|
फाइल तस्वीर

पर्वत : केही दिनदेखि निरन्तर परेको वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको संगमस्थलमा पर्ने पर्वतको विहादी गाउँपालिका–६ सेतीवेणीमा रहेको उक्त शालिग्राम शिला डुबानमा परेको हो। 

कालीगण्डकीमा पानीको सतह उच्च विन्दुमा पुगेपछि शिला पूर्णरुपमा डुवानमा परेको स्थानीय तिलक पराजुलीले बताए। उनका अनुसार शिला डुवानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितसमेत विस्थापित भएका छन्। 

प्रवित्र मानिने शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायत संरचना डुवाएको बताउँदै पराजुलीले शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबियनसमेत पुरिएपछि शिला दर्शन गर्न जाने सबै पूर्वाधारमा पूर्णरुपमा क्षति पुगेको जानकारी दिए।

मुस्ताङको कागबेनीमा ठूलो क्षति गरेको कालीगण्डकी आइतबार रातिदेखि यसवर्षकै उच्च बहावमा बगेको स्थानीयवासीले बताएका छन्। कतिबेला घरसम्मै आएर डुबाउने हो भन्ने चिन्ताले आइतबार रातभर जाग्राम बसेको स्थानीय रवि भट्टराईले बताए। 

कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीवेणी बजार डुबानको खतरामा पर्ने गरेको उनको भनाइ थियो।

कालीगण्डकी र सेतीखोलाको बहाव बढेर डुबानमा पर्ने चिन्ताले पर्वत र स्याङ्जातर्फका बजार क्षेत्रका झण्डै २ सय व्यापारी तथा सर्वसाधारण त्रसित बनेका छन्। १४ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित बनेका थिए। 

विसं २०६६ असोज २१ मा बजार क्षेत्र डुबानमा परेको घटनाले सधैँ त्रास थप्ने गरेको स्थानीय व्यवसायी विष्णु न्यौपानेले बताए। उनले विश्वकै ठुलो शालिग्राम शिला डुबे पनि पानी बजारसम्म आइनसकेको जानकारी दिए। 

अहिले पानीको बहाव उच्च रहेको इलाका प्रहरी कार्यालय हुवासले जनाएको छ। बजार क्षेत्रसँगै जोडिएको मन्दिरको सत्तलमुनिको सिँढीसम्म बहाव आइपुगे पनि बजारवासीलाई भने खतरा नभएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.