प्रोटेक्सन वाल लगाउन एउटैमा अर्ब खर्च लाग्ने

|

काठमाडौंबाट सबैभन्दा छोटो दूरीमा हेटौंडा पुग्ने कान्ति लोकपथ अविरल वर्षा हुनेबित्तिकै बन्द हुने गरेको छ। गत साता र यही साता आएका वर्षाका कारण पहिरो खसेर कान्तिलोकपथ बन्द रह्यो।

ललितपुर र मकवानपुरमा पर्ने यो सडक केहीबेर पानी पर्नेबित्तिकै एकैछिन बन्द भएर फेरि खुल्ने गरेको कान्ति राजमार्ग सडक योजनाले जनाएको छ।

​ साउनमा दुईपटक धेरैबेरसम्म सडक अबरुद्ध बनेको योजनाका सुपरभाइजर माधव प्रसाद घिमीरेले जानकारी दिए।

पानी धेरै बेर पर्नेबित्तिकै ढुङ्गा माटो सहितको पहिरो खसेर सडक बन्द भए पनि एकै छिनमा स्ट्याण्डबाई राखिएको सडक डिभिजनको डोजरको सहायताले पहिरो पन्छाइन्छ, उनले भने, भौगोलिक बनावट नै यस्तै छ कि यहाँ पानी आउने वित्तिकै पहिरो खस्ने, सडक भाँसिने संभावना रहन्छ।

विशेषगरी ललितपुरका ४ स्थान र मकवानपूरका २ स्थानमा पहिरोको जोखीम पहिचान सडक योजनाले काम सुरु गरिसकेको छैन।

उनका अनुसार ललितपुरमा तीनपानेदेखि झाँक्रीडाँडाको बीचमा रहेको नयाँ गाउँको पहिरो, झाँक्रीडाँडादेखि छपेलीबीचमा भालुखोलाको पहिरो , छपेलीमाथि देवीसाधको पहिरो र छपेली तल पाङ्दुरगैराको पहिरोले कान्ति लोकपथको ललितपुरतर्फ पहिरो खसेर दु:ख दिइरहेको छ।

मकवानपुरतर्फ ठीङ्गनभर्‍याङ डाँडाको पहिरो मुख्य चुनौती रहेको उनले बताए। टीकाभैरबदेखि तिनपाने नपुग्दासम्मका सडकमा पनि अघिल्ला वर्षहरुमा पहिरो खस्ने गरेपनि यो वर्ष त्यत्ति समस्या नदिएको सुपरभाइजर घिमिरेले बताए। 

कान्ति राजमर्ग सडक योजनाका प्रमुख सुरेश न्यौपानेका अनुसार पहिरो खस्ने जोखीम भएका ती स्थानमा सडक माथि झण्डै ७० मिटरदेखि नै भित्ताको प्रोटेक्सन वाल लगाउनुपर्छ। यसरी जोखीम पहिचान भइसकेका स्थानमा भरपर्दो तरिकाले प्रोटेक्सन गरेर पहिरो खस्न नदिन ५ अर्बभन्दा बढी खर्च गर्नुपर्ने हुन्छ, उनले भने,  एउटै पहिरोको स्थानमा १ अर्बसम्म खर्च लाग्न सक्छ। अहिले जाइकाले यस विषयमा अध्ययन गरिरहेको छ। उनका अनुसार कुनै एउटा पहिरोको दीर्घकालिन ट्रिटमेण्टले मात्र यसको असर बारम्बार आइरहँदैन। 

यो मार्ग हुँदै सातदोवाटोबाट ३ घण्टामै मकवानपुरको हेटौँडा पुग्न सकिन्छ। ललितपुरको ललितपुर महानगरपालिकास्थित सातदोबाटोबाट सुरु भएको कान्ति लोकपथ सुनाकोठी, गोदावरी नगरपालिकाको चापागाउँ, लेले, टीकाभैरव हुँदै बाग्मती गाउँपालिको तिनपाने भन्ज्याङ, झाक्रीडाँडा, छपेली, काल्चे पुग्दै बाग्मती नदी, बगुवा, ठीङ्गन, आलेभन्ज्याङ , सिमात , जितपुर भन्ज्याङ, मकवानपुरगढी, शिखरकटेरी, चुच्चेखोला, चौघडा, सानो पोखरा अनि महेन्द्र राजमार्गको बुद्धचोकसम्म रहेको छ। 

सातदोबाटो चापागाउ दोबाटोदेखि टीकाभैरवको पुलसम्मको ११ किलोमिटरको जिम्मा डिभिजन सडक कार्यलय ललितपुरले लिएको छ भने बुद्धचोकदेखि टीकाभैरवसम्म ७९ किलोमिटरको सडकको जिम्मा भने कान्ति राजमार्ग सडक योजनाले लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.