|

काठमाडौं : भैँसीको नश्ल सुधारका लागि मुर्रा जातका भैँसी र राँगा भारतबाट आयात गर्न थालिएको पाँच दशक नाघेको छ। 

बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, नेपालको पशु विकास कार्यक्रम अन्तर्गत भारत सरकारको सहयोगमा २०२५ सालमा मुर्रा जातका ११६ भैँसी र ५८ राँगा ल्याइएका थिए। तीमध्ये ललितपुरको खुमलटार फार्ममा ३६ वटा, चितवनको रामपुर फार्ममा ४४ वटा तथा विराटनगरको तराई फार्ममा ३६ वटा भैँसी राखिएका थिए। राँगामध्ये तीन वटा कृषि फार्मका लागि दुई दुई वटा र बाँकी विभिन्न ग्राम पञ्चायतमा पठाइएका थिए। 

२०२५ साल भदौ १४ र २५ गते गोरखापत्रमा यसबारेमा समाचार प्रकाशन भएको थियो। समाचारमा ‘श्री ५ को सरकार, पशु पालन विभाग तथा पशु चिकित्सा सेवाको आवश्यकता अनुसार भारत सरकारको अतिरिक्त सहयोग अन्तर्गत जम्मा ४.६० लाख रुपैयाँलागतमा ती पशु  किनिएका तथा वितरण गरिएको छ’ भनी उल्लेख छ। भैँसीको सालाखाला मूल्य करिब दुई हजार ७०० रुपैयाँ परेको र प्रतिदिन सालाखाला १२.५–१९.५ केजी दुध दिने समाचारमा उल्लेख छ।

राँगा र भैँसी किन्न दुई अधिकृत तथा भारतीय सहयोग मिसनका एक अधिकृतको टोलीले भारतको हरियाणा, पञ्जाब र दिल्लीमा चार महिना बिताएको थियो। ‘राम्रो खालका पशुहरू मात्र चुनिएको छ र त्यही नेपाल आएका छन्। यद्यपि भारतमा यस्ता पशुहरूको आफैँ कमी छ, तापनि भारत सरकारले विशेष रूपमा नेपालमा यस्ता उन्नत जातको पशुहरू आपूर्ति गर्नमा सहमत भयो’, समाचारमा लेखिएको छ।

गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा १५ वटा मुर्रा राँगा नेपाललाई उपलब्ध गराउने सहमति भएको छ। शुरुमा ३० वटा राँगा उपलब्ध गराउने कुरा भए पनि पछि १५ वटामा सहमति भएको पशु सेवा विभागका पदाधिकारी बताउँछन्।

विभागका महानिर्देशक डा. सम्झनाकुमारी काफ्ले पाण्डेले हाल वीर्य उत्पादन गर्ने गरिएका राँगा पुराना भएको बताइन्। ‘शुद्ध नश्लबाट जन्मिएकाबाट बढी दुध उत्पादन हुन्छ’, उनले भनिन्, ‘त्यसैले नयाँ राँगा ल्याउन पहल भएको हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.