|

ललितपुर : नेपालका नम्बर एक स्क्वास खेलाडी अरहन्त केशर सिंहले पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि जितेका छन्। यो प्रतियोगिताको लगातार पाँचौँ पल्ट उपाधि जित्ने क्रममा उनले फाइनलमा दीपक थापालाई ३–० को सोझो सेटमा पाखा लगाए। 
नेपाल स्क्वास एण्ड ​र्‍याकेट्स संघ (एनएसआरए)को सात दोबाटोस्थिति स्क्वास हलको सेन्टर कोर्टमा सम्पन्न खेलमा अरहन्तले ११–६, ११–४ र ११–८ ले सजिलै दीपकलाई हराए। 

दोस्रो  भएका दीपकले सेमिफाइनलमा १९औँ एशियाडका लागि छनौट भएका अमिर ब्लोनलाई हराएका थिए भने विजेता अरहन्तले उमित शाक्यलाई सेमिफाइनलमा पन्छाएका थिए। दीपक अघिल्लो संस्करणमा तृतीय भएका थिए। 

ट्रफीसँगै २१ हजार रुपैयाँ प्राप्त गरेका अरहन्तले सन् २०१६, २०१७, २०१८ , २०२२ र २०२३ मा गरी पाँच पटक उपाधि जितेका हुन्। उपविजेता दीपकले १५ हजार रुपैयाँ प्राप्त गर्दा सेमिफाइनलसम्मको यात्रा तय गरेका अमिर र उमितले समान ५–५ हजार रुपैयाँ प्राप्त गरे।

महिला एकलमा तेस्रो वरियताकी कृष्णा थापाले नेपालको शीर्ष वरियताकी विपना ब्लोनलाई हराउँदै लगातार दोस्रो पटक उपाधि जितिन्। कृष्णाले  अघिल्लो संस्करणमा पनि विपनालाई नै हराएर उपाधि जितेकी थिइन्। सोही इतिहास दोहोर्‍याउने क्रममा कृष्णाले विपनालाई सोझो सेटमा ११–६, ११–९ र ११–९ ले हराइन्। 

विपनाले गत वर्ष नवौँ राष्ट्रिय खेलकुदमा महिला एकलको उपाधि जितेकी थिइन्। विजेता र उपविजेता दुबै १९औँ एशियाडमा छनाेट भइसकेका खेलाडी हुन्। 
विजेता कृष्णाले २१ हजार र उपविजेता विपनाले १५ हजार नगद जित्दा संयुक्त तेस्रो भएका स्वस्थानी श्रेष्ठ र भावना सुनुवारले ५–५ हजार नगद प्राप्त गरे। भावना यसअघि सम्पन्न भएका पहिलो , दोस्रो र तेस्रो संस्करणकी विजेता खेलाडी हुन्। 

यसैगरी प्रतियोगिता अन्र्तगत नै ब्वाइज यु–१९ मा पासाङ ब्लोन विजयी भए।  विकास मगरलाई ११–५, ८–११, ११–८, ११–५ ले पराजित गदै पासाङले सो समूहको उपाधी जितेका हुन्।

सो प्रतियोगितामा पासाङको यो दोहोरो उपाधि हो। अघिल्लो दिन मात्र पासाङ प्लेट विधामा पनि च्याम्पियन बनेका थिए। विजेता पासाङले ११ हजार जित्दा उपविजेता विकासले ६ हजार नगद हात पारे। सो विधामा तृतीय हुनेले ३–३ हजार नगद प्राप्त गरे। 

यसैगरी मास्टर्स (प्लस -५०) एकल विधामा प्रवीणवीर सिंह कंसाकार विजेता बने। उनले फाइनलमा सुदिपबहादुर सिंहलाई ११–६, १२–१०, १०–१२, १०–६ ले पाखा लगाए। 

घरेलु स्क्वासको सबभन्दा ठूलो प्रतियोगिताका रुपमा यसलाई लिइन्छ।  संघका निवर्तमान अध्यक्ष किशोर महर्जनकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्ने गरिएको छ। 

हाङ्जाओमा राम्रो खेल्ने अठोट 

पुरुष शीर्ष वरियताका अरहन्त पनि हाङ्जाओ एशियाडमा नेपालका तर्फबाट सहभागी हुँदैछन्।

उनले चीनमा सकेको राम्रो प्रर्दशन गर्ने प्रतिबद्धता व्याक्त गरे। ‘ हामी र हाम्रो टिम भन्दा त्यहाँ सहभागी हुने अन्य देश धेरै शक्तिशाली छ , ’ उनले भने, ‘ त्यही पनि एउटा न एउटा म्याच जित्नका लागि भरमग्दुर प्रयास गर्नेछु। मेरो उद्देश्य एशियाडमा पदक जित्न नसके पनि दक्षिण एशियाली खेलकुदमा पदक जितेर देशको झण्डा फरफराउने चाहना छ। 

उपाधि जितेसँगै कृष्णाले चीनमा हुने एशियाडमा राम्रो प्रर्दशन गर्ने बताइन्। उनले थाहा खबरसँग भनिन्, ‘ त्यहाँ हाम्रो बलिया प्रतिद्वन्दीसँग प्रतिस्पर्धा हुनेछ। त्यहाँ हामीले जित्ने भन्दा पनि राम्रो प्रर्दशन गर्ने हो।’ उनका अनुसार विश्वका शीर्ष २० खेलाडी नै एशियाका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.