|

धादिङ : त्रिशूली नदीमा आएको बाढीले धादिङ र गोरखा जोड्ने दुईवटा झोलुंगे पुलमा क्षति पुग्दा विशेष गरी किसान र विद्यार्थीसमस्यामा परेका छन्। किसानले उत्पादन भएको तरकारी तथा फलफूल बिक्री गर्न बजार पुर्याउन पाएका छैनन् भने नदी तरेर आउजाउ गर्ने विद्यार्थी विद्यालय पुग्न सकेका छैनन्।

गण्डकी गाउँपालिकाको भुम्लिचोक र ध्याल्चोकका किसानले बारीमा उत्पादन गरेका तरकारी तिनै झोलुंगे पुलबाट आउजाउ रोकिँदा मुख्य सडकसम्म पुर्याउन पाएका छैनन्। ती क्षेत्रमा उत्पादन भएका तरकारी काठमाडौं चितवनलगायतका क्षेत्रमा पठाएर बिक्री गरिँदै आएको छ। यस पुलबाट  तरकारी लिएर बजार किनमेलमा आउने  ९४ घरधुरी  किसान बजारसँगको सम्पर्क विच्छेद भएको स्थानीय सीता गिरीले जानकारी दिइन्। पुलमा ओहोरदोहोर गर्न नसक्दा गण्डकी गाउँपालिका र बेनीघाट रोराङ गाउँपालिका बासिन्दालाई समस्या भएको छ।

बाढीले पुलमा क्षति पुगेपछि दैनिकरूपमा पठनपाठनका लागि विद्यालय आउजाउ गर्नुपर्ने विद्यार्थी पनि विद्यालय जानआउन समस्या भएको छ। पुलमा क्षति पुगेपछि मझिमटारमा रहेको शङ्खादेवी माविमा पढ्ने गोरखाका विद्यार्थी विद्यालय आउन पाएका छैनन्। गोरखाबाट धादिङको बेनीघाटस्थित शङ्खादेवी माविमा मात्रै २२ विद्यार्थी रहेको शिक्षक तिलक चेपाङले बताए। उनीहरूलाई वैकल्पिक बाटो प्रयोग गर्दा दैनिक चार घन्टाभन्दा बढी समय पैदल हिँड्नुपर्छ।

लगातार वर्षापछि त्रिशूली नदीमा आएको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौँदी र गोरखाको गण्डकी गाउँपालिका–७ जोड्ने त्रिशूली नदीमाथिको झोलुंगे पुल क्षति भएको छ। यस्तै धादिङको बेनीघाट रोराङ–१० र गोरखाको गण्डकी–६ जोड्ने हिक्लुङघाटको झोलुंगे पुलमा पनि क्षति पुर्याएको छ।

दुवै पुलका केही डन्डी भाँचिएको छ भने लठ्ठा झोल्लिएको छ। बाढीले बगाएर ल्याएका काठ दाउरा पुलमा अड्किएको छ। अहिले पुलबाट आवतजावत गर्न सकिने अवस्था नरहेको स्थानीयले बताएका छन्। बाढीले हिर्काएर हिक्लुङघाटमाथिको झोलुंगे पुलको ट्रस्ट नै बगाएको छ। धवादीघाटमाथिको झोलुंगे पुलको भने बाढीले लठ्ठा छिनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.