मुगु : कर्णालीका जिल्लामा चामल र नुनको सधैँ पिरलो हुन्छ। मुगुमा जनताले नुन पाउनै कठिन छ। अर्थात् मुगाली जनताका लागि सुन जस्तै महँगो छ नुन भने यतिवेला देशको राजधानी काठमाडौंमा सुन तस्करीको किचलो चलिरहेको छ।
अहिले कर्णाली प्रदेशको विकट जिल्ला मुगुमा चामल अभाव छ। मौज्दात पर्याप्त नहुँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल बिक्री वितरणमा रोक लगाएको छ।
कम्पनीले एक सातादेखि चामल बिक्री वितरणमा रोक लगाएसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी पुगेका उपभोक्ता रित्तो हात फर्किन बाध्य छन्।
भौगौलिक विकटताका कारण खाद्यान्न उत्पादनमा कमी हुने भएकाले यो समस्या वर्षेनि दोहोरिने गर्छ। खाद्यान्न पर्याप्त नभएका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले साउन ११ गतेबाट चामल बिक्री वितरणमा रोक लगाएको छ।
कम्पनीले चामल बिक्री रोकेपछि सस्तो मूल्यमा खाद्यान्न लिन पुग्ने मुगुका बासिन्दा रित्तो हात फर्किने गरेका उपभोक्ताको भनाई छ।
मुगुमा आर्थिक वर्ष ०७९/८० को स्वीकृत कोटा जिल्लाभरि २६ हजार ९५० क्विन्टल थियो तर समयमा ढुवानी ठेक्का नलगाउँदा कोटाअनुसार मुगुमा चामल पुगेन।
अहिले गोदाममा ६८० क्विन्टल मात्र खाद्यान्न मौज्दात छ। बर्षातका बेला भैपरि आउने विपद् व्यवस्थापनका लागि मौज्दात राखेर संस्थानले बिक्री वितरण बन्द गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगु शाखाका प्रमुख पुस्कर भामले जानकारी दिए।
उनका अनुसार भारतले खाद्यान्न निर्यातमा रोक लगाएको हुँदा विपत परेका बेला आवश्यक खाद्यान्न जोहोका लागि बिक्री बन्द गर्नु परेको प्रमुख भामको भनाई छ।
सुन जस्तै महँगो छ नुन
काठमाडौंमा तस्करीको सुनले व्यापक चर्चा पाइरहँदा कर्णालीमा नुनको पिरलो छ।
मुगुमा जनताले नुन पाउनै कठिन छ। अर्थात् मुगाली जनताका लागि सुन जस्तै महँगो छ नुन उता देशको राजधानीमा क्विन्टल सुन तस्करीको किचलो चलिरहेको छ।
कर्णालीमा यहाँका बासिन्दाले नुन पाए ठूलै लडाइँ जितेजस्तो हुने कहालीलाग्दो अवस्थाको छ। घरमा खाने नुनकै हाहाकार हुने पो हो कि भन्ने चिन्ताले कर्णालीवासी नागरिकताको फोटोकपी र हातको नङ्गमा मसीको रेजा लगाएर प्रतिव्यक्ति ५ किलो नुन पाउनका लागि धाइरहेका छन्।
मुगमा एक नगरपालिका र ३ गाउँपालिकालाई लक्षित गरी आव ०७९/८० को लागि ३ हजार ३९० क्विन्टल नुन जिल्लामा आए पनि नुनको अभाव भने टरेको छैन।
प्रतिव्यक्ति ५ किलो नुन लिन दूरदराजका स्थानीय कम्तीमा ५० रुपैयाँ पर्ने नुनलाई ५ हजार रुपैयाँसम्म खर्चिएर सदरमुकाम धाइरहेका छन्।
सोरु गाउँपालिका र खत्याड गाउँपालिकालाई १/१ हजार क्विन्टल नुन वितरण गरिसकिएको छ। अनुदानमा आएको नुन स्थानीयले पशु चौपायालाई समेत यही नुन खुवाउँदा अभाव भएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले अनुमान गरे।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको जिल्ला कार्यालय मुगुमा ३५० क्विन्टल मात्र नुन रहेको कार्यालयले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।