|

ललितपुर : १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली कबड्डी महिला टोलीले आफ्नो स्तर उकास्न वैदेशिक प्रशिक्षण शुरु गर्दैछ।  

चीनको हाङझाउमा आगामी असोज ६ गतेदेखि २१ गतेसम्म चल्ने  एसियाली खेलकुदमा राम्रो प्रदर्शन गर्ने उद्देश्यसहित महिला टोली भारतको हरियाणामा एक महिनाको विशेष प्रशिक्षणमा निस्किएको हो।  

शुक्रबार राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीले छुट्टाछुट्टै तबरले टोलीलाई विदाइ गर्‍यो। राखेपले लैनचौरस्थित टेबलटेनिस हलमा तथा ओलम्पिक कमिटीले सातदोबाटोमा शुभकामनासहित विदाइ गरेको हो। राखेपका सदस्य सचिव टंकलाल घिसिङले पदकको सम्भावना बोकेको महिला टिमलाई पदक जितेर आउन शुभकामना दिए। 

उनले तयारी र प्रशिक्षणका क्रममा कुनै अभाव हुन नदिन कबड्डी संघलाई निर्देशन पनि दिए। ‘हामीले सबैतिर हेर्न भ्याउँदैनौँ। त्यो हेर्ने जिम्मा संघकै हो’, उनले भने, ‘आवश्यक परेको स्थानमा हामीले बजेट उपलब्ध गराउने हो। त्यसका लागि हामी तयार छौँ।’  ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले यस विशेष प्रशिक्षणले नेपाली टिमको तयारीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

संघकी अध्यक्ष तुलसा थापाले प्रशिक्षका क्रममा खेलाडीका लागि कुनै अभाव महशुस नगराउने वचन दिइन्। उनले टोलीले सुखद नतिजा ल्याए कबड्डी संघले पनि सुखद् फड्को मार्ने बताइन्। 

महिला कबड्डी टिममा १२ खेलाडी, प्रमुख प्रशिक्षक पार्वती राई, प्रशिक्षक विष्णु दत्त भट्ट र व्यवस्थापक कृष्णदेवी पन्त छन्।

एक महिनाको विशेष प्रशिक्षणबाट टोलीमा निखार आउने आशसहित हरियाणा पठाएको कबड्डी संघका महासचिव अरबिन्द झाले जानकारी दिए। 

उनका अनुसार हरियाणाको गुरुकुल एकेडेमीमा रहेर प्रशिक्षण लिने क्रममा महिला टिमले  त्यहाँका स्थानीय टिमसँग ७ वटा म्याच खेल्नेछ। 
‘गुरुकुलमा रहँदा प्रो–कबड्डीका व्यावसायिक प्रशिक्षकले समेत प्रशिक्षण दिनेछन्’, उनले भने, ‘हरियाणापछि दिल्लीको शाही सेन्टरमा पनि केही दिन राखेर प्रशिक्षण गराउने तयारी छ तर फिक्स भैसकेको छैन।’

हाङझाउ एसियाडमा नेपालले सहभागीता जनाउने  २९ खेल मध्येको एक खेल कबड्डी हो। यसपालि पहिलोपल्ट कबड्डीको पनि महिला टिम मात्रै सहभागी हुँदैछ। यसअघि पुरुष टिम मात्रै सहभागी भएको थियो। 

सन् १९९० को ११ औँ बेइजिङ एसियाड, १९९४ को १२ औँ हिरोसिमा एसियाड, १९९८ को १३ औँ बैंकक एसियाड र सन् २०१८ को १८ औँ जार्कता एसियाडमा नेपाल सहभागीतामै सिमित बनेको थियो। 

यसपालिको एशियाडमा नेपाली महिला टोली पदकको आशासहित चीनको हाङझाउ जानेछ। महिला टोलीको तयारी राम्रो भएको र खेलाडी पनि फिट रहेकाले राम्रो प्रदर्शन गर्न योग्य रहेको टिमकी प्रमुख प्रशिक्षक पार्वती राईले बताइन्। 

