|

काभ्रे : जिल्लाको बनेपास्थित पुल बजार डुबानमा परेको छ। गत रातिदेखि परेको अविरल वर्षाका कारण पुल बजार क्षेत्र डुबानमा परेको हो।

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार सडकमा पानी जम्मा भएकाले निकास दिने काम भइरहेको छ। त्यसैगरी खोलामा आएको भेल बजारमा पसेपछि बिहानदेखि अरनिको राजमार्गमा सवारी आवगमनमा समस्या छ भने सो क्षेत्रको सडक अवरुद्ध छ।

प्रहरीले साना सवारी साधनलाई वैकल्पिक बाटो सिद्धार्थ कलेज हुँदै तीनदोबाटो निस्किने सडक प्रयोग गर्न आग्रह गरेको छ। वर्षा शुरु भएसँगै वर्षेनि बनेपाको पुलबजार क्षेत्रमा पानी जम्मा भएर सडक अवरुद्ध हुने गरेको छ।

वर्षाका कारण पुण्यमती खोलामा पानीको बहाव बढेर सडकमा पुगेको हो। त्यस्तै धनेश्वर पुल, इँटाभट्टाको रेशम मार्ग क्षेत्र पनि डुबानमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ। बनेपाको पुल बजार क्षेत्रको उचित निकास दिन नसक्दा त्यस क्षेत्रका बासिन्दाले सास्ती खेप्नु परेको छ, जनप्रतिनिधिलाई समेत टाउको दुखाइको विषय बनेको छ।

बाढीकै कारण काभ्रको रोशी गाउँपालिकास्थित काल्ढुंगा क्षेत्रमा आएको बाढीका कारण पुल भत्किदा बाटो अवरुद्ध भएको छ। खानीखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढी र पहिरोले घर गोठ पुरिएसँगै ताल्ढुंगा लघु जलविद्युत्‌मा समेत क्षति पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.