|
तस्विर : कमल प्रसाइको फेसबुक

काठमाडौं : भक्तपुरको बालसुधार गृहबाट  भागेका २ सय २१ नाबालक कैदीमध्ये १ सय ७० जना पक्राउ परेका छन्। 

सोमबार दिउँसो डिउटीमा खटिएका सुरक्षाकर्मीहरुलाई कुटपिट गरी भागेकामध्ये १ सय ७० जना पुनः पक्राउ परिसकेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक कुमोध ढुंगेलका अनुसार भागेकामध्ये काठमाडौंबाट ८७ र भक्तपुरबाट ८३ जनालाई नियन्त्रणमा लिइएको हो।

अझै ५१ जना नाबालक कैदी फरार रहेका ढुंगेलले थाहाखबरलाई जानकारी दिए । मध्यपुर थिमी नगरपालिका सानोठिमीस्थित बालसुधार गृहबाट उनीहरू भागेपछि काठमाडौं उपत्यकाभर प्रहरी परिचालन गरिएको छ भने नाकाहरूमा उच्च सतर्कता अपनाइएको छ ।

सुधार गृहमा रहेका ४६ बालिकासहित ७६ जना भने भागेका थिएनन् । विभिन्न अपराधमा संलग्न १८ वर्षमुनिका बालबालिकालाई सुधारगृहमा राखिएको थियो ।

बलात्कारको आरोपमा सुधार गृहको थुनामा रहेका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको रहस्यमय ढङ्गले मृत्यु भएको भन्दै उनका आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गरी तोडफोड गरेपछि हिजो दिनभर तनाव ग्रस्त भएको थियो ।

त्यसैको प्रभावका कारण उनीहरू भागेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.