दक्षिण ललितपुरका मुख्य तथा भित्री सडक पनि पहिरोको चपेटामा

|

ललितपुर : लगातारको झरीका कारण ठाउँ–ठाउँमा पहिरो जाँदा कान्ति लोकपथ पुन: अवरुद्ध भएको छ। हेटौंडालाई काठमाडौंसँग जोड्ने छोटो मार्गका रूपमा रहेको कान्ति लोकपथ ललितपुरमा गएको पहिरोका कारण अवरुद्ध भएको छ।

केही दिन अघि पनि पहिरोका कारण यो सडकखण्ड बन्द भएको थियो। लगातार पानी पर्दा सडकमाथिबाट ढुंगा र माटो झरेपछि कान्ति लोकपथ पुन: बन्द भएको हो। मकवानपुरपट्टि भने कुनै समस्या नरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।  

ललितपुरको बागमती गाउँपालिका अन्तरगतको छपेलीदेखि बगुवासम्मको सडकमा ठाउँठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको भट्टेडाँडा प्रहरी चौकीले जनाएको छ। वडा नम्बर ३ मा पर्ने पाङ्दुरगैरामा ढुंगासहितको पहिरो खस्दा सडक अवरुद्ध बनेको भट्टेडाँडाका वरिष्ठ प्रहरी सहायक निरीक्षक माधव सिलवालले जानकारी दिए। त्यहाँ सडकमा थुप्रिएको माटो र ढु‌गा र गेग्रिनले अवरोध भएको उनले बताए।  

यस्तै सोही वडाको टाँकुचेमा खसेको पहिरो भने पन्छाएको उनले जानकारी दिए। त्यहाँ पुगेका केही गाडीलाई भने आइतबार साँझ नै प्रहरी र स्थानीयको सहयोगमा गन्तव्यमा पठाएको वरिष्ठ प्रहरी सहायक निरिक्षक सिलवालले बताए।

‘पानी परिरहेको र सडकमाथिबाट ढुंगा खसिरहेकाले पन्छाउन कठिनाइ भइरहेको छ’, उनले भने, ‘यस्तै तरिकाले पहिरो खसिरहेको खण्डमा र ठूलो ढुंगा खसेमा हामीसँग उपलब्ध सानो जेसीबी र लोडरले मात्र पुग्दैन। स्काभेटर नै चाहिन्छ।’ पहिरोका कारण सडक अवरुद्ध हुँदा हेटौँडा जान गुडेका केही गाडी छपेलीबाटै फर्काएको उनले बताए। सोमबार बिहानैदेखि मौसमले साथ दिनासाथ अवरोध पन्छाएर सडक खुलाउने तयारी भइरहेको उनले बताए। 

दक्षिण ललितपुरसँगको सम्पर्क 
कान्ति लोकपथ बन्द हुँदा हेटौँडा जाने र आउने मात्र नभएर दक्षिण ललितपुरको बागमती गाउँपालिकाका इकुडोल, माल्टा, प्युटार, आस्राङ र गिम्दीको काठमाडौंसँग सडक सम्पर्कमा अवरोध भएको छ।

महांकाल गाउँपालिकाका ठूला दुर्लुङ, चन्दनपुर हुँदै गोटिखेलबाट पनि काठमाडौं प्रवेश गर्ने मार्ग भए पनि त्यो बाटो घुमाउरो पर्ने र त्यहाँका सडकमा पनि ठाउँ ठाउँमा पहिरो खसेकाले चापागाउँ हुँदै काठमाडौं छिर्न समस्या भएको छ।

‘वर्षाको समय दक्षिण ललितपुरका सडक जोखिममै हुन्छन्। कतिवेला कहाँ पहिरो खस्छ त्यो थाहा हुन्न’, स्थानीय पत्रकार सन्तोष दाहाल भन्छन्, ‘कान्ति लोकपथको छपेलीदेखि नै सडक बन्द भयो भने इकुडोल, माल्टा, प्युटार, आस्राङ र गिम्दीका बासिन्दालाई सकस हुन्छ।’

ठूला दुलुङपटिका सडक पनि कुन बेला बन्द हुने कुन बेला खुल्ने टुङ्गो छैन। बाटो माथि र बाटो तल सडक भासिने जोखिम यहाँ देखिएको महांकालकी उपाध्यक्ष डोल्मा माया गोलेले बताइन्। ‘जहाँ बढाएर बाटो खनेको छ’, उनले भनिन्, ‘त्यहाँ यस्ता समस्या देखिएका छन्।’ 

तन भञ्ज्याङ, अस्पताल माथि जाने बाटो, गोटिखेलपट्टिको नमन डाँडा नजिकै सडकमा समस्या देखिएको गोलेले बताइन्। उनका अनुसार समस्या देखिएको स्थानमा डोजेर पठाएर सडक खुलाउने प्रयास गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.