‘ हाम्रो तयारी राम्रो छ , बन्द प्रशिक्षणमा बसेर तयारी गरिरहेका छौँ , फिजिकल रूपमा राम्रै भएको छ।  टिममा फिटनेस छ’, उनले भनिन्, ‘देशमै बसेर एक अर्कासँग चिनजानका खेलाडीसँग मात्र खेलेर हाम्रो बाहिरी प्रदर्शन माथि उठ्न सक्दैन। यहाँ राम्रो देखिए पनि भोलि एसियाडमा आएका बलिया टिमसँग फेस गर्न कठिन हुनसक्छ। त्यसैले विदेशमा गएर केही अनुभवी खेलाडीसँग खेल्ने मौकाले हामीलाई थप उर्जा प्रदान गर्छ।’

प्रशिक्षक भट्ट हरियाणाको गर्मी मौसमसँग जुधेर खेलाडीले कठिन भन्दा कठिन परिस्थीतिमा पनि जुधेर खेल्न सक्ने अनुभव सँगाल्नेछन्। 
भारत, इरान, चाईनिज ताइपेई र दक्षिण कोरिया बलिया टिमका रूपमा रहेका छन्।

यस्तै  बंगलादेश र श्रीलंका पनि राम्रो स्तरका टिम रहेका छन्। ‘ नेपाल कस्तो समूहमा पर्छ भन्नेले पनि पदकको विषयमा यकिन गर्न सकिन्छ’, उनले भने, ‘तयारी र प्रशिक्षणसँगै आफ्नो समूहमा आफू सरहका टिम परेको खण्डमा हामीले कम्तीमा कास्य पदक जित्नेछौँ। ’ 

नेपाली टिमले स्वयम्भूको चमती र सातदोबाटोमा एक महिना र लैनचौरस्थित टेबलटेनिसको हलमा एक महिना बन्द प्रशिक्षणमा रहेर तयारी गरेका छन्। 
हाल नेपाली टिममा फिटनेस छ र्। एकजनाले सात जनासँग जुध्ने खेल हो। सामान्य इन्जुरी त भइहाल्छ। थेरापिष्ट आइरहेकाले हामीलाई खासै समस्या छैन।  प्रमुख प्रशिक्षक राइले भनिन्, हरियाणामा पनि थेरापिष्टको व्यवस्था गर्ने संघको तयारी छ।  

टिममा १९ वर्ष देखि ३२ वर्षसम्मका खेलाडी रहेका छन्। ३–४ वटा साग खेलेको अनुभव भएका खेलाडी पनि टिममा छन्। 

१३ औँ सागमा रजत पदक जित्ने नेपाली सेनाकी मेनुका कुमारी राजवंशी र अनुजा कुलुङ राई, शसस्त्र प्रहरी एपिएफकी जयन्ती बडु र रबीना चौधरी , नेपाल प्रहरीकी मानमती विष्ट पनि यो टोलीमा छन्। 


चारवर्षे छोरालाई छोडेर प्रशिक्षणमा निस्किएकी नितु गुरुङ हुन् या सागकी रजतधारी बडू र विष्ट तथा कप्तान मेनुका राजवंशीसहित सबै टिमकै ध्यान जसरी पनि पदक ल्याउनेमै छ। ‘भारत र इरानलाई जित्न कठिन छ। तर पनि हामी सक्दो प्रयास गर्नेछौँ, खेल आफ्नो पक्षमा पार्न’, विष्टले भनिन् ‘हामी देशका लागि लड्नेछौँ, अन्तिम अवस्थासम्म।’ 

कप्तान राजवंशी पनि टिम गेम भएकाले टिम स्पिरिट अनुसार सक्दो राम्रो खेल पस्किने संकल्प गर्छिन्। ‘यो खेलको विकास र प्रवर्धन गर्नका लागि हामीले एशियाडमा ल्याउने नतिजाले अहं भूमिका खेल्छ’, उनले भनिन्, ‘हामी पदककै लागि लड्नेछौँ।’

नेपाली खेलाडी

मेनुका कुमारी राजवंशी (कप्तान), मानमति विष्ट, अनुजा कुलुङ राई, नीतु गुरुङ, रविना चौधरी, सुनिता थापा, सिर्जनाकुमारी थारु, जयन्ती बडू, अर्पणा चौधरी, गंगा घिमिरे, ईशा राई र कलावती पन्त।

 पार्वती राई ( मुख्य प्रशिक्षक), प्रशिक्षकमा विष्णुदत्त भट्ट (प्रशिक्षक) , कृष्णदेवी पन्त (व्यवस्थापक)।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.