|

सल्यान : सरकारले ८ वर्षअघि देशभर तुइन विस्थापन गर्ने घोषणा गरे पनि कार्यान्वयन हुन सकेको छैन।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले (२०७२ साल)मै दुई वर्षभित्र तुइन विस्थापित गर्ने उद्घोष गरे पनि सल्यान र जाजरकोटका स्थानीय बासिन्दा अझै पनि तुइनकै भरमा भेरी नदी वारपार गर्न बाध्य छन्।

सरकारले तुइन हटाएर झोलुंगे पुल बनाउने योजना अघि सारे पनि घोषणा गरेको झन्डै एक दशक हुँदा पनि तुइन विस्थापन हुन सकेको छैन।

पायक पर्ने ठाउँमा पुल नहुँदा दैनिक उपभोग्य सामग्री ओसारपसार गर्ने, विद्यार्थी, महिला बिरामी र बालबालिकाले आवतजावतमा सास्ती खेप्नु परेपछि प्रत्येक घरले रकम उठाई झोलुंगे पुलको लहरा किनी तुइन बनाएको सल्यान बनगाड कुपिण्डे नगरपालिका–२ का ६० वर्षीय मानबहादुर घर्तीले बताए। १२५ मिटर लामो भेरी पुलमा आफैंले डोरी तान्दा हातका छाला जाने गरेको उनको भनाइ छ।

बनगाड कुपिण्डे नगरपालिका–२ कुनिक, बामे, लाहाघाट, राइरा र जाजरकोटको छेडा नगरपालिका–१३ खाराका स्थानीय तुइनकै माध्यमबाट भेरी वारपार गर्दै आएका छन्।

धेरै ठाउँमा तुइन विस्थापन गरेर झोलुंगे पुल बनाए पनि अझै केही ठाउँमा बनाउन सकेको छैन। नदीमा झोलुंगे पुल र अन्य ठाउँबाट आवतजावत गर्ने बाटो नहुँदा वर्षौदेखि तुइनबाट जोखिमपूर्ण यात्रा गर्दै आइरहेको डिल्ली घर्तीको भनाइ छ। अप्ठेरो बाटोबाट जोखिमपूर्ण आवतजावत गर्नुभन्दा तुइनकै सहायता लिनु आफूलाई ठिक लागेको उनले बताए। उनका अनुसार स्कुले बालबालिका, वृद्धवृद्धा लगायतलाई तुइनकै भरमा नदी वारपार गर्नुपर्ने बाध्यता छ।

कुनिक नजिकै भेरी नदीमा झोलुंगे पुल निर्माणका लागि यो वर्ष प्रक्रिया अघि बढेको बनगाड कुपिण्डे नपा–२ का वडाध्यक्ष मनबहादुर खत्रीले बताए। सल्यान र जाजरकोटका बासिन्दाले पैसा संकलन गरी तुइन निर्माण गरी दैनिक आवतजावत गर्दै आइरहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.