|
कुटपिटबाट घाइते पत्रकार राकेश यादव।

रौतहट : रौतहटको वृन्दावनमा रहेको एउटा क्रसरका सञ्चालकले पत्रकारलाई कुटपिट गरेका छन्। पत्रकार राकेश यादवमाथि कुटपिट भएपछि इलाका प्रहरी कार्यालय गरुडाले ३ जनालाई घटनास्थलबाटै पक्राउ गरेको छ।

वृन्दावन नगरपालिका वडा नं १ मा रहेको शिवम क्रसर उद्योगको विषयमा समाचार संकलनका लागि गएका हिमालय टेलिभिजनका रौतहट प्रतिनिधि यादवमाथि क्रसरका कर्मचारीले हातपात गर्नुका साथै क्यामेरासमेत तोडफोड गरिदिएका छन्।

पत्रकार यादवमाथि हातपात गर्ने क्रसरका कर्मचारी महोत्तरीको बर्दिबास नगरपालिका घर भएका राजदेव ठाकुर, सर्लाहीको बरहथवा नगरपालिका बस्ने मशेस चौधरी र रौतहटको वृन्दावन नगरपालिका वडा नं ४ हरैयाका राधेश्याम ठाकुरलाई पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी डिएसपी ओमप्रकाश खनालले बताए।

सो स्थानमा अवैध रुपमा सञ्चालित शिवम क्रसरका कर्मचारीमाथि कडा कारवाही हुनुपर्ने माग नेपाल पत्रकार महासंघ रौतहटले गरेको छ।

महासंघको रौतहट शाखाका सचिव मदन ठाकुरको हस्ताक्षरमा एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारबाही र पत्रकार यादवलाई न्याय दिन सबै सरोकारवालासँग माग गरेका हुन्। यता पक्राउ परेका तीनैजना उपर अभद्र व्यवहारका किटानी जाहेरी दर्ता भएको पत्रकार यादवले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.