभित्र पनि नेतृत्व परिवर्तनका विषयमा आवाज उठिरहेको छ। यद्यपि एमालेमा नेतृत्वविरूद्ध खुलेर आवाज उठाउने नेता न्यून छन्। अध्यक्ष ओली पछिको उत्तराधिकारीमा उनीनिकट नेताहरू नै छन्। 

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ, महासचिव शंकर पोखरेल लगायतका नेताहरू नेतृत्वमा आकांक्षी छन्।

यद्यपि यी सबै नेताहरू अहिले अ‍ोलीको रोजाइमा छैनन्। ओलीले एमालेको नेतृत्वमा तेस्रो नेतालाई ल्याउन चाहेका छन्। उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो उत्तराधिकारीका रूपमा हेरेका छन्।

एमालेको उपाध्यक्षसमेत भइसकेकी भण्डारी तत्कालीन महासचिव मदन भण्डारीकी पत्नीसमेत हुन्। अहिले एमालेका नेता कार्यकर्ताहरूले भण्डारीलाई आगामी अध्यक्षको रूपमा हेरेका छन्। 

‘अध्यक्ष केपी कमरेडको उत्तराधिकारी यिनै नेताहरूलाई स्वीकार गर्न सकिँदैन। सबै कार्यकर्ताले रूचाएको पूर्वराष्ट्रपति विद्या कमरेडलाई हेरिएको छ। उहाँ सर्वस्वीकार्य नेतृत्व हुनुहुन्छ,’ एमालेका एक सचिवालय सदस्यले थाहाखबरसँग भने। 

परम्परागत उत्तराधिकारी

नेपालको परम्परामा राजनीतिक दलका नेतृत्वले आफू निकटलाई उत्तराधिकारीको रूपमा उभ्याउने गरेका छन्। क्षमता नभएका व्यक्तिलाई विश्वासपात्रका नाममा नेतृत्व हस्तान्तरण गर्दा पार्टी र देशले क्षति बेहोर्नुपर्ने नेताहरूले बताउने गरेका छन्।

नेपाली कांग्रेसका नेता गुरूराज घिमिरे पार्टी र देशको नेतृत्वमा आउने व्यक्तिलाई परीक्षण गराएर मात्रै भित्र्याउनुपर्ने बताउँछन्। 

‘नेतृत्व हस्तान्तरणमा पराम्परावादी सोच जुन छ‚ उसले आफू निकटलाई नेतृत्वमा ल्याउँदै जान्छ। तर नेतृत्वमा बसेर पार्टी नेतृत्व र सरकारमा कस्तो नेतृत्व गर्‍यो भनेर त्यसलाई मानक बनाएर नेतृत्वमा ल्याउनुपर्छ। तर पार्टी पदाधिकारीमा पकड जमाएर राज्य र पार्टीमा नेतृत्व गरिरहने परिपाटी छ। पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न मापदण्ड तोकिदिए आफैं भागिहाल्छन् नि,’ उनले भने। 

नेता घिमिरेले कम्युनिष्ट दलमा लामो समयदेखि नेतृत्वमा एकछत्र राज गर्ने परम्परा अहिले लोकतान्त्रिक दल कांग्रेसमा पनि सरेको बताए। 

‘कम्युनिष्ट दलमा एकपटक शक्ति हातमा लिएपछि निरन्तर नेतृत्वमा रहने परम्परा छ। कांग्रेस लोकतान्त्रिक दल भए पनि कम्युनिष्टको सिको गर्न थालेको छ,’ उनले भने।  

नेकपा एमालेका नेता कर्णबहादुर थापा नेताको उद्देश्य र पार्टीको नेता बन्न वैचारिक पक्ष बलियो हुनुपर्ने बताउँछन्। पार्टी नेतृत्वले आफूपछिको उत्तराधिकारी तयार गर्नुपर्ने उनको भनाई छ। 

‘नेतृत्व हस्तान्तरणको सहज विधि अपनाउन सकिन्छ। विश्वमा दुई प्रकारले नेतृत्व हस्तान्तरण हुन्छ। एउटा प्रतिष्पर्धात्मक र अर्को सहज ढंगले नेतृत्व तोकिन्छ। कार्यकाल तोकेर पनि लैजान सकिन्छ। जसले नेतृत्व गरिरहेको छ उसले प्रतिभावान व्यक्तिलाई क्षमतावान बनाउँदै भावी नेतृत्वका लागि योग्य बनाउने परिपाटी बसाल्नुपर्छ,’ उनले भने।

नेता थापाले नेतृत्व छनोटमा पूर्ण लोकतान्त्रिक विधि पनि उचित नहुने बताए। भोट बटुल्न चर्चित भाषण गरेर क्षमताविहीन व्यक्ति नेतृत्वमा आउन सक्ने भएकाले कार्यकर्ता तहबाट नेतृत्व छनोट गर्नुपर्ने उनको भनाई छ। 

‘त्यसले गर्दा असल मान्छे नेतृत्वमा आउन सक्दैनन्। अहिलेको नेतृत्वमा आफ्नो निकटलाई सुम्पिने परम्परा छ। त्यो गलत हो। शीर्ष नेताले उत्तराधिकारी तोकेर देश र पार्टीको संकट पार लगाउन सकिँदैन। त्यसैले कार्यकर्तालाई नेतृत्व छनोटको जिम्मेवारी दिनुपर्छ,’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.