हाङझाउलाई सागमा पदक जित्ने अभ्यासस्थल बनाउने

|

ललितपुर : १९ औँ एशियाली खेलकुद प्रतियोगितामा नेपालले स्क्वासतर्फ ३ इभेन्ट्समा प्रतिस्पर्धा गर्दैछ। नेपालले स्क्वासमा ३ इभेन्ट्सबाट ५ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने नेपाल स्क्वास एण्ड र्‍याकेट्स संघ  (एनएसआरए) ले जनाएको छ। 

आगामी असोज ६ गतेदेखि २१ गतेसम्म चीनको हाङझाउमा हुने एशियाली खेलकुदमा नेपालले भाग लिने २९ खेलमध्येको एक खेल स्क्वास हो। 

प्रशिक्षक हिरा थापामगरका अनुसार पुरुष र महिलाका छुट्टाछुट्टै एकल इभेन्ट्स, पुरुष र महिलाका छुट्टाछुट्टै टिम्स इभेन्ट्स र एउटा मिक्स डबल्समा नेपालले प्रतिस्पर्धा गर्नेछ। 

हाङझाउ एशियाडको स्क्वासमा समावेश सबै इभेन्ट्समा नेपाल सहभागी हुन लागेको हो। पुरुष एकलमा नेपालका नम्बर १ खेलाडी अरहान्त केशर सिंह, दोस्रो वरीयताका अमृत थापा मगर र तेस्रो वरीयताका अमर ब्लोनले प्रतिस्पर्धा गर्दै छन्। 

यसैगरी महिला एकलमा नेपालको शीर्ष वरीयताकी विपना ब्लोन, दोस्रो वरीयताकी कृष्णा थापा र तेस्रो वरीयताकी स्वस्थानी श्रेष्ठले खेल्दै छन्।

टिम्स इभेन्ट्सको पुरुषतर्फ अरहान्त, अमृत र अमरले खेल्दा महिला टिम्स इभेन्ट्समा विपना, कृष्णा र स्वस्थानीले प्रतिस्पर्धा गर्ने छन्। त्यसैगरी मिक्स डबल्समा स्वस्थानी र अमिरले प्रतिस्पर्धा गर्ने छन्। 

एशियाडमा प्रतिस्पर्धा गर्ने अमृतबाहेक अरु सबैले एनएसआरको सातदोबाटोस्थिति स्क्वास हलको सेन्टर कोर्टमा प्रशिक्षण गरिरहेका छन्। संघका सदस्य राजेन्द्र शाक्यका अनुसार अमृत आफ्नै लगानीमा इटली गएर प्रशिक्षण गरिरहेका छन्। 

प्रशिक्षक हिरा थापा मगरले विहान १० बजेदेखि १२ बजेसम्म र दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म गरेर २ सिफ्टमा गरेर प्रशिक्षण दिइरहेका छन्।

‘दिनहुँ प्रशिक्षण भइरहेको छ, हामीले आफ्नो तर्फबाट राम्रो दिने प्रयास गरिरहेका छौँ,’ उनले भने‚ ‘बुधबार एक दिन भने विहानमात्रै ट्रेनिङ हुन्छ।’ 

उनका अनुसार खेलाडीहरुको स्तर उकास्नका लागि केही दिनमा बेलायतबाट लेभर टू का प्रशिक्षक आएर प्रशिक्षण दिने तयारी छ। 

महिला शीर्ष वरीयताकी विपना अहिलेको ट्रेनिङ राम्रो रहेको प्रतिक्रिया दिन्छिन्। स्वस्थानी पनि एशियाडका लागि आफूले सक्दो मेहनत गरिरहेको बताउँछिन्।

‘सातदोबाटोमा हामी क्लोज क्याम्पमा बसेर विहान र साँझ जुन प्रशिक्षण लिइरहेका छौँ, त्यो अत्यन्त सराहनीय छ‚’ उनले भनिन्। नेपाली टिमको म्यानेजरका रुपमा किशोर महर्जन रहेका छन्। 

हाङझागमा पदक होइन राम्रो खेल्ने प्रतिबद्धता 

१९ औँ एशियाडमा स्क्वासबाट सहभागी सबै ६ जना खेलाडीले आफूहरु पदकका लागि भन्दा पनि राम्रो प्रदर्शन गरेर खेलस्तर उकास्न त्यसतर्फ जान लागेको बताएका छन्।

खेलाडीमात्र नभएर प्रशिक्षकले पनि दक्षिण एशियाली खेलकुदमा सजिलै पदक जित्न सकियोस् भन्नका लागि एशियाली खेलकुद महत्वपूर्ण माध्यम हुने बताए। 

