|

काठमाडौं : सरकारले विप्रेषणका कारण मुलुकको अर्थव्यवस्था टिकिरहेको भनिरहँदा आर्थिक वर्ष २०७९/८० मा मात्रै ४५ महिलासहित एक हजार २०८ युवाले ज्यान गुमाएका छन्।

शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको सङ्ख्या उल्लेख्य रहेको छ। यो संख्या यस अवधिमा विदेशमा मृत्य् भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट आर्थिक सहायता रकम लिनेको संख्या हो। यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउने धेरै रहेका छन्। 

बोर्डका अनुसार यस अवधिमा एक हजार २०८ मृतक श्रमिकका परिवारलाई आर्थिक सहायतास्वरूप ६५ करोड ५१ लाख ८० हजार रुपैयाँ प्रदान गरिएको छ। पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीविनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा नेपाली श्रमिक मृत्युकुण्डमा होमिन पुगेका हुन्। तथ्यांक अनुसार औसतमा दैनिक चार वटा शव काठको बन्द बाकसमा विदेशबाट नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन्। 

बोर्डका अनुसार आव २०६५/६६ साउनदेखि आव २०७९/८० सम्म १२ हजार १४० जनाले ज्यान गुमाएका छन्। यो सङ्ख्या बोर्डको सचिवालयबाट आर्थिक सहायता रकम लिनेको मात्रै हो। यस अवधिमा मलेसियामा सबैभन्दा बढी नेपालीले ज्यान गुमाएका छन्। आव २०७८/७९ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेको सङ्ख्या एक हजार ४८९ जना रहेको बोर्डले जनाएको छ। आव २०७८/७९ को तुलनामा २०८९/८० मा विदेशमा मृत्यु हुनेको सङ्ख्या २८१ जना कम छ। अघिल्ला वर्ष कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या गएको वर्षभन्दा बढी भएको बोर्डका निर्देशक राजन पौडेलले जानकारी दिए। 

आव २०७६/७७ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ६५६ श्रमिकका आफन्तलाई बोर्डबाट सात लाख रुपैयाँको दरले आर्थिक सहायता दिएकामा सो सङ्ख्या आव २०७७/७८ मा वृद्धि भएर एक हजार २४२ पुगेको थियो। 

वैदेशिक रोजगारीका क्रममा अधिकांशको मृत्युको कारण कार्यस्थलको दुर्घटना र सडक दुर्घटनामा मृत्यु हुने गरेको छ। कतिपय नेपालीले सुतेकै ठाउँमा विविध कारणले मृत्युवरण गर्ने गरेका छन्। मृत्यु हुनेमध्ये अधिकांश सडक दुर्घटना, प्राकृतिक मृत्यु, आत्महत्याको ठूलो सङ्ख्या छ। वैदेशिक रोजगारीका क्रममा करार अवधिभित्र मृत्यु भएका श्रमिकका परिवारले प्रतिव्यक्ति सात लाखका दरले आर्थिक सहायता रकम पाउँदै आएका छन्। निर्देशक पौडेलले आउँदो वर्षदेखि आर्थिक सहायताबापतको रकम बढाएर १० लाख पुर्‍याउने विषयमा छलफल भइरहेको तर टुंगो भने लागिनसकेको जानकारी दिए। 

वैदेशिक रोजगारविज्ञ डा. गणेश गुरुङले वैदेशिक रोजगारमा मृत्यु हुनुको प्रमुख कारण सामान्य सिप र सूचनाबिना नै विदेश जानु भएको बताए। नेपालबाट वैदेशिक रोजगारीमा जानेमध्ये ७६ प्रतिशत अदक्ष युवा विदेश जाने गरेको र त्यो सङ्ख्या बढी जोखिममा पर्ने गरेको उनको भनाइ छ। 

रोजगारीमा गएका ३८९ जना अंगभंग भई फर्किए

आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीको सिलसिलामा गएका ३८९ जना श्रमिक अंगभंग वा गम्भीर बिरामी भएर स्वदेश फर्किएका छन्। यसरी स्वदेश फर्किएका श्रमिकलाई बोर्डले जम्मा नौ करोड ९७ लाख आठ हजार रुपियाँ आर्थिक सहायता दिएको छ। बोर्डले बिरामी वा अंगभंग भएर फर्किएका श्रमिकलाई अवस्था हेरेर विशेषज्ञ चिकित्सकको सिफारिसमा अधिकतम सात लाख रुपैयाँ आर्थिक सहायता दिने गरेको छ। 

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका श्रमिकका दुई हजार ९५६ जना छोराछोरीलाई छात्रवृत्ति सहायतासमेत प्रदान गरेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.