|

काठमाडौं : बूढानीलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिकाभित्र बग्ने यज्ञमती र चखुँचा खोलालाई पुरानै स्वरूपमा फर्काउन पहल थालिएको छ। काठमाडौं महानगरपालिकाले धोबीखोलातर्फबाट चखुँचा खोला खोल्न शुरु गर्ने भएको हो। 

शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, महानगरको टोली बिहीबार पुरिएको खोला खोल्न गए पनि स्थानीयको अवरोधका कारण काम अघि बढ्न सकेन। शुक्रबार बिहानदेखि चखुँचाखोला खोल्ने तयारी महानगरले गरेको छ। काठमाडौं महानगरप्रमुख बालेन शाह र बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीबीच बिहीबार दिउँसो भएको छलफलमा चखुँचा खोला र यज्ञमती खोला खोल्ने सहमति भएको छ। 

नगर प्रमुख अधिकारीले भने, ‘काठमाडौँ महानगर प्रमुख बालेन शाह र मैले छलफल गर्‍यौँ। खोला खोल्ने विषयमा सहमति भयो। जहाँसम्म खोला पुरिएको छ, त्यहाँसम्म खोल्ने भन्ने सहमति भयो तर काम सुरु गर्न लाग्दा वडाध्यक्षको असहमतिले काम रोकियो। उहाँहरू र हाम्रो कुरा मिलिरहेको छैन।’

जसरी पनि खोला खोलिने

काठमाडौं महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष भुवन लामाले शुक्रबारदेखि यज्ञमती र चखुँचा खोलालाई पुरानै स्वरूपमा फर्काउने र खोला कायम गर्ने काम थालिने बताउनुभयो। उहाँले काठमाडौं महानगर प्रमुख शाह र बुढानीलकण्ठ नगर प्रमुख अधिकारी शुक्रबार कपनमै आएर छलफल गर्ने र काम अघि बढाउने सहमति भएको जानकारी दिए।

‘प्रमुखहरूको छलफलमा सीमाङ्कन, रेखाङ्कन र नापजाँच गर्ने सहमति भएको छ। तीन वटा नक्सामध्ये दुई वटामा खोला देखिन्छ’, उनले भने, ‘हालसाबिकको नक्सामा खोला नदेखिएकाले यस विषयमा नापी कार्यालयसँग पनि आवश्यक परामर्श गरिने छ।’

वडाध्यक्ष लामाले शुक्रबारबाटै खोला खोल्ने काम अघि बढ्ने बताए। उहाँले नगर र महानगरका खोला किनारका नागरिकले जग्गाको धनीपुर्जा ल्याउने र आवश्यक निर्णय लिएर काम थालिने बताए। बूढानीलकण्ठ नगर प्रमुख अधिकारीले पनि सहमति गरेर काम अघि बढाउने बताए। उनका अनुसार शुक्रबार बिहान दुई पक्षबीच छलफल हुने छ। 

काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले यज्ञमती र चखुँचा खोला अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउने जानकारी दिए। उनले प्रकृतिमाथिको दोहनलाई हटाउन र बाढीको समस्या समाधान गर्न बूढानीलकण्ठका जनप्रतिनिधि जिम्मेवार हुनुपर्ने बताए। यज्ञमती र चखुँचाखोला खोल्न बिहान करिब ९ बजे पुगेको महानगरको टोलीलाई बूढानीलकण्ठ नगरपालिका प्रमुख अधिकारी, वडा नं‍. १० का अध्यक्ष नवराज भट्टराईसहितले अवरोध गरे। वडा नं. १२ का अध्यक्ष शम्भु भट्टराईले भने सहमतिमै अघि बढ्नुपर्ने बताए। 

वडा नं. १० का अध्यक्ष भट्टराईले नगर प्रमुखसँग विवाद गर्दै डोजर चलाउन अवरोध गरे। उनीसहित समूहको अवरोधका कारण काम अघि बढ्न नसकेपछि साँझ महानगरको टोली फर्किएको हो। 

२० वर्षमै खोला बन्यो ढल

विसं २०६० भन्दाअघि खोलाको बहाव मिचेर संरचना बनाएपछि कपन र सरस्वतीनगर डुबानमा पर्ने गरेको हो। भूमाफियाले खोला मिचेर अव्यवस्थित आवास क्षेत्र बनाएपछि काठमाडौं महानगरपालिका–६ र बुढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ को पानीको स्रोत यज्ञमती र चखुँचाखोलालाई ढलमा परिणत गरिएको छ। 

स्थानीय राजनीतिज्ञ शेखर आचार्यका अनुसार अर्को खहरे तीनचुली, आरुबारी हुँदै रामहिटी सुबीगाउँ हुँदै फैका चोकबाट तेन्जिङ चोकदेखि आरम्भचोकबाट तलतिर आएपछि चखुँचा खोलामा परिणत भएको छ। २०५० सालपछि तत्कालीन कपन गाविसमा बस्ती विस्तार तीव्र भएको र क्रमशः खोला पुर्न भूमाफिया नै अघि सरेको आचार्यले बताए। 

२०६० साल भन्दाअघि खोलाको बहाव मिचेर संरचना बनाएपछि कपन र सरस्वतीनगर डुबानमा पर्ने गरेको हो। भूमाफियाले खोला मिचेर अव्यवस्थित आवास क्षेत्र बनाएपछि काठमाडौं महानगरपालिका–६ र बूढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ को पानीको स्रोत यज्ञमती र चखुँचा खोलालाई ढलमा परिणत गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.