नेपालका शीर्ष वरीयताका अरहान्तले चीनमा सकेको राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘‘हामी र हाम्रो टिमभन्दा त्यहाँ सहभागी हुने अन्य देश धेरै शक्तिशाली छन्,’ उनले भने, ‘त्यही पनि एउटा न एउटा म्याच जित्नका लागि भरमग्दुर प्रयास गर्नेछु। मेरो उद्देश्य एशियाडमा पदक जित्न नसके पनि दक्षिण एशियाली खेलकुदमा पदक जितेर देशको झण्डा फरफराउने चाहना छ।’

प्रशिक्षक हिरा पनि हङकङ, मलेसिया, पाकिस्तान, कतारजस्ता टिम एशियाडमा खेल्ने भएकाले पदकको संभावना कुनै ‘मिराकल’ भएमात्र हुने स्पष्ट पार्छन्।

‘हाम्रा खेलाडीले आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने हो,’ उनले भने‚ ‘पदक जित्ने संभावना त्यत्ति देखिन्न तर यो गेम हाम्रा लागि साग खेलकुदमा पदक सजिलै ल्याउने अभ्यास खेल बन्न सकोस्।’ 

मिक्स र एकलमा नसके पनि टिम्स इभेन्ट्समा भने एक दुईवटा म्याच नेपालले जित्न पनि सक्ने उनी बताउँछन्। बलिया टिमको साटो सुरुमा हामीभन्दा केही कमजोर या बराबरकै टिम आए पनि हामीले जित्न सक्छौं,’ उनले भने। 

महिला खेलाडीहरु विपना, कृष्णा र स्वस्थानीको पनि एशियाडका विषयमा एउटै स्वर छ। उनीहरुले चीनमा हुने एशियाडमा राम्रो प्रदर्शन गर्ने बताएका छन्। विपना हारजित जे भए पनि राम्रो खेल पस्कनुपर्ने बताउँछिन्।

महिला खेलाडी कृष्णाले बलिया प्रतिद्वन्द्वीसँगको प्रतिस्पर्धाले खेलको स्तर माथि उकास्ने बताइन्। विश्वका शीर्ष २० खेलाडी नै एशियाका छन्।

पहिलो पटक एशियाली खेलकुद खेल्दै गरेकी स्वस्थानीको चाहना सकेसम्म खेल जितौँ नै भन्ने छ।  ‘तयारी राम्रै छ, एउटा गेम जितौं कि भन्ने छ,’ स्वस्थानीले भनिन्, ’हामी हाम्रोभन्दा माथिल्लो स्तरका खेलाडीसँग विदेशमा गएर अभ्यास म्याच खेलेर हुन्छ या उनीहरुलाई यहीँ बोलाएर खेल्न सकिन्थ्यो।’

एशियाली खेलकुदमा नेपाली स्क्वासको इतिहास 

अहिलेसम्म स्क्वासतर्फ नेपालले एउटा एशियाडमा मात्र भाग लिएको छ। अब दोस्रो पटक हाङझाउमा हुने १९ औँ एशियाडमा पुरुष र महिला दुवै टोली सहभागी हुँदै छन्।

यसअघि सन् २०१८ को १८ औँ एशियाली खेलकुदमा नेपालले स्क्वासको पुरुष ओपन र टिम इभेन्ट्समा प्रतिस्पर्धा गरेको थियो। महिलाको टिम त्यतिबेला सहभागी थिएन। नेपालको यो खेलमा कुनै राम्रो प्रदर्शन रहेन।

सहभागितामै सीमित रहेको स्क्वासमा नेपालका तर्फबाट अरहान्त केशर सिंह, अमृत थापा मगर, राजेन्द्र शाक्य र ज्ञानु चौधरीले प्रतिस्पर्धा गरेका थिए। प्रशिक्षकका रुपमा हिरा थापा र म्यानेजरमा सुरेश गुरुङ रहेका थिए। 

पुरुष एकल

इण्डोनेसियाको जकार्ता र पालेम्बाङमा भएको सो एशियाडमा पुरुष ओपनमा अरहान्त र अमृत भिडेका थिए। 

नेपाली नम्बर १ खेलाडी अरहान्त पाकिस्तानी खेलाडी तैयब अस्लमसँग पराजित भए। उनै पाकिस्तानी खेलाडी तैयबले पछि १३औं दक्षिण एशियाली खेलकुदमा स्वर्ण जितेका थिए। 

सो एशियाडमा अमृत हङकङका खेलाडी म्याक्स लीसँग हार्न पुगे। म्याक्स विश्व वरीयतामा उत्कृष्ट १५ भित्रका खेलाडी थिए। 

टिम इभेन्ट्स 

टिम इभेन्ट्समा नेपालसहित जम्मा ६ देशले प्रतिस्पर्धा गरेका थिए। राउण्ड रोविनका आधारमा खेलाइएको सबै ५ वटै खेलमा नेपाल पराजित भयो। नेपाल दक्षिण कोरिया, जापान, हङकङ, फिलिपिन्स र पाकिस्तानसँग हारेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.